कोटेश्वर-जडिबुटीको सुरुङमार्ग अन्यौलमा, अब लेन विस्तार गरिने | Khabarhub Khabarhub

कोटेश्वर-जडिबुटीको सुरुङमार्ग अन्यौलमा, अब लेन विस्तार गरिने

बजेट पर्खँदै सडक विभाग



काठमाडौं – राजधानीमा अत्याधिक जाम हुने क्षेत्रका रुपमा लिइन्छ कोटेश्वर–जडिबुटी सडक ।

यो सडकको जाम हटाउन सरकारले चालु आर्थिक वर्षको बजेटमा सुरुङमार्ग निर्माण गर्ने घोषणा समेत गरेको थियो । तर सुरुङमार्ग निर्माणको काम थाती राख्दै तत्काल जाम कम गराउन कोटेश्वर–जडिबुटी सडकखण्डलाई थप चार लेन विस्तार गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

जसअनुसार कोटेश्वरदेखि जडिबुटीसम्म बायँतर्फ ३ लेन र दायाँतर्फ एक लेन सडक विस्तार हुनेछ । सडक विस्तार गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जग्गा लिनुपर्ने हुन्छ ।

यसबीचमा विमानस्थालको जग्गा पर्ने र विमानस्थलका संकेत बत्तीहरु राख्नैपर्ने कारणले त्यहाँ फुटपाथ मिचेर एक लेनमात्र विस्तार गर्न सकिने अवस्था रहेको सडक विभागले जनाएको छ ।

निर्माण सम्पन्न भएको विमानस्थलको जग्गा भत्काउन नमिल्ने भएको विभागका सुचना अधिकारी शिवहरि सापकोटाले बताए ।

‘एयरपोर्टका लागि जडित भएका, कोटेश्वरको बाँयातिर संकेतका रुपमा राखिका बत्तीहरु निकाल्न नमिल्ने छन्’ खबरहबसँग उनले भने, ‘त्यसकारण त्यो भन्दा बाहिरको जग्गालाई व्यवस्थापन गरेर सडक विस्तार गर्ने तयारी छ । जसमा फुटपाथ र गल्ली छन् ।’

तीनकुने हुँदै जडिबुटी जान माथिल्लो फुटपाथलाई विस्तार गर्ने र नेपाली सेना बसेको ठाउँबाट जडिबुटी हुँदै कोटेश्वर आउने सडकलाई विस्तार गर्ने विभागको योजना छ ।

‘जडिबुटीबाट कोटेश्वर आउँदा बढी जाम हुने गुनासा आइरहेका पनि छन्’ उनले भने, ‘दायाँतर्फ नेपाली सेना बसेको छन् त्यो बारलाई केही पर सार्ने र तिन लेन थप्ने कुरा भइरहेको छ । त्यो भयो भने त्यहाँ राम्रो फुटपाथ पनि बनाउन सकिन्छ ।’

त्यस्तै तत्काललाई जाम कम गर्न जडिबुटीमा बेलिब्रिज बनाएको र कोटेश्वरबाट बालकुमारी जाने सवारी त्यही बाटो हुँदै जाने व्यवस्था मिलाईसकेको सापकोटाले बताए ।

यो सडकको प्रारम्भिक तयारीको काम सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयले गरिरहेको छ ।

प्रारम्भिक अध्ययनको काम सम्पन्न गरिसकेको जानकारी दिँदै कार्यालयका प्रमुख कुवेर नेपालीले भने, ‘जडिबुटी चोकमा एउटा घर छ त्यो घर हटाउनेबित्तिकै बायाँतर्फको एक लेन सडक विस्तार हुनेछ ।’

दक्षिणतर्फको बार हटाउन ठेक्का सम्झौता समेत भइसकेको छ । लेन विस्तारसँगै बिजुलीका तार अन्डर ग्राउन्ड गर्नका लागि विद्युत प्राधिकरणसँग छलफल भइरहेको नेपालीले बताए ।

सरकारको योजनाअनुसार अहिले तिनकुने–कोटेश्वर–जडिबुटी हुँदै पेप्सीकोला (बाँया) तर्फ जानेलाई मात्र एकतर्फी एउटा छुट्टै लेन तयार गरिनेछ । त्यस्तै दाँयातर्फ ३ लेन विस्तार गरिने उनले बताए ।

‘बजेट आउनसाथ टेण्डर निस्कन्छ’, उनले भने, ‘जति छिटो बजेट आउछ त्यति नै छिटो काम हुन्छ । अहिले हामी बजेटकै पर्खाइमा छौं ।’

चालु आर्थिक वर्षभित्रमा कोटेश्वर जडिबुटीको जाम घट्ने विभागको दावी छ ।

बीपी राजमार्गको चापले जाम

काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लाबाट आउने सवारी साधन, भक्तपुर नयाँबाटो हुँदै आउने सवारी तथा मूलपानी, खहरे, गोठाटार, काँडाघारी र भक्तपुरको पुरानो बाटो हुँदै आउने सवारीका कारण यो सडक सधै व्यस्त देखिन्छ ।

जडिबुटीबाट कोटेश्वरसम्म निस्कने वैकल्पिक मार्ग नहुँदा घण्टौं जाममा बसेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

काठमाडौंबाट सवारीसाधन बाहिरिने भित्रिने नाकामा सबैभन्दा व्यस्त कोटेश्वर क्षेत्र पर्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भक्तपुर नाकाबाट मात्र दैनिक २५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् ।

काठमाडौं उपत्यकामा दैनिक झण्डै ३२ हजार सवारी साधन आवतजावत हुने भक्तपुर नाका सबैभन्दा बढी व्यस्त हो ।
यो सडकमा बीपी राजमार्ग हुँदै पूर्वका सवारीसाधन सञ्चालन हुन थालेपछि जाम पनि बढेको ट्राफिक प्रहरी बताउँछने ।

के हुँदैछ सुरुङमार्गको काम ?

आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग निर्माण गरिने बताएका थिए । तर सुरुङमार्ग निर्माणको काम अहिले अन्यौल बनेको छ ।

शुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण थालिने मन्त्री खतिवडाले उल्लेख गरेका थिए ।

सूर्यविनायक–धुलिखेल (काभ्रे) सडकको स्तरोन्नती गर्ने, तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग र नयाँ बानेश्वरमा अण्डर पास तथा त्रिपुरेश्वरदेखि माइतीघरसम्मको फ्लाइओभारको विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण थाल्ने मन्त्री खतिवडाले बताएका थिए ।

तर अर्थमन्त्रीले भनेझैं चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग निर्माण थाल्ने अवस्था अहिलेसम्म देखिएको छैन् ।

सुरुङमार्ग निर्माण दीर्घकालीन योजना अन्तर्गत रहेको सडक विभागले जनाएको छ । अहिले जापानिज सहयोग संस्था (जाइका) ले पहिलो चरणका अध्ययन सकाएर नेपाल आएको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।

‘पहिलो चरणको अध्ययन सकाएर जाइकाको टोली नेपाल आइपुगेको छ’ उनले भने, ‘अब सम्भाव्यता अध्ययनको काम हुनेछ ।’

शर्माका आनुसार जापानीज टोलीले सम्भाव्यता अध्यययन सकाएर विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने सबै अध्ययन प्रतिवेदन सम्पन्न गर्नसाथ सुरुङ मार्ग निर्माण कार्य शुरु हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : १४ बजे

त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको

उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे

उपप्रधानमन्त्री सिंहले थाले १४ वर्षदेखि अल्झिएको मुआब्जाको विषयमा छलफल

काठमाडौं– काठमाडौं उपत्यकामा सडक विस्तारमा परेका घर जग्गाको मुआब्जा दिने

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई

‘ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ । मकवानपुरको