आठ वर्ष उठेरै जीवन समाप्त भयो सुन्दरमालाको « Khabarhub

आठ वर्ष उठेरै जीवन समाप्त भयो सुन्दरमालाको


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- अजङ्गको शरीरलाई सधैँ उभिएर थाम्न निकै सकस हुन्छ । त्यसमाथि प्राणीजगत्मा आरामका लागि प्रायः सुत्नु नै पर्छ त्यो पनि भुइँमा लम्पसार परेर । चितवन राष्ट्रिय निकुञ्जको एउटा अजङ्गको ढोईले सुन्दरमाला आठ वर्ष उठेरै बितायो । जब भुइँमा लड्यो, उसले आफ्नै जीवन नै समाप्त गर्‍यो ।

निकुञ्जको सौराहास्थित हात्तीसारमा रहेको सुन्दरमाला नामक हात्ती आठ वर्षदेखि कहिल्यै भूइँमा सुतेन । ऊ आफैँलाई बाँधेको खबारी (खाँबो) को सहारामा आड लगाएर निदाउने गर्थ्यो । भदौ २१ गते जब ऊ भुइँमा लम्पसार पर्‍यो, जीवनको अन्त्य पनि त्यही बेला भयो ।

सो ढोईको नौ वर्षयता रेखदेख गर्दै आएकी फनित मीना महतो सातआठ वर्षअघि एक दिन बसिरहेका बेला जङ्गली हात्ती ‘जिरे’ले हानेदेखि मृत्यु भएको दिनसम्म ऊ नबसेको बताउँछन् । उठ्दाउठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महतोले भन्नुभयो “धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त गर्‍यो ।” मृत्यु हुनु तीन दिनअघिसम्म हात्ती आहाराका लागि जङ्गल जाने गरेको उनले बताए ।

विसं २००२ मा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याइएको हो । महतो भन्छन् “बडामहारानी, राजारानी चढ्ने हात्ती हो रे यो ।” निकै ज्ञानी भएकाले राजपरिवारले मन पराएको भन्ने आफूले सुनेको उनले जानकारी दिए ।

पोथी हात्ती सुन्दरमाला लामो समय निकुञ्ज सुरक्षामा खटिए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठ कुनैकुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउँछन् ।

उनका अनुसार हात्तीको तौल चार हजार किलो हाराहारी हुन्छ । उनले भने, “शरीर कमजोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।” आफू बसेको बेला जङ्गली हात्तीले आक्रमण गरेकाले बस्दा फेरि आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आकलन गरिएको छ ।

निकुञ्जका विभिन्न ठाउँमा ५८ हात्ती छन् । विगतमा पर्यटकलाई घुमाउनसमेत प्रयोग हुने गरेका हात्ती पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारी साधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकाले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावालाई त्यहीँ तालीम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ । शुरुआती दिनमा भने भारतलगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याइएको हो । भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्छ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरी कुची तयार पारेर खुवाइन्छ । उसलाई घाँसे मैदान र जङ्गलमा चराउन पनि लगिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ३ : ३६ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको