लकडाउनका कारण बादी समुदायलाई छाक टार्नै मुस्किल « Khabarhub

लकडाउनका कारण बादी समुदायलाई छाक टार्नै मुस्किल


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी गरेको लकडाउनका कारण डोटी जिल्लाका बादी समुदायलाई निकै सकस भएको छ । दर्जनौँ घरपरिवार बादी समुदाय सरकारी जमिनमा बस्दै आफ्नो गुजारा चलाउँदै आएकामा हाल घरमा खाद्यान्न अभाव भएपछि उनीहरु भोकै बस्नुपर्ने अवस्था गुनासो गर्छन् ।

दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षलय नजिकको सरकारी जमिनमा वर्षौँदेखि बस्दै आएका भूमिहीन सुकम्वासी बादी समुदायलाई छाक टार्नै मुस्किल हुँदै आएको छ । दैनिक ज्यालादारी काम तथा बजारमा सरसामान लोडअनलोड गरेर जीवन निर्वाह गर्दै आएका बादी समुदाय अहिले लकडाउनपछि निकै समस्यामा परेका हुन् ।

ज्यालाको काम तथा सवारी साधन बन्द भएपछि आफूहरुको भान्सामा चुलो बल्नसमेत मुस्किल हुन थालेको स्थानीय तेजबहादुर बादीले गुनासो गरे । उनले भने, ‘लकडाउनले बजारमा काम पाउनै छाड्यो, साँझ बिहानको खाना पनि कसरी खाने भन्ने चिन्तामा छौँ, हामी रोगले भन्दा पनि भोकले मर्ने भएका छौँ ।’ जिल्लाका विभिन्न स्थानीयत तह तथा वडामा राहत वितरण गर्न थालिएको भए पनि आफूहरुलाई अहिलेसम्म कसैले पनि राहतसमेत नदिएको सोही टोलमा बस्ने अर्का २९ वर्षीय श्याम बादीले बताए ।

डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल पिपल्ला जोड्ने डा केआइसिंह राजमार्गमै बादी समुदाय बस्दै आएका भए पनि सोही सडकको बाटो भएर जानेहरुले अहिलेसम्म कसैले पनि उनीहरुको अवस्थाका बारेमा सोधपुछसमेत नगरेको बादीहरुको गुनासो छ ।

घरबार तथा जमिन नभएर सुकम्वासी भएका यहाँका बादीहरुलाई दिपायल सिलगढी नगरपालिकाले आवासका लागि केही महिना पहिले जमिन खरिद गरे पनि रकम नहुँदा उनीहरुले घरसमेत बनाउन सकेका छैनन् । कमाइखाने नाममा एक रोपनी जमिन पनि नभएका कारण बादी समुदायका व्यक्ति दैनिक मजदुरी गरी जीवनयापन गर्दै आएका थिए । लकडाउनका कारण मजदुरीको कामसहित उद्योग, बजारलगायत अन्य पसल बन्द भएपछि बादीहरुलाई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ भएको दिपायल पिपल्लाका स्थानीय रामबहादुर विष्टले बताए ।

करिब पाँच घरपरिवार रहेको उक्त टोलमा कम्तीमा पनि १२/१५ जना बादी बस्दै आएका छन् । घरमा खानेकुरा नभएका कारण आफ्ना छोराछोरी दुई दिनदेखि एक छाक खाएर बसेको अर्का स्थानीय गणेशबहादुर बादी (दास) ले बताए । बजारमा पछिल्लो समय भित्रिएका प्लाष्टिकका आधुनिक भाँडाका कारण बादी समुदायले बनाउँदै आएका माटाका भाँडासमेत बिक्री वितरण हुन बन्द भएका कारण उनीहरुलाई कमाइ गर्न समस्या हुँदै आएको थियो तर अहिले कोरोना भाइरसका कारण एकाएक भएको लकडाउनले बादीहरुलाई बिहान–बेलुकीको छाक टार्नै मुस्किल भएको छ ।

सडक छेउमा पालको कटेरो बनाएर बसेका बादीहरु रोगले भन्दा भोकले मर्नेमा बढी चिन्तित बनेका छन् । छोराछोरीको ज्यान जोगाउनलाई भए पनि खानेकुराको राहत दिन उनीहरुले सबै निकयसँग आग्रहसमेत गरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बादी समुदायलाई खाद्यान्न वितरणका लागि नगरपालिकाले विशेष पहल गर्ने बताइन् । उनले भनिन्, ‘हामी बादी समुदायसहित विपन्न वर्गका लागि खाद्यान्न वितरण गर्ने तयारीमा छौँ, निश्चिन्त हुनुस्, हामी भोकले कसैलाई पनि मर्न दिने छैनौँ ।’

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : ५० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच