कोभिडको त्रास : अस्पताल डुलाउँदा-डुलाउँदै दुईको मृत्यु « Khabarhub

कोभिडको त्रास : अस्पताल डुलाउँदा-डुलाउँदै दुईको मृत्यु


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ ।

मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई–५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो ।

फुटबल खेल्दा सामान्य घाइते भएका दुवैलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

अस्पतालहरुले पीसीआर परीक्षणबाट कोभिड –१९ नभएको रिपोर्ट ल्याएपछि मात्र उपचार गर्ने भनी एकले अर्कालाई रेफर गरेका कारण अस्पताल डुलाउँदा डुलाउँदै दुवैको मृत्यु भएको थियो ।

सोमबार ज्वरो बढेकाले तामाङलाई उपचारका लागि राति १ बजे बिर्तामोडको कनकाई हस्पिटल पुर्‍याइएको थियो ।

कनकाईले बालकलाई बिएण्डसी हस्पिटल लैजान सिफारिस गरेको थियो । बिएन्डसीले पनि धरान लैजान सिफारिस गरेको थियो ।

बिएण्डसी हस्पिटलले छातीको एक्सरे गरेपछि निमोनिया भएको ठहर गर्दै कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कासहित बिरामीको पीसीआर परीक्षण गर्न र धरान लैजान सिफारिस गरेको थियो । त्यसपछि बालकको उपचार अभावमै बिहान ४ बजेतिर मृत्यु भएको थियो ।

यसैगरी कनकाईका सुनारलाई गएराति उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल लगिएको थियो । बिर्तासिटीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको जनाउँदै अन्यत्र लैजान सिफारिस गरेपछि उनलाई कनकाई हस्पिटल लगिएको थियो ।

कनकाईले मेची अञ्चल अस्पताल लैजान सिफारिस गरेको थियो भने मेची अस्पतालले आइसीयु खाली नभएको जनाई भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल पठाएको थियो । ओमसाईले कोभिड–१९ परीक्षण नभएको जनाई मेचीमै फर्काएको थियो । त्यसपछि मेची अस्पतालमा उनको मृत्यु भयो ।

मेचीनगर–५ का वडाध्यक्ष योगेश थापा मगरले अस्पतालहरुले उपचार नगरी अन्यत्र पठाउने गरेकै कारण बिरामीको मृत्यु हुनु सर्वसाधारणको स्वास्थ्यमाथिको गम्भीर खेलबाड भएको बताए ।

‘कोरोना महामारीको समय छ भन्दैमा अन्य बिरामीको उपचारै नगरी बेवास्ता गर्नु ठीक भएन’, वडाध्यक्ष थापाले भने, ‘उपचार नै नगर्ने हो भने हस्पिटल हुनु र नहुनुको के अर्थ रह्यो ?’

बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले ज्वरो आएका बालकको उपचार गरिएको तर कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएपछि कोभिडको परीक्षण हुने र उपचार हुने अस्पतालमा लैजान सिफारिस गरिएको बताए ।

कोभिडको उपचार र पीसीआर परीक्षण बिएण्डसी हस्पिटलमा नहुने हुँदा शङ्कास्पद बिरामीलाई अन्यत्र पठाउनु बाध्यता भएको उनको भनाइ थियो ।

झापामा मेची अञ्चल अस्पतालमा मात्र कोभिड –१९ को पीसीआर परीक्षण र उपचार हुने गरेको छ । पच्चीस शय्याको आइसोलेशन वार्ड भने सङ्क्रमितले भरिएका छन् । -रासस

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : १२ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा