सांकेतिक तस्वीर

देश/प्रदेश

बैंकिङ कसुरका दोषी पोद्दार जेल चलान

By खबरहब

December 14, 2020

काठमाडौँ– बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति जेल चलान भएका छन् ।

चेक अनादर मुद्दा (बैंकिङ कसुर) मा दोषी ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज जेल चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको कलङ्कीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतले आजै कारागार चलान गर्न आदेश जारी गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौँका नानीबाबु खरेललाई रु एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेका ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौँ जिल्ला अदालतले एक महिना कैद र रु तीन हजार जरिवानाको सजाय सुनाएको थियो । उनीबाट रु एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो ।