प्याज लुकाउने बल्खु तरकारी बजारको एस के. सप्लायर्स र चुली सगरमाथा ट्रेडर्स प्रहरीको जिम्मामा | Khabarhub Khabarhub

प्याज लुकाउने बल्खु तरकारी बजारको एस के. सप्लायर्स र चुली सगरमाथा ट्रेडर्स प्रहरीको जिम्मामा


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बल्खु तरकारी बजारमा सञ्चालित एसके सप्लायर्य र चुली सगरमाथा ट्रेडर्सलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको जिम्मा लगाइएको छ ।

एकै व्यक्तिले दुईवटा फर्म दर्ता गरेर होलसेल र खुद्रा व्यापार गरेको, उनकै होलसेलमा करीब २ सय १९ बोरा प्याज हुँदाहुँदै खुद्रा पसलमा छैन भनेर बिक्री नगरेपछि उनलाई कालोबजारी गरेको आरोपमा आवश्यक कारवाही गर्न प्रहरीको जिम्मा लगाइएको हो ।

बुधबार बिहान करीब साढे ६ बजे महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी अनुगमनका लागि एसके सप्लायर्समा पुगेर प्याजको भाउ सोधे ।

व्यापारीले बिक्रीका लागि प्याज नभएको बताए । भारतबाट प्याज आयात रोकियो । बेच्न छैन । उनीहरु भन्दै थिए । व्यापारी सुनाउँदै थिए, ‘हिजो हामीले होलसेलमा १०० रुपैयाँ र खुद्रामा ११० रुपैयाँमा प्याज बिक्री गरेका थियौं ।’

अनुगमनका क्रममा बजारकै नदीतर्फको भागमा सञ्चालित मिट मार्टको छेउमा करीब २०० बोरा प्याज भण्डार गरिएको भेटियो । शुरुवातमा सामानको स्वामित्व कसैले लिएनन् । पछि सुनिल केसीको सामान भएको जानकारी भयो । सोधखोज गर्दै जाँदा थाहा भयो उनले चुली सगरमाथा ट्रेडर्स नामको होलसेलबाट यी सामान भण्डार गरेका रहेछन् । उता प्याज छैन भनिएको एसके ट्रेडर्स पनि उनर्कै नाममा दर्ता भएको फर्म रहेछ ।

दुवै फर्मका सञ्चालक एकै व्यक्ति भएको कागजपत्र भेट्टाएपछि थाहा भयो, ‘उनले खुद्रा व्यापार गर्न एसके ट्रेडर्स र होलसेल व्यापारका लागि चुली सगरमाथा दर्ता गरेका रहेछन् । उनले हिजो १ सय १० मा खुद्रा पसलबाट बिक्री गरेको भनेको प्याज भदौ ३० गतेको बिलमा ६८ रुपैयाँमा बिक्री गरेका थिए ।

बजारमा प्याज नभएको मौका पारेर भएको प्याज पनि नबेचेको, आफ्नै होलसेलबाट ६८ रुपैयाँमा खरिद गरेको प्याज खुद्राबाट १ सय १० मा बेचेको एकिन भएपछि उनलाई स्थानीय प्रहरी, बजारका व्यवस्थापकको रोहवरमा मुचुल्का तयार पारेर प्रहरीलाई बुझाइएको महानगरले जनाएको छ ।

यस क्रममा केसी भन्दै थिए, ‘गल्ती हो । तर, एक्लैले कानुन पालना गर्छु भन्दा ग्राहकविनाको एक्लो व्यापारी होइन्छ । मैले व्यवहारिक रुपमा यसो गरिन भने कसरी बचिन्छ र?’

अहिले काठमाडौंको खुद्रा बजारमा प्याजको भाउ १ सय ५० रुपैयाँ सम्म पुगेको छ ।

अनुगमनका क्रममा बाफलबाट बल्खु आएकी खुद्रा व्यापारी रमिला महतले अनुगमन समितिसँग गुनासो गरिन्, ‘व्यापारीहरुको प्याज छ तर अरुलाई बेचिसकेको भनेर हामीलाई बेच्न मान्दैनन् । बजारमा प्याजको किन्न नपाउने उनी मात्र होइनन् ।’

त्यसपछि अनुगमन समिति प्याज आयात मूल्यको जाँच गर्न कलंकीबाट थानकोट जाने सडक खण्ड ढुङ्गे अड्डा पुग्यो । करीब ४५ मिनेट त्यहाँ रहँदा प्याज बोकेका कुनै पनि ढुवानीका साधन भेटिएनन् ।

त्यसपछि टोली कालीमाटी तरकारी बजार आयो । बजारले आज प्याजको भाउ १ सय १७ देखि १सय २० सम्म भएको सूची सार्वजनिक गरेको छ । यो सूची देखाएर व्यापारीहरु कालीमाटीले बेच्न पाउने हामीले किन नपाउने भनेर प्रश्न गरिरहेका छन् ।

व्यापारीको यो आवाज समितिले कालीमाटी तरकारी तथा फलफुल बजार बिकास समितिका कार्यकारी निर्देशक बिनोदकुमार भट्टराईलाई सुनाए । उत्तरमा भट्टराईले भने,  ‘यो मूल्य निर्धारण होइन । बजारमा आज भएको किनबेचको अवस्था हो । यसलाई हामीले सार्वजनिक गरिदिएका हौं । यो सूचनाका आधारमा सरोकारवालाले अनुगमन र नियमन गर्न सकुन् भन्ने हाम्रो चाहना हो ।’

अनुगमनपछिको प्रतिक्रियामा समितिकी संयोजक एवं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आयातमा कम भएको हुन सक्छ तर त्यही निहुँमा बजारमा भाउ बढ्ने अवस्था होइन । मौकाको फाइदा उठाउनेहरुमाथि महानगरले निगरानी निरन्तर गरिने बताइन् ।

‘अनुगमनमा क्रममा खाद्यबस्तुमा दाल, चामल, गेडागुडी, पानीसहित पेय बस्तु, तरकारी र फलफुलको गुणस्तर, मूल्य र बजार सहजताको अवस्था हेरिरहका छौं’ कृषि विभागका प्रमुख हरिबहादुर भण्डारी भने, ‘ठाउँठाउँमा सुधार गर्नुपर्ने अवस्था छ ।’

गुणस्तर, मूल्य र सहजताका दृष्टिले उपभोक्ता पाइलैपिच्छे ठगिएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सना भन्छन् , ‘अनुगमनको प्रभावकारिताका लागि महानगरको नेतृत्वमा थालिएको अनुगमनलाई अरु निकायले सहयोग गर्नुपर्छ । गृह र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले पनि महानगरको अनुगमनमा सहभागी हुनुपर्छ ।’

आजको अनगुमनमा महानगरको पशु सेवा विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनिधि सहभागी भएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : २५ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन