काठमाडौं–टोखाका कृष्ण श्रेष्ठलाई चाकु बनाउन भ्याइनभ्याइ छ । यतिबेला उनको कारखानामा कामदारहरु पनि निकै व्यस्त छन् । चाकु उनको पुर्खौली पेशा पनि हो । त्यसलाई निरन्तरता दिन पाएकोमा उनी एकदमै खुसी छन् ।
‘यो हाम्रो पुर्खौली पेशा हो’ बाल्यकालदेखि नै चाँकु बनाउँदै आइरहेका कृष्ण भन्छन्, ‘टोखामै जन्मिएर हुर्किएँ, बुबा–हजुरबुबाले गरेको पेशालाई निरन्तरता मात्र दिएको होइन, चाकुबाट नै परिवारलाई पालिरहेको छु ।’
बाल्यकालदेखि नै चाकु उत्पादन गरिरहेका कृष्णको उद्योग टोखा नगरपालिका ३ मा छ । करिब डेढ रोपनी जग्गामा उनले उद्योग सञ्चालन गरिरहेका छन् । उनको उद्योगको नाम हो–‘श्री कृष्ण चाकु प्रोडक्सन प्राली ।’
माघेसंक्रान्ती आउन तीन दिन मात्रै छ । विशेषगरी यसदिन सख्खर बाट बनेका विभिन्न परिकारका खानेकुरा खाने हुँदा पनि उनी कारखानामा उत्पादन भएका चाकु बाहिर पठाउन आतुर छन् ।
देशभित्र मात्र होइन विदेशमा समेत पुर्याउनु छ । त्यसकारण पनि कृष्ण बिहान सबेरै उठछन् र गाडी निकालेर अर्डर आएका स्थानमा चाकु पुर्याउन दौडिन्छन् ।
बिहीवार पनि उनी चाकु लिएर भक्तपुरसम्म पुगे । भक्तपुर पनि चाकुका लागि प्रख्यात नै मानिन्छ । यहाँका विभिन्न स्थानमा चँकु उत्पादन गरिन्छ । तर, वर्षौदेखि कृष्णले उत्पादन गरेकै चाकु खानेहरु छन् । जसले कृष्णलाई थप राहत मिल्ने गर्छ ।
‘टोखामा बनाएको चाकु भनेसि चर्चित नै छ त्यसमाथि पुर्खौदेखि बजारमा राम्रो छाप भएकाले पनि ग्राहकले राम्रो सुझाव पनि दिन्छन्’ भक्तपुरसम्म चाकु पुर्याएर फर्किएका कृष्णले भने, ‘भर्खरै मात्र भक्तपुरमा चाकु पुर्याएर आएको ।’
उनको कारखानामा २० जना कामदार छन् । कोही सख्खरलाई पकाउँदै छन् त कोही तिलको लड्डु बनाउँदै । भित्र बनाउँदै गरेका परिकारले निकै परसम्म मिठो वास्ना छरिरहेको थियो ।
एक सिजनमा ३ लाख किलो चाकु उत्पादन
पहिले दैनिक ५ सय किलो उत्पादन गर्ने गरेको चाकु विस्तारै बढ्दै गइरहेको उनको अनुभव छ । अहिले उनी दैनिक ८ सय किलोसम्म उत्पादन गर्ने गरेका छन् ।
कृष्णकाअनुसार उनको कारखानामा एक सिजनमा ३ लाख किलो चाकु उत्पादन हुन्छ ।
‘एक सिजनमा हामीले ३ लाख किलो उत्पादन गर्छौं’ उनले भने, ‘कामदारलाई दैनिकजसो तलव दिएर पनि ३ लाख फाइदा हुन्छ ।’
कृष्णले कारखानामा चाकु बनाउनका लागि सख्खरलाई कपिलवस्तु, कृष्णनगर, तुलसीनगरबाट मगाउँछन् ।
अर्डरसँगै काम गर्ने हुँदा प्रोडक्सन भएका सादा चाकु प्रतिकेजी १ सय १० रुपैयाँमा बेच्ने गरेका छन् ।
कृष्णको दिमागमा ती दिनहरु अझैपनि ताजै छन् जति बेला उनी २ सय ५० ग्राम सादा चाकु १० रुपैयाँमा बेच्थे । ‘करिब ८ वर्षसम्म १० रुपैयाँमै रह्यो’ उनले भने, मासु र चाकुको मुल्य बराबर हुन्थ्यो पहिले ।’
उनकाअनुसार अहिले बढी माग भनेको खुँवा चाकुको हो । त्यससँगै तील बाट बनेका लड्डुको माग पनि उत्तिकै रहेको उनी बताउँछन् ।
तीन प्रकारका चाकु : यसरी बनाउन सकिन्छ
आफ्ना कारखानामा उत्पादन हुने चाकुबारे कृष्ण यसरी बयान गर्छन्,–‘हामीकहाँ सादा, स्पेसल र खुँवा गरी तीन थरीका चाकु पाइन्छ र ती यसरी बनाउन सकिन्छ ।’
चाकु बनाउन विशेषगरी तीन चरणमा काम गर्नुपर्छ । पहिलो चरणमा ३० किलोको फोसीमा (तामाको भाडा) ५० किलो सख्खर र आधा माना पानी हालेर डेढ घण्टा पकाउने ।
दोस्रो चरणमा डेढ घण्टापछि पाकेको छ कि छैन परीक्षण गर्ने र निकालेर (माटाको भाडा) अथः मा राख्ने ।
त्यससँगै सख्खरलाई चिस्याउनका लागि प्लाष्टिकका बोरामा राखेर १० मिनेटसम्म सुकाउने । त्यससँगै फिट्ने पक्रियामा जान्छ । आफुलाई चाहिने जति रङ निकाल्ने ।
भिडियो:
तेस्रो चरणमा आफुलाई उपयुक्त हुने तौलको प्याकिङ गर्ने र साढे तीन घण्टा सुकाउने । यसरी चाकु तयार गर्न सकिन्छ भने तेस्रो चरणपछि चाकुलाई बजारमा पठाउने गरिन्छ ।
यसरी तयार पारिएको चाकु सादा हुन्छ भने त्यसलाई नै स्पेशल र खुँवा चाँकु बनाउन पनि सकिन्छ ।
‘बदाम, नरिवल, गुल्कोज लगायत १२ थरी मरमसला राखेर स्पेशल चाकु बनाइन्छ’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘त्यस्तै खुँवाका लागि ५ केजी सख्खर बराबर खुँवा साढे २ केजी, बदाम, नरिवल लगायतका मसला हालेर १५ मिनेटमै तयार हुन्छ ।’
यसरी बनाइएका चाकु देशका विभिन्न जिल्लामा पुगेका छन् । ‘उपत्यकाभित्र र बाहिरका विभिन्न जिल्लाहरु चितवन, नारायणघाट, पोखरालगायत देशभरि नै कृष्ण प्रोडक्सनका चाकु पुग्ने गर्छन्’ गर्व गर्दै उनी भन्छन्, नेपालीहरु भएका जुनसुकै देशमा पनि यहाँको चाकु पुग्ने गर्छ ।’
‘आज पनि अस्ट्रेलिमा ५ सय पिस चाकु पठाएको छु’ खुसी हुदै कृष्ण भन्छन्, ‘यसरी विदेशमा समेत पठाउन पाउँदा थप काम गर्ने प्रेरणा मिल्छ ।’
उनको खुसी र चाकुप्रतिको लगावले उनलाई आज चाँकु व्यवसायी भनेर सबैले चिन्ने गरेका छन् । कृष्ण प्रफुल्ल छन् आफुले उत्पादन गरेका परिकार विश्व बजारमा पुर्याउन पाउँदा ।
उनी भन्छन्, ‘नयाँ सोचसहित काम गर्न सके नेपालमा अवसर धेरै छ ।’
१३ वर्षको उमेरबाट चाकु व्यवसायमा
वि.स. २०३६ सालमा टोखास्थित सरस्वती नगरपालिकामा जन्मिए कृष्ण । उनको दिमागमा त्यो बालकपनको याद अझै छ । उनी जब आफुलाई स्मरण गर्न सक्ने भएका थिए त्यति बेला उनका बुबाले घरमै चाकु बनाइरहेका हुन्थे ।
‘दिउँसो विद्यालय जान्थेँ’ स्मरण गर्दै कृष्णले भने, ‘बिहान बेलुका बुबाले बनाएको चाकु हेर्थे प्याकिङ पनि गर्थे त्यति बेला १० वर्षको थिएँ ।’
सानै उमेरमा उनका बुबाले आफ्नो पुर्खौली पेशा चाकु भएको र यसलाई निरन्तरता दिनुपर्छ भन्नेबारे उनलाई पटक–पटक सम्झाउथे ।
१४ वर्षको उमेरमा एसएलसी पास गरेका कृष्ण त्यसपछि घरायसी व्यापारमा भिज्न थाले । अझ हरेक वर्ष आउने माघे सक्रान्तीमा त खाना खान समेत फुर्सद नहुने उनको अनुभव छ ।
‘जब दशैं तिहार सकिन्छ त्यसपछि हाम्रो लागि सिजन शुरु हुन्छ’ कृष्णले भने, ‘३ महिना भ्याइनभ्याइ नै हुन्छ ।’
आफुलाई यही व्यवसायमा व्यस्त हुन रुचाउने कृष्णको जीवनभर चाकु उत्पादन गर्ने सोच छ । भन्छन्, ‘पुर्खादेखि यसमै रमायौं अब म पनि बाचुन्जेल यही काम गर्छु, सन्तुष्ट पनि छु ।’
प्रतिक्रिया