तनहुँ – अविरल वर्षाले सेतीनदीमा बहाव बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सेती नदीमा पानीको बहाव बढेपछि नदी शुक्लागण्डकी नगरपालिका–४ का २८ र शुक्लागण्डकी नगरपालिका–८ का १५ घरपरिवार गरी ४३ घरपरिवारका करिव २०० जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका, स्थानीयवासी सक्रियरुपमा लागेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।
पानी परिरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा लैजानसमेत कठिनाइ भएको छ । उनले भने, ‘हालसम्म कुनै क्षति नभए पनि जोखिम भने उत्तिकै बढ्दै गएको छ ।’
शुक्लागण्डकी ४ र ८ जोड्ने काठेपुलभन्दा पनि काठेपुलदेखि केही दूरी तल रहेको पुल्चोकस्थित पक्की पुललाई खतरा हुने देखिएको शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले जानकारी दिए ।
पछिल्लो विवरणअनुसार शुक्लागण्डकी नगरपालिका–४ का असुरक्षित रहेका बासिन्दालाई मगर समाज गुरुङ समाज र राधाकृष्ण मन्दिर आसपास क्षेत्रमा स्थानन्तरण गरिएको छ ।
त्यसैगरी शुक्लागण्डकी ८ का बासिन्दालाई तिब्बतीय क्याम्पमा स्थानन्तरण गरिएको शुक्लाण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । अहिलेसम्म कुनै पनि मानवीय क्षति नभए पनि बङ्गुर र कुखुरा बगाएको भनिए पनि के कति परिमाणमा बगाएको हो भन्ने तथ्याङ्क नरहेको उनले बताए ।
प्रतिक्रिया