सिनियर रिसर्च फेलो एवं आतंकवादका विशेषज्ञ प्राध्यापक जेसन ब्लजाकिस अमेरिकाको मोन्टेरीमा रहेको मिडिलबरी इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजस्थित सेन्टर अन टेरोरिज्म, एक्सट्रिमिज्म एण्ड काउन्टर टेरोरिज्म (सीटीईसी) मा निर्देशकको जिम्मेवारीमा छन् । उनी आतंकवादीलाई पैसा र प्रचार प्राप्त गर्न रोक्ने रणनीतिकार पनि हुन् ।
यसअघि उनले अमेरिकी विदेश मन्त्रालयको राजनीतिक–सैनिक मामिला, अन्तर्राष्ट्रिय लागुऔषध तथा कानून कार्यान्वयन मामिला, गुप्तचर एवं शोध व्यूरोहरू र अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा समेत जिम्मेवारी पूरा गरिसकेका छन् ।
त्यस्तै, यसअघि उनी प्रतिआतंकवाद, आतंकवाद लगानी एवं सूचीकरण कार्यालय, प्रतिआतंकवाद ब्यूरोमा निर्देशकको भूमिकामा रही कुनै पनि देश, संगठन वा व्यक्तिलाई आतंककारीको सूचीमा राख्न निर्देशन दिने जिम्मेवारीमा पनि रहिसकेका छन् ।
हालै खबरहबले उनीसँग विश्वभर महामारीको रुप लिएको कोभिड–१९ बारेका दुष्प्रचार, यसको प्रभाव र आतंकवादका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश–
कोभिड–१९ को महामारीले विश्वभर स्वास्थ्य संकट निम्त्याएको छ । यसको अर्थ आतंकवादले भन्दा स्वास्थ्य प्रकोपको पो ठूलो जोखिम रहेछ, होइन ?
अवश्य पनि, अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा आतंकवादले भन्दा कोभिड–१९ ले ठूलो जोखिम निम्त्याएको छ । सिधा भन्दा कोभिड–१९ ले कसैलाई मृत्युको मुखमा पुर्याउँदा कुनै विचार, धार्मिक वा राष्ट्रियता हेर्दैन ।
कोभिड–१९ बारेको दुष्प्रचारलाई कसरी हेर्नुभएको छ ?
दुष्प्रचार पनि कोभिड–१९ जसरी नै फैलिरहेको छ । खासगरी चीन र रुसी महासंघ दुष्प्रचारका लागि राज्य सञ्चालित प्रयासमा लागिरहेका छन् । अमेरिकामा राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक मोम्पेओ जस्ता वरिष्ठ नेताहरूले प्रयोग गर्ने भाषाका कारण चीनसँग तनाव बढ्दै जान थालेको छ ।
उदाहरणका लागि, राष्ट्रपति ट्रम्पले गैरजिम्मेवार भएर कोभिड–१९ लाई बारम्बार ‘चिनियाँ भाइरस’ वा ‘वुहान भाइरस’ भन्दै आएका छन् । यसले संगठनात्मक र व्यक्तिगत स्तरमा गलत हिसाबमा ‘हामीविरुद्ध उनीहरू’ को भावना (न्यारेटिभ) विकास हुनजान्छ ।
यस्तैमा तनाव बढाउन हामीले केही मानिस र समूहले दुष्प्रचार गरिरहेको देख्छौँ । यो कुरा मुख्यगरी श्वेत राष्ट्रवादी समूहहरूमा लागू हुन्छ ।
कोभिड–१९ को प्रकोपपछि विश्वमा कस्ता किसिमका चुनौती देखा पर्लान् ?
धेरै हिंसात्मक समूहहरूले आक्रमण गरेर वा आक्रमणको योजना बनाएर विश्वव्यापी महामारीको फाइदा उठाउन सक्छन् । प्रकोपकै बीचमा पनि केही समूहले यस्तो गर्न सक्छन् ।
उदाहरणका लागि, आतंकवादी संगठन इस्लामिक स्टेटले हालै आफ्नो साप्ताहिक अल नबा प्रकाशनमा कोभिड–१९ को महामारीबीच डर र त्रास पैदा गर्न पेरिस र ब्रसेल्समा यसअघि गराएजस्तो आतंककारी आक्रमण गर्ने बताएको छ ।
कोभिड–१९ महामारी पछिको विश्वको कुरा गर्दा सरकारले प्रतिआतंकवादका क्षेत्रको स्रोतमा गर्दै आएको लगानी स्वास्थ्य क्षेत्रमा लैजान सक्छ । महामारीका लागि कुनै पनि मुलुक पूर्णरूपमा तयार नभएको कोभिड–१९ ले देखाइसकेको छ ।
प्रतिआतंकवादमा गरिएको लगानी अन्यत्र लैजाँदा भविष्यमा मुलुकहरूमा आतंकवादको जोखिम बढ्न सक्छ । त्यसैले यस्तो नहोस् भन्नाका लागि सन्तुलित भएर अघि बढ्नु पर्छ ।
तपाईंलाई कोभिड–१९ महामारीको लाभ उठाउँदै दुष्प्रचार र हिंसालाई प्रोत्साहन गर्नुको उद्देश्य के होला जस्तो लाग्छ ?
उदाहरणका लागि, गोरा जातिलाई सखाप पार्न यहूदी, संयुक्त राष्ट्रसंघ, संघीय सरकार, जर्ज सरोस जस्ता ‘दुश्मन’ हरुले कोभिड–१९ बनाएको श्वेत उग्रवादीहरूले षड्यन्त्र सिद्धान्त फैलाइरहेका छन् ।
अवश्य पनि यो सत्य होइन, तैपनि यस्ता समूहहरुले भय सिर्जना गरी उनीहरूले तोकेको ‘दुश्मन’ विरुद्धको युद्धलाई बढाउन खोजिरहेका छन् ।
कोभिड–१९ को महामारी सकिएसँगै अमेरिकामा आन्तरिकरूपमा खासगरी श्वेत उग्रवादी र अरू किसिमका अतिवादीबाट आतंकवादी आक्रमणको जोखिम रहला ?
हो, श्वेत उग्रवादीहरूबाट ९/११ आक्रमणयताकै सबैभन्दा ठूलो जोखिम छ । कट्टर दक्षिणपन्थी उग्रवादीका गतिविधि भविष्यमा पनि यस्तै रहने स्पष्ट छ ।
उदाहरणका लागि, मिसौरी राज्यमा कोभिड–१९ महामारीकै बीच एकजना श्वेत अतिवादीले हिंसात्मक आक्रमणको योजना बनाउँदै गर्दा सुरक्षा कारबाहीमा मारियो ।
राष्ट्रिय, राज्यतह तथा स्थानीय तहमा प्रहरी तथा आपतकालीन सेवाका मानिसहरूको ध्यान अन्तै गइरहेका बेला हिंसात्मक गतिविधिमा संलग्नका लागि कोभिड–१९ को महामारी गतिलो मौका हुनसक्छ ।
कोभिड–१९ को महामारीपछि धेरै मुलुकहरू यस्ता समस्यामा पर्न सक्छन् । तपाईं कुनै निश्चित अन्तर्राष्ट्रिय वा आन्तरिक आतंकवादको जोखिम देख्नुहुन्छ ?
हो, हामीले कट्टर दक्षिणपन्थीहरूले विश्वका विभिन्न स्थानमा आक्रमण गरेको देखिरहेका छौँ । नयाँ कुरा नभए पनि यो बढ्दो क्रममा रहेको छ ।
विश्वभर पपुलिष्ट सरकारले सत्ता सम्हालेर ‘हामीविरुद्ध उनीहरू’ को भावना अघि सारेको खण्डमा भविष्यमा यो निरन्तर बढिरहने छ ।
विषय बदलौँ, अफगानिस्तान शान्ति सम्झौताप्रति तपाईं कति आशावादी हुनुहुन्छ ?
म त्यस्तो आशावादी त छैन । ट्रम्प प्रशासनले खराब सम्झौता गरेको छ । अफगानिस्तानमा सहयोगका लागि कुनै अन्तर्राष्ट्रिय उपस्थिति नरहेको खण्डमा तालिवानले दुई वर्ष भित्रै पूरै मुलुक कब्जा गर्ने छ ।
अल कायदा र इस्लामिक स्टेटको विश्वव्यापी जोखिमलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
विश्वका लागि दुबै समूहहरू खतरनाक छन् । उनीहरू कतै गएका छैनन् । अल कायदा र इस्लामिक स्टेटलाई परास्त गर्न सरकारले निरन्तर काम गर्नुपर्ने हुन्छ ।
दुर्भाग्यवश यी समूहविरुद्धको अन्तर्राष्ट्रिय साझेदारी घट्दै गइरहेको छ र यही कारणले गर्दा यी समूहहरू ठूलो चुनौतिका रूपमा अघि आउन सक्छन् ।
तर, यी समूहले ९/११ जस्तो ठूलो आक्रमण गर्छन् वा विशाल भूभाग कब्जा गरिहाल्छन् भन्ने मलाई लाग्दैन । अहिले यी समूहहरू लुकेर स–साना आक्रमणहरु गर्दै आएका छन् ।
भविष्य आजको जस्तो नहुन सक्छ । सरकारले ध्यान दिएन भने यी समूहहरु अझ मजबुत हुन सक्छन् ।
के कोभिड–१९ ले अमेरिकाको विश्वव्यापी सहकार्य र नेतृत्व क्षमतालाई सीमित बनाउला ?
हो । खासगरी यदी राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बर महिनाको चुनाव जिते भने यस्तो अवस्था आउन सक्छ । यदि पूर्व उपराष्ट्रपति जो बाइडेनले चुनाव जिते भने चाहिँ अमेरिका विश्वका अन्य मुलुकहरूसँग सिर्जनात्मक रूपमा सहकार्य गर्ला भनेर अपेक्षा गर्न सकिन्छ ।
उदाहरणका लागि, म बाइडेन प्रशासनले विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएको आर्थिक सहायता रोक्का गर्ने अवस्था कल्पना गर्न सक्दिनँ ।
प्रतिक्रिया