विप्लव–वैद्य एकताको तयारी « Khabarhub

विप्लव–वैद्य एकताको तयारी

प्रचण्डसँग असन्तुष्ट पूर्वमाओवादी नेताहरू पनि सक्रिय



नवलपुर- नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएको साढे दुई वर्षपछि पुनः फुटको तयारीमा रहेकाबेला आफूलाई खास माओवादी बताउने साना पार्टीहरु एकताको तयारीमा लागेका छन् ।

साढे २ वर्षअघि मदन भण्डारी स्मृति दिवसका दिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरिएको थियो ।

त्यसअघि तत्कालीन सशस्त्र द्वन्द्वका कमाण्डर पुष्पकमल दाहाल (प्रचण्ड) र साविकको एमाले अध्यक्ष केपी शर्मा ओली एक आपसमा निकै कटु आलोचक थिए । पार्टी एकतापछि दुई नेता पार्टीका अध्यक्ष भए, केही समय दुबैको घाँटी जोडियो ।

फेरि तीनै दुई अध्यक्षले एकले अर्कालाई आक्षेप लगाउने काम गरिरहेका छन् । नेकपा वरिष्ठ नेता माधव नेपाल तत्कालीन दश वर्षे द्वन्द्वका कमाण्डर प्रचण्डका सारथि बनेका छन् । त्यही दुई तिहाई बहुमतको सत्तारुढ दल नेकपा विभाजनको संघारमा रहेका बेला आफूलाई मार्क्सवाद, लेलिनवाद र माओवादको मुख्य दाबेदार मान्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताबारे छलफल चलिरहेको छ ।कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्ने जिम्मेवारी बढेको निष्कर्षमा दुबै पार्टी पुगेका छन् ।

मालेमावाद र विचारधारा मान्ने, नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अंगीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट संगठन, समूह र व्यक्तित्वहरुलाई वार्ता र संवादको प्रक्रियामा अगाडि बढ्न क्रान्तिकारी माओवादी महासचिव वैद्यले आह्वान नै गरेका छन् ।

पछिल्लो पटक मंसिर ८-१० गते काठमाडौँमा बसेको पोलिटब्यूरो बैठकमा वैद्यले कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्ने जिम्मेवारी कैयौं गुणा बढेर गएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । पार्टी एकताका लागि आधार तयार पार्ने काममा विशेष पहल गर्न अनिवार्य भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी एकताको विषयमा छलफल चलिरहेकाबेला अहिले मालेमा विचार र नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अंगीकार गर्ने २२ दलसँग कार्यगत एकता भई संयुक्त सडक आन्दोलन पनि भइरहेको नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज चन्द्रहरि सुवेदी ‘अटल’ले बताए ।

विप्लवसँगको पार्टी एकतामा जोड दिएको बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउन पनि पछिल्लो वैठकबाट सरकारसँग माग गरेको छ ।

विप्लव समूहको ठूलो संख्यामा नेता कार्यकर्तालाई गिरफ्तार र यातना दिने काम गरेर सरकारले फासीवादको प्रदर्शन गरेको भन्दै क्रान्तिकारी माओवादीले सरकारको बिरोध गरेको छ ।

क्रान्तिकारी एकताको आवश्यकता महशुस गरी यसअघि पनि दुई पार्टीबीच पटक पटक छलफलहरु भएका छन् । यद्यपि ती छलफलहरु निष्कर्षमा नपुग्दै सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

७० वर्षको कम्युनिस्ट इतिहासमा एकता भन्दा बढी विभाजन ब्यहोरेका वैद्यले अन्य कम्युनिस्ट घटकसँग पनि एकताको पहल गरेका छन् ।

मणि, मात्रिका लगायतका समूह प्रचण्डसमूहमा विलिन भई सिङ्गो माओवादी केन्द्र एमालेसँग एकतामा गएपछि पुनः वैद्यले विप्लवदेखि मोहनविक्रम सिंह नेतृत्वको मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपासँग पनि एकताका लागि विभिन्न चरणमा छलफल भएका छन् ।

प्रचण्डसँग अलग भएर बसेका पूर्वमाओवादी नेताहरुले पनि एकताका लागि पहल तीब्र बनाएका छन् । ती नेताहरुबीचबाटै वार्ता टोली बनाएर छलफल भइरहेको स्रोतले बताएको छ ।

एमाओवादीसँगको विभाजनपछि विप्लवसँग मात्र नभई छुट्टै अस्तित्वमा रहेका मणि थापा, मात्रिका यादव, डा.बाबुराम भट्टराईसँग पनि एकताका लागि छलफल भएका थिए । उक्त छलफलपछि १३ बुँदे सहमतिको आधार नै तयार पारिएको थियो ।

माओवादी एकताको छलफल भइरहँदा प्रचण्ड नेतृत्वको एमाओवादी एमालेसँग समाहित भएपछि अन्य पार्टीहरुसँगको संवादहरु भने टुटेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ११ : ५३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी