कोरोनाका बिरामीको सेवा गर्दा गर्दै संक्रमित भइन् नर्स | Khabarhub Khabarhub

कोरोनाका बिरामीको सेवा गर्दा गर्दै संक्रमित भइन् नर्स

निको भएपछि संक्रमितकै सेवामा लाग्ने चाहना


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित बिरामी राखिएको आइसोलेसन वार्डमा एकसाताको ड्युटी सकेर नारायणी अस्पतालकी एक जना नर्स वैशाख ३१ गते परिवारका साथ घरमै थिइन् ।

साँझ ८ बजिसकेको थियो, उनी खाना खाने तयारी गर्दै थिइन् । उनको फोनमा घन्टी बज्यो, अस्पतालका प्रमुखको फोन थियो त्यो ।

उनले फोन उठाइन् ।

‘तिमी कहाँ छौ ? आइसोलेसनमा बस ।’ हाकिमको कुरा सुनेर उनी अचम्मित भइन् । उनको दिमाग खाली भयो ।

‘सर ! म किन बस्ने आइसोलेसनमा ?’ उनले प्रश्न गरिन् ।

‘चुपचाप अहिलेदेखि नै आइसोलेसनमा बसिहाल ।’ अस्पताल प्रमुखले आदेशात्मक शैलीमा भने । नर्सलाई अस्पताल प्रमुखको बोल्ने शैली सधैँभन्दा फरक लाग्यो ।

‘सर म किन आइसोलेसनमा बस्नु र ? उनले फेरि सोधिन् ।

‘तिमी यस्तो अवस्थामा आइसोलेसनमा किन बस्नु भन्छ्यौ’ अस्पताल प्रमुखको तेस्रो भनाइमा उनले कुरा बुझिन् ।

आफूलाई कोरोना संक्रमण पुष्टि भएको थाहा पाइन् तर, कल्पनै गरेकी थिइन् । अस्पतालका सबै डाक्टर र नर्सलाई सावधानी अपनाउन आग्रह गर्दै कोरोना संक्रमितको उपचारमा खटाउने अस्पताल प्रमुख पनि करिब निःशब्द बनेका थिए ।

उनले आफ्नै अस्पतालकी नर्सलाई ‘तिमीलाई कोरोना संक्रमण पुष्टि भएको छ’ भनेर सिधै भन्न सकेनन् । आइसोलेसनमा बस भन्दै उनले नर्सलाई संक्रमण पुष्टि भयो भन्ने इसारा गरे ।

‘मलाई कोरोना संक्रमण हुन्छ भनेर सोचेकै थिइनँ, सरले फोन गरेर आइसोलेसनमा बस भन्दा मेरो दिमाग नै खाली भयो । उहाँले तीनपटकसम्म आइसोलेसनमा बस भनेपछि थाहा पाएँ, मलाई कोरोना संक्रमण भएको भएको रहेछ,’ ती नर्सले खरहबसँग भनिन्, ‘पहिलो पटक मेसु (मेडिकल सुपरिटेन्डेन्ट) ले फोन गरेर भन्नु भएपछि म अचम्मित भएँ । सरले पनि सिधै कोरोना पुष्टि भयो भन्न सक्नुभएको थिएन ।’

सिङ्गै विश्व कोरोना भाइरस संक्रमणको चेपेटामा छ । धेरै देशमा संक्रमितको उपचारमा संलग्न डाक्टर र नर्सलाई कोरोना संक्रमण पुष्टि भएको समाचार आइरहन्छ । आफूलाई ना संक्रमण पुष्टि भएको दिन भने नारायणी अस्पतालकी ती नर्स अचम्मित भइन् ।

नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीहरू आउन थालेपछि उनी दोस्रो लटको चिकित्सक टिममा आइसोलेसन वार्डको ड्युडीमा थिइन् । उनले अस्पतालको निर्देशन अनुसार पीपीई सेट लगाउनुका साथै अन्य सावधानी पनि अपनाएकी थिइन् ।

एकसाताको ड्युटीपछि वैशाख १७ गते पहिलोपटक कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । नारायणी अस्पतालमा चैत पहिलो सातादेखि कोरोना संक्रमणको शंका गरिएका बिरामीहरू आउन थालेपछि उनले आफूसँग बस्ने छोरालाई आफन्तको पठाएकी थिइन् ।

पहिलो चरणको ड्युटी पूरा गरेर कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ७ वर्षीया छोरालाई आफैसँग राखेकी थिइन् । काठमाडौँमा भएका पति पनि घर आएका थिए । यसरी परिवारजन भेला भएपछि अर्को पटक कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आइदियो ।

‘म अस्पतालमा काम गर्ने भएकाले छोरालाई जोखिम नहोस् भनेर आफन्तको घरमा पठाएकी थिएँ,’ संक्रमित नर्सले भनिन्, ‘कोरोना पोजेटिभ छैन भनेर नै छोरालाई पनि आफैसँग राखेँ, श्रीमान् पनि घर आउनुभयो । सबै सँगै भएपछि मलाई कोरोना संक्रमण भयो ।’

कोरोना संक्रमण पुष्टि भए पनि तुरुन्त अस्पताल जान नारायणी अस्पतालको आइसोलेसन बेड संक्रमितले भरिएको थियो । उनी वैशाख ३१ गते घरमै परिवारबाट अलग बसिन् ।

जेठ एक गते देखि उनी नारायणी अस्पतालको आइसोलेसनमा छिन् । कोरोना पोजेटिभ भएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताइन् ।

‘कोरोनाको कुनै लक्षण देखिएको छैन । कुनै समस्या छैन,’ ती नर्सले हाँस्दै भनिन्, ‘मलाई संक्रमण कसरी भयो म आफैँलाई थाहा छैन । ड्युटीमा हुँदा पनि सजग भएर काम गरेकी थिएँ ।’

आफ्नो परिवारमा पनि संक्रमण सरेको छ कि भनेर चिन्ता लागेको उनले सुनाइन् । ‘मलाई अरू त कुनै समस्या छैन, छोरा र श्रीमान्लाई पनि कोरोना सरेको छ कि भनेर चिन्ता लागेको छ, उहाँहरूको पनि परीक्षण गरिएको छ, रिपोर्ट आइसकेको छैन,’ उनले भनिन्, ‘मेरो मनोबल उच्च छ, म निको हुनेछु ।’

निको भएर फर्केपछि फेरी बिरामीको सेवामा जाने चाहना रहेको उनको सुनाइन् ।

‘पहिला आफूलाई संक्रमण नहुँदा त ड्युटीमा पर्दा पनि संक्रमित हेर्ने दिन नआओस् भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘मलाई छिट्टै निको हुन्छ भन्ने आशा छ, कोरोना निको भएर क्वारेन्टाइन बसाइपछि कोरोना संक्रमितलाई अझ मन लगाएर सेवा गर्ने चाहना छ ।’

‘मैले पनि सोचकै थिइनँ मलाई संक्रमण हुन्छ भनेर । म सुरक्षित भएर काम गरेकी थिएँ तर पनि संक्रमण भयो,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मी भएपछि बिरामीको केयर त गर्नुपर्छ, आफूलाई सुरक्षित राखेर सेवामा खट्नुपर्छ । समस्यासँग भागेर हुँदैन ।’ आफू सुरक्षित रहेर बिरामीको सेवामा लाग्न अन्य स्वास्थ्यकर्मीहरूलाई उनको सुझाव छ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  २ : ५५ बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको