३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया पर्व « Khabarhub

३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया पर्व


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ ।

विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।

‘जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् । व्रती सोनादेवी भन्छिन्, “जिमुतवाहनको कामनामा धेरै शक्ति छ, यसको नियमपूर्वक पूजा गर्नाले सन्तानको आयु वृद्धि हुनेगरेको विश्वाससहित ३६ घण्टाको व्रत निर्विघ्नतापूर्वक सम्पन्न गरेकी छु ।”

जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।

अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।

साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रती आमाले पूजापाठ गर्दछन ।

नवमी तिथिका दिन व्रतीले स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्यालको व्यवस्था गर्ने र दिवङ्गत महिलालाई नैवेद्य अर्पण गरेर प्रसाद लिई पारण गरी व्रतलाई सम्पन्न गरिने परम्परा रहेको छ । यो व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवताको भएको बुझिन्छ । यसमा जिमुतवाहन नामक लोकदेवताको पूजा गरिन्छ । जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ९ : ४० बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त