सूचना र सञ्चार जगतमा भएको विकासका कारण समाज विकासको मार्ग फरक तरीकाबाट कोरिन थालेको छ । इन्टरनेटको उपयोगले धेरै क्षेत्रमा युगान्तरकारी परिवर्तन भएको छ । यससँगै सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या दिन प्रतिदिन रफ्तारमा बढ्दै छ ।
यो निकै सकारात्मक कुरा हो । जति धेरै मानिसमा सूचना र सञ्चारको पहुँच बढ्छ उति नै शिक्षा, स्वास्थ्य, वातावरण आदि क्षेत्रमा सामाजिक चेतनाको स्तर पनि बढ्छ । यससँगै मानिसले समाजमा विकास र सुशासनको लागि खबरदारी पनि गर्न सक्छ ।
सामाजिक सञ्जाल भौगोलिकरूपमा जतिसुकै टाढाबाट पनि एक अर्कासँग सजिलै जोडिने माध्यम बनेको छ । अन्तर्राष्ट्रिय समाचार होस् वा व्यक्तिगत खबर, सामाजिक सञ्जालमार्फत छिनभरमा धेरैको हातमा पुग्छ । सरकारी वा गैरसरकारी निकायबाट प्रेषित हुने समाचार, जानकारी, सूचना, गतिविधि आदि सामाजिक सञ्जालमार्फत नै बाहिर आउन थालेका छन् । निःशुल्क वा कम खर्चमा धेरैभन्दा धेरै मानिसलाई सूचना र जानकारी दिने माध्यम बनेको छ सामाजिक सञ्जाल ।
आज नेपालको शहरी क्षेत्रमा मात्र होइन, देशको अधिकांश क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध छ । सामान्य आर्थिक हैसियत हुने सबैले हातमा मोबाइल फोन बोक्न असम्भव छैन । जहाँ मोबाइल फोन र इन्टरनेट सेवा उपलब्ध छ त्यहाँ सजिलै सामाजिक सञ्जाल पुग्ने नै भयो । यसको व्यापकता नेपालका गाउँ, शहर जतासुकै बढेको छ ।
सामाजिक सञ्जालको व्यापकता बढेको अनुपातमा यसको दुरुपयोग रोक्न सामाजिक चेतना भने बढेको छैन । हेर्दा र प्रयोग गर्दा सामाजिक सञ्जाल सरल छ । केही सामग्री तयार पार्यो, लेख्यो र पोष्ट गर्यो । तुरुन्त सार्वजनिक हुन्छ । सबैको सामु पुग्छ । कल गर्यो वा सन्देश पठायो, तुरुन्तै पुग्ने वा कुरा गर्न पाइने हुन्छ ।
हरेक मानिसलाई श्रव्यदृश्य सामग्री, सूचना, लेखरचना, समाचार आदि मार्फत आफैँमा समाचार प्रसारक, सम्पादक, संवाददाता, प्रकाशक, कलाकार, निर्माता, निर्देशक, फोटोग्राफर आदि बन्ने मौका पनि सामाजिक सञ्जालले दिएको छ ।
आज सामाजिक सञ्जालहरूमध्ये पनि कुन के कामका लागि प्रयोग गर्ने त्यसका अनेक विकल्पहरू छन् । नाम चलेका सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, ट्वीटर, इन्स्टाग्राम, लिङ्क्डइन आदिमध्ये कुन प्रयोजनअनुसार छनौट गर्ने सुविधा छ ।
सामाजिक सञ्जालको पहुँच र उपयोग गर्ने क्षमता भएर पनि प्रयोग नगर्ने मानिस एकलकाँटे जस्तै मानिन्छ । कुनै व्यक्ति किन सामाजिक सञ्जाल प्रयोग गर्दैन भन्ने प्रश्नसमेत उठ्ने गरेको छ । एउटै मानिसले बिहान उठेदेखि राति नसुतेसम्म सामाजिक सञ्जालको प्रयोग धेरै पटक गर्छ । फुर्सदको साथी, सूचना र मनोरञ्जनको माध्यम, समाचारको स्रोत, साथीभाइसँग भेटघाट गर्ने माध्यम आदि बनेको छ सामाजिक सञ्जाल ।
नेपालमा मात्रै होइन सामाजिक सञ्जालमा विश्वव्यापीरूपमा ‘फेक न्युज’ अर्थात ‘झुठो समाचार’ चुनौतीको रूपमा देखापरेको छ । त्यसैगरी उद्योगधन्दा, व्यवसाय, अर्थतन्त्र, समाज, परिवार र व्यक्तिगत तहमा पनि सामाजिक सञ्जालसँग सम्बन्धित र साइबर क्राइमका घटनाहरू प्रशस्तै सुन्न र पढ्न पाइन्छ । सामाजिक सञ्जालको दुरुपयोगले पारिवारिक विखण्डन हुने खालका सामाजिक अपराधका घटनाहरु पनि हुने गरेका छन् ।
अहिले कोरोनाको महामारी फैलिएको अवस्थामा यसको रोकथाम र उपचारको लागि सामाजिक सञ्जालमा विभिन्न खालका जानकारी र समाचार प्रेषित भएका छन् । यीमध्ये कतिपय विज्ञले भनेका जानकारी छन् भने कतिपय मनगढन्ते र भ्रामक खालका छन् । यसले सर्वसाधारण जनतामा भ्रम र अविश्वासको वातावरण पनि सृजना गरेको छ । के कुरा सही र के कुरा गलत भन्ने कसरी थाहा पाउने, यो निकै कठिन भएको छ ।
साधारण मानिसले सामाजिक सञ्जालमा आउने सबै किसिमको जानकारीको आधिकारिकता प्रमाणित गर्न सजिलो छैन । यो काम कहिलेकाहीँ सञ्चार र इन्टरनेटको प्राविधिक क्षेत्रमा काम गर्ने विज्ञलाई पनि कठिन हुन्छ । त्यसैले वेला वेलामा ‘फेक न्युज’ ले पनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने उदाहरणहरू प्रसस्त छन् ।
नेपालमा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता, जो कम पढेलेखेका छन्, इन्टरनेटमार्फत मोबाइल वा कम्प्युटरमा आउने सबै कुरा सही हो भन्ने भ्रममा पनि परेका छन् । नेपालजस्तो अविकसित र स्रोतसाधन कम भएको मुलुकका लागि यो निकै चुनौतीको विषय हो ।
सामाजिक सञ्जालले आम सञ्चारलाई पुनः परिभाषित गरेको छ भने यसको क्षेत्र पनि विस्तार गरेको छ । सामाजिक सञ्जाल सबैको पहुँचमा सजिलै पुग्ने, व्यापक प्रयोग गर्ने र सबैले निःशुल्क वा कम खर्चमा प्रयोग गर्न पाउने अवस्था छ ।
यस अर्थमा सामाजिक सञ्जाल ‘आम सामाजिक सञ्जाल’ बन्न पुगेको छ । जति यसको क्षेत्र विस्तारसँगै चुनौती पनि बढ्दै गएको छ । सामाजिक सञ्जालले अहिले राजनीति, समाज र अर्थतन्त्रलाई नै चुनौती दिन सक्ने अवस्था आएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ता, नियामक निकाय र सरकार सबै यसको प्रयोग र नियमनमा संवेदनशील हुनु जरुरी छ ।
सामाजिक सञ्जाल आजको युगको प्रभावकारी सूचना र सञ्चारको माध्यम बनेको छ । यसमा देखिने केही चुनौतीहरूलाई सबै पक्षबाट व्यवस्थापन गर्ने र सामाजिक सञ्जालको सही प्रयोगको लागि जनचेतनाको स्तर बढाउने हो भने सामाजिक सञ्जाल समाजको हितमा हुने कुरा द्विविधा छैन ।
यो स्वाभाविक हो, जुनसुकै क्षेत्रको पनि राम्रो र नराम्रो दुवै पक्ष हुन्छ । जुन कुरा व्यापकरूपमा प्रयोग हुन्छ, त्यसको दुरुपयोग हुने सम्भावना पनि बढी नै हुन्छ । कुनै प्रविधिको जति धेरै प्रयोगकर्ता हुन्छन् त्यति नै धेरै विचार, सोचाइ र तर्क वितर्क उत्पन्न हुन्छ । जति बढी सम्भावना हुन्छ, त्यसको अनुपातमा जोखिम पनि बढी नै हुन सक्छ ।
हरेक क्षेत्रमा यस्ता जोखिम न्यूनीकरण गर्न सरकार, निजीक्षेत्र, सम्बन्धित निकाय, प्रयोगकर्ता, सञ्चारमाध्यम आदि सबैको सकारात्मक भूमिका आवश्यक पर्छ ।
सामाजिक सञ्जालको व्यापकता बढेको अनुपातमा यसको दुरुपयोग रोक्न सामाजिक चेतना भने बढेको छैन । हेर्दा र प्रयोग गर्दा सामाजिक सञ्जाल सरल छ । केही सामग्री तयार पार्यो, लेख्यो र पोष्ट गर्यो । तुरुन्त सार्वजनिक हुन्छ । सबैको सामु पुग्छ । कल गर्यो वा सन्देश पठायो, तुरुन्तै पुग्ने वा कुरा गर्न पाइने हुन्छ ।
यसको प्राविधिक पक्ष भने त्यति सजिलो छैन । सामाजिक सञ्जालसँग धेरै प्राविधिक, कानुनी, आर्थिक, सामाजिक, भावनात्मक पक्ष आदि जोडिएको हुन्छ, जो सबै प्रयोगकर्ताले बुझ्ने किसिमको हुँदैन । धेरै जसो यी सबै पक्षहरूलाई जान्ने र बुझ्नेले नै यसको दुरुपयोग गरेका हुन्छन् ।
नेपालको सन्दर्भमा सामाजिक सञ्जालको उपयोगबाट हुने अपराध अनुसन्धान गर्न र जोखिम न्यून गर्न पर्याप्त स्रोतसाधनको व्यवस्था गर्नु पर्छ । देशमा आवश्यक नियम र कानूनको तर्जुमा गरी लागु गर्नुपर्ने हुन्छ । साइबर क्राइमसँग सम्बन्धित अपराध अनुसन्धान गर्न हरेक जिल्लामा साइबर क्राइम अनुसन्धान युनिट गठन हुनुपर्ने हो ।
त्यति मात्रै होइन, यी सबै कामको लागि सरकारी निकायहरू बीचमा राम्रो समन्वय र सहयोग हुनु जरुरी हुन्छ । कतिपय अवस्थामा अन्तर्राष्ट्रियस्तरमा समन्वय हुनुपर्छ, जुन आफैँमा चुनौतीपूर्ण काम हो । यी सबैका बाबजुद पनि साइबर सामाजिक सञ्जाल र साइबर क्राइमसँग सम्बन्धित घटनाहरूमा केही हदसम्म नेपालले सफलता हासिल गरेको छ, जुन सकारात्मक पक्ष हो ।
सामाजिक सञ्जाल आजको युगको प्रभावकारी सूचना र सञ्चारको माध्यम बनेको छ । यसमा देखिने केही चुनौतीहरूलाई सबै पक्षबाट व्यवस्थापन गर्ने र सामाजिक सञ्जालको सही प्रयोगको लागि जनचेतनाको स्तर बढाउने हो भने सामाजिक सञ्जाल समाजको हितमा हुने कुरा द्विविधा छैन ।
(डा. कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा वरिष्ठ व्यवस्थापक र आर्डेंन विश्वविद्यालय, लण्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह प्राध्यापक हुन् ।)
प्रतिक्रिया