यो हो ‘राष्ट्रिय कविता महोत्सव’मा प्रथम भएको कविता- ‘नेपालको गीत’ « Khabarhub

यो हो ‘राष्ट्रिय कविता महोत्सव’मा प्रथम भएको कविता- ‘नेपालको गीत’


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छन्। उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो।

यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘संकल्प’ ले द्वितीय स्थान हासिल गरेको छ।

सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन्।

प्रथम स्थान हासिल गर्न सफल भैरवी भूगोलको कविता यस्तो छ-

शीर्षक : नेपालको गीत

ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ –
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको सिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको विरुवा
विकास गरौँ –
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरुमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरुका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियुन्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखुन् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरु ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
सिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन ,पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहुन्
मेरा सन्ततीहरू
गाइरहुन् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : ३१ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष