प्रहरीले जति खोजे पनि किन पक्राउ पर्दैनन् बम्जन ? | Khabarhub Khabarhub

प्रहरीले जति खोजे पनि किन पक्राउ पर्दैनन् बम्जन ?

आखिर कहाँ लुकेका छन् ?



काठमाडौं– आफूलाई शान्तिका संवाहक, तपस्वी र लिटिल बुद्ध दाबी गर्दै आएका रामबहादुर बम्जनमाथि आपराधिक गतिविधिमा संलग्न भएको आरोप छ ।

मानिस बन्धक बनाएको, बलात्कार गरेको र हत्या गरेर बेपत्ता बनाएको जस्ता आरोप आरोप उनीमाथि छन् ।

आफूलाई ‘बोधीमार्ग दर्शनमैत्री धर्म’ का प्रवर्तक भन्ने बम्जन अहिले नेपाल प्रहरीको खोजी सूचीमा छन् । उनलाई पक्राउ गर्न प्रहरी पछिल्लो ६ महिनादेखि निरन्तर लागिपरेको छ । तीनपटक त उनको आश्रममा छापा नै मारिसक्यो तर पक्राउ परेका छैनन् ।

यही असार ४ गते पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) कार्यदलको टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले गोलीगठ्ठा, तालिमप्राप्त कुकुर र अत्याधुनिक मेसिनसहित बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मारेको थियो ।

सीआईबीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार, बम्जन सिन्धुलीस्थित आश्रममै छन् भन्ने सूचना र प्रमाण पाएकोले प्रहरी टोली उनलाई खोज्दै आश्रम पुगेको थियो । तर, उनी फेला परेनन् । यसअघि २०७६ माघ २४ गते पनि सीआईबी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले आश्रममा छापा मारेको थियो ।

त्यसअघि गत पुसमा पनि प्रहरीले बम्जनलाई पक्राउ गर्ने प्रयास गरेको थियो ।

आखिर कहाँ छन् बम्जन ?

बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–९, पहिरेमा पर्ने घना जङ्गलस्थित आफ्नै आश्रममा छन् भन्ने सूचना पाएर यही असार ४ गते प्रहरीले त्यहाँ छापा मारेको थियो ।

उनलाई फेला पार्न नसकेपछि बम्जननिकटका केही अनुयायीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्‍यो ।

सीआईबी प्रमुख थापा भन्छन्, ‘अनुयायीलाई सोधपुछ गर्दा उनीहरूले बम्जन पाताले ध्यान (जमिनमुनि गर्ने ध्यान) मा गएको भने । कुनै अज्ञात स्थलमा जमिनमुनि ध्यानमा रहेको र अझै दुई वर्ष ध्यानमै रहने उनीहरूको जवाफ थियो ।’

प्रहरीले यस्तो भनाइमा विश्वास गरेको छैन । डीआईजी थापाका अनुसार अनुसन्धानमा बम्जनले पटकपटक मोबाइल फोन प्रयोग गर्ने गरेको पाइएको छ । ध्यानमा रहेको व्यक्तिले मोबाइल फोन प्रयोग गर्दैन ।

प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार उनी आश्रम आसपासमै कुनै सुरक्षित स्थानमा लुकेर बसेका हुनसक्छन् । यही आधारमा प्रहरीले खोजी जारी राखेको छ ।

बम्जनको आश्रममा छापा मार्न गएको प्रहरी टोली

बलात्कार र हत्याको आरोप

प्रहरीका अनुसार बम्जनमाथि बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । सीआईबी प्रमुख डीआईजी थापाका अनुसार प्रहरीले विशेष सुरक्षा दिएर गोप्य स्थानमा राखेकी ती बालिका केही दिनअघिमात्र १८ वर्ष पूरा भएकी छन् । उनले नेपालको कानूनअनुसार आफैँले घटनाको विषयमा जाहेरी दिएपछि सीआईबीका अधिकारीले अनुसन्धान गरिरहेका छन् ।

मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गर्नसक्ने प्रावधान छ ।

सोही प्रावधानअनुसार २०७६ माघ २३ गते जबर्जस्ती करणीको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको हो तर बम्जन पक्राउ परेका छैनन् ।

कानूनी प्रावधानअनुसार पीडित १८ वर्ष पूरा भएको एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नु पर्ने भएकाले अहिले बम्जनलाई फरार अभियुक्त मानेर १४ वर्ष कैद मागदाबीसहित मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले यही असार १८ गते जिल्ला अदालत सर्लाहीमा जबरजस्तीकरणी मुद्दा दायर गरेको हो ।

यसअघि बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीका अनुसार बम्जनमाथि हत्या र व्यक्ति बेपत्ता पारेको आरोप पनि छ ।

सीआईबी प्रमुख डीआईजी थापाका अनुसार बम्जनमाथि आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी चिनीमाया तामाङ र मकवानपुरकी फूलमाया रूम्बालाई आश्रमबाट बेपत्ता पारेको आरोप छ ।

बम्जनको सुत्ने कोठा ।

बम्जनको आश्रमबाट २०६९ देखि २०७२ बीचमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोकस्थित आश्रमबाट फूलमाया रुम्बा हराएको भन्दै खोजिदिन उनका भाइ विजय रुम्बाले निवेदन दिएका छन् ।

विजयले दिएको निवेदनअनुसार फूलमाया २०७१ माघदेखि बेपत्ता छिन् । फूलमायाबारे जिल्ला प्रहरी कार्यालय नुवाकोट पनि निवेदन परेको छ ।

नुवाकोटकै मेघान गाउँपालिकाकी चिनीमायाँ तामाङ पनि २०६९ सालमा घर आएकी थिइन् । आश्रम जान्छु भनेर हिँडेकी चिनीमाया पनि बेपत्ता छिन् । चुन्मा भनेर बोलाइने फूलमाया र कर्मा भनेर बोलाइने चिनीमाया बम्जनको आश्रमका आनी थिए ।

नुवाकोट प्रहरीमा दिदी गङ्गामायाले बहिनी खोजिदिन निवेदन दिएकी हुन् । यी दुईसँगै मकवानपुरका सञ्चलाल वाइबा र बाराका सुरेश आलेमगर पनि बम्जनकै आश्रमबाट हराएको भन्दै खोजीदिन प्रहरीमा निवेदन परेको छ ।

बम्जनले ‘धर्मसंघ बम्जन’ नाममा बाराको तत्कालीन रतनपुरी गाविसबाट जन्मदर्ताको प्रमाणपत्र बनाएका छन् । रामलाल बम्जनको नाममा २०५२ वैशाख ८ गते नै घर परिवारले जन्मदर्ताको प्रमाणपत्र बनाइदिए पनि २०६९ वैशाख १३ गते रतनपुरी गाविस कार्यालयबाट किर्ते जन्तदर्ता बनाएका थिए ।

प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार यसबाहेक पनि विदेशी युवतीलाई बन्धक बनाएको, विभिन्न व्यक्तिलाई दुव्र्यवहार गरेको, वनको जग्गा कब्जा गरेको, वन फडानी गरेको लगायतका आरोप बम्जनमाथि छन् ।

सीआईबी प्रमुख डीआईजी थापा भन्छन्, ‘हाम्रो हिसाबमा अहिले बम्जन फरार अभियुक्त हुन् । उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा छ । हामी उनलाई खोजिरहेका छौँ । अरू अभियोगहरू आए भने ती पनि अनुसन्धानको दायरामा आउँछन् ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र विशेष ब्यूरोसम्मको कमाण्ड सम्हालिसकेका पूर्वडीआईजी हेमन्त मल्लको विचारमा गुरु भनेर विश्वास गर्दै नजिकिँदा समस्या सिर्जना हुने गरेको छ ।

उनी भन्छन्, ‘धर्मगुरु भनेपछि व्यक्तिले पत्याउने र समस्याहरू समाधान हुन्छ भन्ने विश्वास हुन्छ । त्यहीअनुसार नजिकिँदै जाँदा समस्या बढेको छ । धार्मिक गुरुहरूप्रति विश्वास र अन्धविश्वासका कारण समस्या उत्पन्न भएको हो ।’

को हुन् बम्जन ?

प्राप्त प्रमाणहरू अनुसार रामबहादुर बम्जनको जन्म २०४६ सालमा बाराको तत्कालीन रतनपुरी गाविस–५, बुङजोरमा भएको हो । उनका मातापिता किसान हुन् । पाँच दाजुभाइमध्ये बम्जन साहिँला हुन् ।

बम्जनले २०६२ जेठ २ मा सुरु गरेको र निराहार भनिएको तपस्या ६ वर्षपछि २०६८ जेठ २ मा सकिएको भनेपछि उनी चर्चामा आएका थिए । बाराको जङ्गलमा तपस्या गर्दै गरेको सार्वजनिक भएपछि ‘लिटिल बुद्ध’ उपमासहित समाचारहरू आएका थिए ।

उनी ध्यान गर्नुअघि भारतका विभिन्न बौद्ध धार्मिकस्थल गएको भनिएको थियो । तर, उनी पोखराको एउटा चामल मिलमा काम गर्दा घाइते भएपछि घरमै बसेको तथ्य बाहिर आएको थियो । त्यति वेलादेखि नै उनको गतिविधि शंकास्पद मानिएको थियो ।

त्यसपछि, ७ वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाएर कुटपिट गरेको घटनाले उनी अर्को विवादमा तानिए । बम्जन कुनै विवाद सुरु भएपछि नयाँ गन्तव्यमा जाने र जङ्गल क्षेत्रमा आश्रम बनाएर बस्ने गरेका छन् । अहिले पनि उनमा असाधारण शक्ति प्रकट भएको उनका आफन्त तथा अनुयायीहरू बताउने गर्छन् ।

बम्जनको आश्रम

कहाँ–कहाँ छन् बम्जनका आश्रम ?

बम्जनले बाराको हलखोरिया वनबाट तपस्या सुरु गरेका थिए । पछिल्लो समय उनी मुलुकका विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो बासस्थान बनाउन सफल भएका छन् ।

सीआईबीका प्रमुख डीआईजी थापाका अनुसार, अहिले बाराबाहेक सिन्धुपाल्चोक, सर्लाही, लमजुङ, नुवाकोट र मकवानपुरमा बम्जनका आश्रम छन् ।

२०६९ साल असारसम्म हलखोरियाको ९ सय हेक्टर वनक्षेत्र ६ वर्षदेखि बम्जनकै कब्जामा थियो । बम्जनले निषेधित भनेको वन क्षेत्रभित्र स्थानीयबासी प्रवेश गरेको भन्दै पटकपटक कुटपिट गरेको भन्दै बम्जनविरुद्ध प्रहरीमा उजुरी पनि परेको थियो ।

उनले हलखोरिया वनक्षेत्रभित्र इजाजतविनै हरिया रुख ढालेर बाटोसहित एक दर्जन घरटहरा बनाएका थिए । आधुनिक पक्की भवन पनि बनाएका थिए ।

वन फडानी गरेको, जमिन कब्जा गरेको, स्थानीयबासिन्दालाई कुटपिट गरेको लगायत आरोप लागेपछि उनलाई स्थानीय प्रशासनले हलखोरियाबाट हटाएको थियो ।

यता सिन्धुलीको कमलामाई नगरपालिका–९, पहिरेमा पर्ने घना जंगलबीचमा करिब ४० बिघा जमिन ‘बोधीमार्ग दर्शनमैत्रि धर्म’ का नाममा ओगटिएको छ । यसमध्ये करिब २८ बिघा ‘रामबहादुर बम्जन आश्रम’ को स्वामित्वमा छ ।

त्यहाँ आफ्नो स्वामित्वभन्दा बारि चनदेवी र दक्षिणकाली सामुदायिक वनको जमिन ओटगेर भव्य संरचना निर्माण भएका छन् । बोधीमार्ग धर्मका अनुयायीहरू त्यहीँ प्रशिक्षण लिन्छन् ।

अहिले बम्जन कुन आश्रममा बस्छन् भन्ने जानकारी छैन । ‘अहिले उनका सबै आश्रम र सम्भावित स्थानहरूमा अनुसन्धान गरिरहेका छौँ । उनी बस्न सक्ने स्थानमा निगरानी बढाएका छौँ,’ डीआईजी थापा भन्छन्, ‘अनुसन्धानका लागि प्रहरीले आवश्यकताअनुसार विपद व्यवस्थापनमा प्रयोग गरिने कुकुरसमेत परिचालन गरेको छ ।’

विपत व्यवस्थापनमा प्रयोग हुने कुकुरले आश्रमभित्र कसैको हत्यापछि शव पुरिएको छ भने पत्ता लगाउन सहयोग गर्छ ।

शान्तिका दूत भगवान गौतम बुद्धभन्दा पनि आफूलाई शक्तिशाली, तेजस्वी, ज्ञानी र अहिंसावादी दाबी गर्ने तपस्वी भनिएका रामबहादुर बम्जनका धेरै कर्तुतहरू बाहिर आइसकेका पनि प्रहरीले उनलाई समाउन सकेको छैन ।

तस्वीर स्रोत : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल प्रहरी

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १२ : ५२ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।