काभ्रेपलाञ्चोक– बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशमा सरकार परिवर्तन भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र मान्यतमा परिवर्तन हुन नसक्ने बताएका छन् ।
धुलिखेलमा आज आयोजित ‘मदानी बीट डटकम’को चौथौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले सरकार एवं त्यसको नेतृत्व परिवर्तन भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन नसक्ने बताए ।
उनले भने, ‘हामीलाई सरकारको प्रशंसा गर्नेमात्र होइन, सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र सञ्चारमाध्यम चाहिएको छ ।’
सरकारका कमीकमजोरी, ढिलासुस्ती र गल्ती उजागर गर्ने तथा राम्रा काम जनतासमक्ष पुर्याउने दायित्व सञ्चारमाध्यमको रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले सरकारको आलोचना गर्ने सञ्चारमाध्यम र त्यसका पत्रकार पनि लोकतन्त्रका महत्त्वपूर्ण साझेदार हुन् भन्ने यथार्थलाई मनन गरी आमसञ्चारमाध्यम अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री थापाले स्थानीय सञ्चारमाध्यमको संस्थागत क्षमता, प्रविधि र आर्थिक दिगोपनाका लागि सहकार्यका कार्यक्रम अघि बढाइने बताए ।
सञ्चारकर्मीको पेसागत सुरक्षा तथा श्रम अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सञ्चारकर्मीको न्यूनतम तथा नियमित पारिश्रमिक, दुर्घटना तथा स्वास्थ्य बिमा र सामाजिक सुरक्षाको जिम्मेवारी सम्बन्धित सञ्चार संस्थाले पनि लिनुपर्छ ।’
‘मदानी डटकम’का सम्पादक श्यामप्रसाद सापकोटाले आर्थिक सङ्कटका कारण मुलुकका आमसञ्चारमाध्यम अप्ठ्यारो स्थितिमा रहेको विद्यमान परिवेशमा जिल्ला तथा स्थानीय समाचारलाई प्राथमिकता दिई आमजनतालाई सुसूचित गराउँदै आएको बताए ।

















प्रतिक्रिया