एक सातामा १ हजार ७ सयले लिए पुनः श्रम स्वीकृति, कसरी जान्छन् विदेश ? « Khabarhub

एक सातामा १ हजार ७ सयले लिए पुनः श्रम स्वीकृति, कसरी जान्छन् विदेश ?



काठमाडौं– सरकारले गत बिहीबारदेखि वैदशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ ।

यससँगै अहिले वैदेशिक रोजगार विभागको कार्यालयमा रोजगारका लागि विदेश जान पुनः श्रम स्वीकृति लिनेहरुको भीडभाड देखिन थालेको छ ।

अहिले दैनिक ३ सयभन्दा बढीले पुनः श्रम स्वीकृति लिने गरेको वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।

कार्यलयमा स्वास्थ्य प्रोटोकलको मापदण्डअनुसार सेवाग्राहीका लागि लाईन बस्न २/२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको र सोहीअनुसार सबैजनाले दुरी कायम गरी काम भइरहेको उनले खबरहबलाई बताए ।

पुनः श्रम स्वीकृती खुलाएको बिहीबार एक साता पुगेको छ । यद्यपी बिहीबार भने वैदेशिक रोजगार कार्यालय ताहचलमा रोजगार व्यवस्थापन सुचना प्रणालीमा समस्या आएकाले पुनः श्रम स्वीकृतिको काम सुचारु हुन सकेन । तर शुक्रवारबाट नियमित काम भइरहेको बस्नेतले जानकारी दिए ।

बिदामा आएका, भिसा र करार अवधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै शुक्रबारसम्म १ हजार ७ सय ८२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

पुनः श्रम स्वीकृति लिनेहरुमा १ हजार ५ सय ८६ जना पुरुष छन् भने १ सय ९६ जना महिला छन् ।

सबैभन्दा धेरै युएईमा ८ सय ७५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । त्यस्तै जापानका लागि २ सय ७२, कतारका लागि २ सय र मलेसियाका लागि १ सय ६८ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

त्यस्तै बहराइन, ब्रुनाइ, जोर्डन, कुवेत, लेवनान, चीन, माल्दिभ्स, माल्टा, ओमान र पोल्याण्डका लागि पनि केही संख्यामा पुनः श्रम स्वीकृति लिइ आइरहेको बस्नेतले बताए ।

कसरी जान्छन् विदेश ?

सरकारले कोरोना भाइरस रोकथाम गर्न गत फागुन ३० गतेबाट श्रम स्वीकृति अनिश्चितकालीन बन्द गरेको थियो ।

चैत्र ११ गतेबाट मुलुक लकडाउन गरेसँगै करिब साढे ३ महिना लामो बन्दाबन्दीपछि यही असार १८ गतेबाट पुनः श्रम स्वीकृति खुलाएको हो ।

यसबीचमा नेपाल आएका तथा भिषा र करार अवधि बाँकी रहेकाहरुले श्रम स्वीकृति लिइरहेका छन् । त्यसैगरी अन्तराष्ट्रिय उडान आगामी साउन ७ गतेसम्मलाई बन्द गरिएको छ ।

अहिले पुनः श्रम स्वीकृति लिएकाहरु लकडाउनका बीच चार्टर्ड उडानमार्फत गन्तव्य मुलुक जाने गर्दछन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमाल दाहालले भने, ‘नियमित उडान नभएकाले पुनः श्रम स्वीकृति लिएकाहरु चार्टर्ड उडानमार्फत गन्तव्य मुलुक जानेछन् ।’

वैदेशिक रोजगारमा जाने कामदारले रोजगारी वा रोजगारदाताको प्रकृति, गन्तव्य मुलुकको हालको अवस्था, सम्बन्धित मुलुकको सरकारको आप्रवासी कामदार सम्बन्धी नीति, कोभिड १९ को प्रभाव र स्वास्थ्य सम्बन्धी मापदण्ड तथा प्रावधान र सम्बन्धित जोखिम समेतको जानकारी लिनुपर्ने दाहालले बताए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ४० बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र