नक्कली नोटमा सङ्गठित गिरोह, काठमाडौँ बाहिर पनि छापिँदै | Khabarhub Khabarhub

नक्कली नोटमा सङ्गठित गिरोह, काठमाडौँ बाहिर पनि छापिँदै



काठमाडौँ— यही कात्तिकमा प्रहरीले दुई ठाउँबाट नेपाली नक्कली नोटका कारोबारी पक्राउ गर्‍यो ।

– कात्तिक २७ गते सिरहाको गोलबजार नागरपालिका–६ बाट ३ लाख ८४ हजार रुपैयाँ नक्कली नोट छाप्दै गरेको अवस्थामा तीन जना ।

– कात्तिक ७ गते मकवानपुरको राक्सिराङबाट ३ लाख २ हजार रुपैयाँ नक्कली नोटसहित एक जना ।

गोलबजारमा पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय विमलेन्द्रकुमार नायक, गोलबजार नगरपालिको–१२ २५ वर्षीय धीरज यादव र २० वर्षीय सञ्जे राय छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्मा पौडेलका अनुसार विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरू समातिएका हुन् ।

प्रहरीले उनीहरूको डेराबाट तीन थान मोबाइल फोन, एउटा ल्यापटप कम्युटर, एक थान कलर प्रिन्टर र कागज काट्ने चक्कु बरामद गरेको छ ।

डिएसपी पौडेलले दिएको जनाकारी अनुसार ३ लाख रुपैयाँ नक्कली नोट तयारी अवस्थामा र ३ लाख ८४ हजार रुपैयाँ फोटोकपी पेपरमा प्रिन्ट गरेर काट्न बाँकी रहेको अवस्थामा बरामद भएको छ ।

बिहीबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली र सशस्त्र प्रहरीको टोलीले छापा मारेको थियो । उता प्रहरीको टोलीले मकवानपुरको राक्सिराङस्थित एक घरमा मकैको खलियामा लुकाएर राखेको एक हजार रुपैयाँका ३०२ नाथ नक्कली नोट बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङका अनुसार राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा नक्कली नोट भेटिएको हो । एसपी गुरुङले भने, ‘राक्सिराङको हालिजे क्षेत्र गाँजाखेती धेरै हुने ठाउँ हो । गाँजाको कारोबारमा नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेका छौँ ।’

यी दुई घटनाले नक्कली नोटका कारोबारीहरू काठमाडौँ उपत्यकामा मात्रै नभई अन्यत्र पनि छन् भन्ने देखाएको छ । प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार पछिल्लो समय काठमाडौँबाहिर वीरगञ्ज र धनगढीलगायत भारतीय सीमाक्षेत्र आसपासमा कारोबारीहरूले मेसिन राखेर नक्कली नोट छाप्ने काम गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो तीन वर्षका ठूला घटना

– २०७६ पुस २४ गते काठमाडौँमा नक्कली नेपाली नोट बनाउने कारखानामा छापा मारी ४ लाख १३ हजार रुपैयाँ नक्कली नोटसहित ४ जना पक्राउ ।

– २०७६ कात्तिक ४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीबाट १ हजार दरका ३४ थान नक्कली नोट र नोट छाप्ने उपकरणसहित तीन जना पक्राउ ।

– २०७६ कात्तिक ४ गते काठमाडौँको बौद्धबाट ३४ हजार रुपैयाँ नक्कली नोट र नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ ।

– २०७५ माघ २६ गते काठमाडौँको गोंगबुबाट १ लाख ५० हजार रुपैयाँ नक्कली नोट सहित १ जना पक्राउ ।

–२०७५ कात्तिक ४ गते काठमाडौँका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ नक्कली नोटसहित ५ जना पक्राउ ।

– २०७५ असोज २६ गते काठमाडौँको रत्नपार्कबाट १० हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ ।

– २०७५ जेठ २ गते २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ ।

(स्रोत : महानगरीय प्रहरी कार्यालय, रानीपोखरी)

प्रहरी अनुसन्धान अनुसार अहिलेसम्मका घटनाले नक्कली नोटनको कारोबारमा सङ्गठित गिरोहहरू सक्रिय रहेको देखाउँछन् ।

प्रहरी प्रवक्ता कडायत भन्छन्, ‘विशेष गरी महत्वाकांक्षी युवाहरू सङ्गठित भएर नक्कली नोटको कारोबारमा लागेका छन् । केही घटनामा भारतीय नागरिक पनि संलग्नता देखिएका छन् ।’

यसरी हुन्छ कारोबार

जानकारहरूका अनुसार नक्कली नोटको धन्दामा संलग्न व्यक्तिहरूले ससानो परिमाणमा कारोबार गर्ने गरेका छन् ।

रेष्टुरेन्टमा वा कुनै सामान खरीद गर्दा सक्कली नोटहरूको बीचमा मिसाएर नक्कली नोट दिन्छन् ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार नेपालमा भारतीय नक्कली रुपैयाँ बढी भेटिने गरेकोमा अहिले नेपाली नोटको यस्तो कारोबार हुन थालेको छ ।

उनका अनुसार नक्कली नेपाली रुपैयाँको बजार पनि नेपाल नै हो । कारोबारीहरूले भीडभाडमा र धेरै रुपैयाँको किनमेल गर्दा बीचमा नक्कली नोट मिसाएर दिने गरेका छन् ।

नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीका अनुसार काठमाडौँबाट अहिलेसम्म नक्कली नोटसहित पक्राउ परेका घटनाले यसमा सङ्गठितरूपमा गिरोहहरू नै सक्रिय रहेको देखाउँछ ।

यसरी चिन्ने नक्कली र सक्कली नोट

राष्ट्र बैँकका अधिकारीहरूका अनुसार नक्कली र सक्कली नोट छुट्याउन मुख्य गरी वाटरमार्क हेर्नुपर्ने हुन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ फर्काएर हेर्दा अथवा नोटको पछाडिबाट प्रकाश पारेर हेर्दा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ ।

लालीगुराँस आकृतिको वाटरमार्क नोटको कागजमाथिबाट प्रिन्ट नभई कागज बनाउने क्रममा नै राखिएको हुन्छ । सक्कली नोटमा दुवै तर्फबाट हेर्दा वाटरमार्क उत्तिकै स्पष्ट देखिन्छ । नक्कलीमा यसरी देखिँदैन ।

सुरक्षण धागो पनि नोट चिन्ने अर्को तरिका हो । एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्ब क्रमैसँग लहर मिलाएर लेखिएको छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट प्रकाश दिएर नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै राखिने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फ नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । नक्कलीमा यसरी प्रष्ट देखिँदैन ।

नोटको अग्र भागमा लेखिएका शब्दहरू उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ । नक्कली नोटमा कुनै पनि चिह्न यसरी प्रष्ट देखिँदैन ।

कानूनी व्यवस्था

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार खोटा मुद्रा बनाउने काममा संलग्न हुनलेलाई खोटा मुद्राको परिणाम र मूल्यअनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन्छ । सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारबाही अघि बढाउने गरेको छ ।

 

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : १० बजे

नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकाश गरिने 

काठमाडौं– नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकाश गर्ने सरकारले

वातावरणमैत्री लघुवित्त संरचना निर्माण गरिने 

काठमाडौं– सरकारले वातावरणमैत्री लघुवित्त संरचना निर्माण गर्ने बताएको छ ।  

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने

काठमाडौं– सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने

समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था लागू गरिने

काठमाडौं– सरकारले समुद्रमा सञ्चालन हुने पानीजहाजको नेपालमा दर्ता हुने व्यवस्था

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

बाँके– बाँकेमा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ