आस्था राउतको बयान: महिला प्रहरीले झोलामा कफी खन्याइदिन्छु भन्दै विमानस्थलमै न्याँकिन् | Khabarhub Khabarhub

आस्था राउतको बयान: महिला प्रहरीले झोलामा कफी खन्याइदिन्छु भन्दै विमानस्थलमै न्याँकिन्

जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो



काठमाडौं – गायिका आस्था राउतले फेसबूक लाइभमार्फत नेपाल प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै प्रहरीलाई नै गाली गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा कतिले आस्थाको समर्थन गरिरहेका छन् भने कतिले उनी यसरी आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन नहुने प्रतिक्रिया दिएका छन् ।

यता राउतले भने आफूले ‘हद’ पार गर्ने गरी अपमान सहनु परेकाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेको प्रतिक्रिया दिएकी छिन् । यतिबेला उनी भारतको सिक्किममा कार्यक्रमका लागि पुगेकी छिन् ।

सिक्किममा हुने रिम्बी माघे मेलामा प्रस्तुति दिन आस्था बुधवार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

खबरहबसँगको कुराकानीमा राउतले भनिन्, ‘मलाई ती महिला प्रहरीले हातले तानेर न्याँकिन्, नराम्रो व्यवहार गरिन्, चित्त दुख्यो ।’

आफूले यसअघि पनि प्रहरीबाट सामान्य दुव्यर्वहार बेहोर्नुपरे पनि यो तहको दुर्व्यवहार कहिल्यै नभोगेको बताइन् । महिला प्रहरीले हातै हालेर दुर्व्यवहार गर्दा डिउटीमा रहेका अन्य प्रहरीले टुलुटुलु हेरेको देख्दा दु:ख लागेको उनले बताइन् ।

‘भोलि (शुक्रवार) को कार्यक्रमका लागि म सिक्किम जाँदै थिएँ, हिजो (बुधवार) दिउँसो १२ बजेको फ्लाइट थियो, म समयमै पुगेकी थिएँ,’ राउत खबरहबसँगको कुराकानीमा भन्छिन्, ‘बुद्ध एयरको फ्लाइट ‘डिले’ हुने भएपछि म विमानस्थल परिसरमै कफी पिएर बसिरहेकी थिएँ ।’

‘त्यही बेला मिस आस्था राउत भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें,’ उनले भनिन् ।

आफू कफी बोकेरै चेकिङतर्फ अगाडि बढेको तर चेकिङमा रहेकी महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको आस्था बताउँछिन् ।

‘मेरो नाम सुन्नासाथ म कफी छोडेर जान लागेकी थिएँ, मलाई छोड्न आएका रिलेटिभ (आफन्त)ले कफी लान पाइन्छ भनेपछि कफी लिएरै छिर्दै थिएँ, कफीको लिड पनि राम्रोसँग लागिरहेको थिएन,’ आस्था थप्छिन्, ‘चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नुभयो, मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ ।’

आफूले राम्रोसँग सोधे पनि ती महिला प्रहरीले ‘ज्याकेट खोल्’ भन्दै रुखो व्यवहार गरेको आस्था सुनाउँछिन् । दुई दिनअघि पोखरा जाँदा त्यसरी ज्याकेट खोल्नु नपरेको तर हिजो जबरजस्ती ज्याकेट खोल्न लगाउँदा आफूले सहजै ज्याकेट खोलेको आस्था बताउँछिन् ।

‘दुई दिनमै ज्याकेट खोल्नुपर्ने नियम शुरु भएछ,’ उनी भन्छिन् ।

‘मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ,’ आस्था घटनाबारे बताउँदै अगाडि थप्छिन्, ‘उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ ।’

महिला प्रहरीले ‘ज्याकेट खोल्’ भनेर रुखो व्यवहार गरेपछि आफू ज्याकेट खोलेर चेक गर्न दिएको पनि आस्था बताउँछिन् ।

त्यतिबेलासम्म हातमा भएको कफी ती महिला प्रहरीले कतै राखिदिएको र आफूले हतार भएका कारण कफी छोडेरै जान लागेको उनले बताइन् ।

‘उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तै पनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ,’ आस्था अगाडि थप्छिन्, ‘तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्न भनेँ ।’

‘कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ?,’ ती महिला प्रहरीको भनाइ उद्धृत गर्दै आस्था थप्छिन्, ‘मेरो ठाउँमा अरु कोही केटा भएको भए त्यहीँ घुमाएर हान्थ्यो होला, त्यस्तो बिझाउने थियो उहाँको व्यवहार ।’

त्यतिबेलै आफूलाई बोलाउन आएका बुद्ध एयरका कर्मचारीले ती महिला प्रहरीलाई कानमा केही भनेपछि बल्ल भित्र छिर्न दिएको आस्था बताउँछिन् ।

‘त्यो हदसम्मको दुर्व्यहार मैले भोग्नुपरेको थिएन, मेरो त दिमाग नै आउट भयो,’ उनी गुनासो गर्छिन् ।

‘उहाँले तँ भनेर मलाई केही फरक पर्ने थिएन, तेरो ज्याकेट खोल् भनेर उहाँले जुन खाले व्यवहार गर्नुभयो, त्यो निकै बिझाउने खालको थियो,’ उनले अगाडि थपिन्, ‘प्रहरीको छाप यस्तै छ भन्ने त जगजाहेर नै छ तर उहाँले त कफी लान्नँ भन्दा हात नै हाल्नुभयो, न्याँक्नुभयो ।’

त्यतिबेला त्यहाँ भएका अन्य प्रहरीले टुलुटुलु हेरेको आफूलाई चित्त नबुझेको आस्था बताउँछिन् । उनका अनुसार अरु यात्रीले पनि त्यो दृश्य देखिरहेका थिए ।

प्रहरीको तल्लो तहमा पनि ‘स्कूलिङ’ र नैतिक शिक्षाको जरुरी भएको आस्थाको भनाइ छ । ‘माथिको अफिसरले तल्लो तहको प्रहरीलाई यस्तो व्यवहार गर्न सिकाउने त पक्कै होइन होला,’ उनी भन्छिन् ।

आफू कार्यक्रमका सिलसिलामा कैयन् देशका विमानस्थलमा पुगेको तर नेपालका प्रहरीमा मात्र यस्तो दम्भ भएको आस्थाको आरोप छ । ‘विदेशमा पनि प्रहरी हुन्छ, हाम्रो देशको प्रहरीमा मात्र यस्तो दम्भ किन छ?,’ उनी प्रश्न गर्छिन् ।

आफूले केही पर चेकिङमा बसिरहेका प्रहरीलाई यो कस्तो शैली हो भनेर सोधेको र ती प्रहरीले मान्छे सबै एकनास नहुने प्रतिक्रिया दिएको आस्था बताउँछिन् । ‘त्यस्तो हुँदासम्म प्रहरीले हेरेरै बसे, शायद ती महिला प्रहरीले त्यही रवाफ अरुलाई पनि देखाउने गरेकी थिइन् कि !,’ उनी भन्छिन् ।

‘एकजना दिदी सिलुगढी जान हिँड्नुभएको रहेछ, उहाँलाई त झन् पातलो खालको पोशाक पनि खोल्न भनिएछ, उहाँले पनि गुनासो पोख्दै प्रहरी यस्तै भएको भन्दै मन नदुखाउन भन्नुभयो,’ खबरहबसँगको कुराकानीमा आस्था भन्छिन् ।

कार्यक्रमका सिलसिलामा भने प्रहरीबाट सधै सम्मान पाएको र प्रहरीलाई पनि आफूले सधै सम्मान गर्ने गरेको आस्था बताउँछिन् । आफूले प्रहरीले गरेको मेहनत देख्दा यसअघि सधै सम्मानको भाव आउने गरेको सुनाउँछिन् उनी ।

‘प्रहरीका बारेमा नकारात्मक कुरा सुनिन्थ्यो, तर मैले हिजो जे भोगें, त्यसपछि मैले आफूले भोगेजस्तो सुनेर हुन्न रहेछ भन्ने बुझेँ,’ आस्था थप्छिन्, ‘मैले जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो ।’

प्रहरीले अपराधीलाई पनि नगर्ने व्यवहार आम नागरिकलाई गरेको महसुस भएको उनको भनाइ छ ।

साढे १२ बजे उड्ने भनिएको प्लेनलाई ट्राफिक जामका कारण ३ बजेसम्म काठमाडौं विमानस्थलमा कुर्नुपरेको थियो । उनका अनुसार भित्र छिरिसकेपछि ‘रन वे’मा समेत प्लेन रोकिएको थियो । भद्रपुर विमानस्थल पुग्दा ४ बजिसकेको थियो ।

यतिबेलासम्म पनि राउतको रिस मरेको थिएन ।

‘जिन्दगीमा पहिलोपटक त्यत्रो मान्छेको अगाडि त्यसरी दुर्व्यवहार सहन परेपछि कसरी रिस मर्छ?,’ आस्था प्रश्न गर्छिन् ।

माघे संक्रान्तिको शुभकामना र सिकिम्ममा आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी दिन मात्र ‘लाइभ’ आएको तर विनाकसुर कसैले ज्याकेटमै समाएर अपराधीलाई झैँ गराएको सम्झेपछि एक्कासी रिस उठेको आस्था सुनाउँछिन् ।

‘हामीलाई सम्मान चाहिएको होइन तर कलाकारलाई त यस्तो व्यवहार हुन्छ भने अरुलाई कस्तो होला भन्ने मुख्य प्रश्न हो,’ राउत भन्छिन्, ‘प्रहरीले पनि त्यही कुरालाई राम्रोसँग किन नभन्ने? हामीले गाली नै खानुपर्ने?’

आफूले प्रशासन र प्रहरीलाई सधै सम्मान गर्ने तर केही प्रहरीले गर्दा सबै प्रहरीको छवि नै बिगारिरहेको उनी सुनाउँछिन्, ‘मैले मात्र होइन, हरेक मान्छेले प्रहरीले गर्ने व्यवहारबारे आत्ममूल्याङ्कन गर्न जरुरी छ ।’

भिडियोमार्फत प्रयोग गरिएका केही शब्दलाई लिएर धेरैले गुनासो गरेपछि आफूले भिडियो हटाएको आस्था सुनाउँछिन् ।

सल्यानमा कार्यरत एक प्रहरी जवानले आस्थालाई म्यासेजमा लेखेका थिए – संवाद अथवा वादविवाद एउटा सामान्य विषय हो । तपाईंलाई डिउटीमा रहेको दुर्व्यवहार मेरो लागि पनि स्वीकार्य छैन । कारवाही हुनुपर्छ । त्यसमा मेरो पनि जोडदार माग छ । तर तपाईंले बोलेका शब्दहरुले पनि तल्लो तहको मनोबल कमजोर गरेको छ । आस्था जी, प्युसो, डन्ठेजस्ता शब्द प्रयोग नगरी सम्मान गरेको भए राम्रो हुने थियो । सभ्य भाषामा भनेको भए राम्रो हुने थियो ।

आस्थाले ‘मन नदुखाउनुहोला, कहिलेकाहीँ यस्तै हुने रहेछ’ भन्दै माफीपूर्वक रिप्लाइ गरेकी थिइन् । उनले म्यासेजको रिप्लाइमा लेखिन्, ‘रिसको आवेगमा भुल भएँ माफ पाऊँ, अरु जवान मुकदर्शक हुँदा, हिजो हद पार भया । मेरो आक्रोश बढी भयो । त्यसैले क्षमा चाहन्छु । मेरो पनि सबै प्रहरी नराम्रो भन्ने सोच होइन, तर केहीको व्यहोरा नराम्रो भएको हो । फेरि पनि मन नदुखाउनुहोला, कहिलेकाहीँ यस्तै हुने रहेछ ।’

आफूले भिडियोमा प्रयोग गरेका केही शब्द प्रयोग नगरेको भए हुन्थ्यो भन्ने आफूलाई पनि लागेको र माफी मागिसकेको आस्थाले बताइन् ।

‘गलतलाई गलत नभने के गर्नु, यस्तो व्यवहार खेपेँ भनेर जीवनभर कुण्ठा बोकेर त म सक्दिनँ नि, त्यसैले बोलेँ,’ उनी भन्छिन् ।

(प्राविधिक त्रुटिवश यसअघि सामाजिक सञ्जालबाट प्राप्त  एक तस्वीर अन्य मिडिया हाउसको पर्न गएकोमा हटाइएको छ । सबै तस्वीर– आस्था राउतको फेसबूकबाट ।)

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ७ : ५३ बजे

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले