चुरेक्षेत्रमा पिउने पानीको अभाव शुरु | Khabarhub Khabarhub

चुरेक्षेत्रमा पिउने पानीको अभाव शुरु


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् ।

चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली र ढुङ्ग्रेखोलालगायतका बस्तीमा माघ, फागुन महिनादेखिनै पिउने पानीको अभाव हुन थाल्छ । चुरेफेदीका गाउँमा चापाकल सुक्न थालेका छन् ।

बढ्दो वन विनाश, नदी तथा वनजङ्गल दोहनले खानेपानीका मुहान चाँडो सुक्न थालेको लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण बैद्य बताउँछन् ।

गाउँका ४५/५० घरधुरीका मानिस पिउने पानीक जोहो गर्न छिमेकी गाउँसम्म पुग्न बाध्य हुनुपरेको छ । ती घरधुरीको एक मात्र कुवा रहेको र सो कुवामा आवश्यक पानी नभएको तथा वैकल्पिक स्रोतको व्यवस्था नभएकाले पिउने पानीको समस्या थप जटिल बनेको छ ।

“सानो कुवा छ । रातभर सङ्कलन गरेको पानीले गाउँका ५/६ घरधुरीलाई मात्र पुग्छ । पछि पुग्नेले छिमेकीगाउँका कुवा, धारा तथा खोलाको पानी प्रयोग गर्न करिब एक डेढ घण्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ”, लालबन्दी नगरपालिका– १४ नारायण खोलाका स्थानीयवासी रेशम तामाङ भन्छन् ।

पशु चौपाय र मानिसले एउटै कुवाको पानी खानुपर्ने बाध्यता छ । त्यसले गर्दा गाउँमा हरेक वर्ष झाडापखालालगायतका पानीजन्य रोग लाग्छन् । आफूहरुलाई सुख्खायाम शुरु भएपछि पिउने पानीको जोहो गर्न चिन्ता लाग्ने गरेको ईश्वरपुर नगरपालिका १६ परवानीपुरका राजेन्द्रप्रसाद ढुङ्गेलले बताए ।

मुहान नै सुक्न थालेपछि चुरेको तल्लो गाउँका धाराका साथै चापाकल सुक्न थालेको हरिवन नगरपालिका–४ का प्रेमनाथ पौडेलले बताए। धारामा पानी भर्न लाम बस्दा स्थानीयवासीबीचमा झगडा हुने गरेको पौडेलको भनाइ थियो ।

चुरे क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न फेदीका स्थानीय निकायले पहल गरिरहेका छन् । लिफ्टिङ प्रणालीबाट भए पनि चाडैँ सो क्षेत्रमा पिउने पानी व्यवस्थापन गर्ने गरी काम भइरहेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद प्रसार्इंले बताए ।

समस्या समाधान गर्न प्राविधिक अध्ययन शुरु गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज देवकोटाले बताए । नगरपालिकाको विकट क्षेत्रमा प्राविधिकसहितको टोली गएर अध्ययन गरिसकेको र नजिकैको खोलाबाट पानी लिफ्टिङ प्रणालीबाट भए पनि सो क्षेत्रमा पुर्‍याउने प्रयास भइरहेको नगरप्रमुख देवकोटाको भनाइ थियो ।

इटाभट्टाको सङ्ख्यामा वृद्धि, वन विनाश तथा नदी दोहनले पछिल्लो समयमा पानीका मुहान चाँडो सुक्न थालेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : २४ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।