मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन ।

आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी लोकमार्गको रेखाकंन प्रस्ताव वि.स. २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

तत्कालीन समयमा आर्थिक वर्ष ०७४/०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कामले गति लिन नसक्दा निर्धारित समय गुज्रेपनि आधासम्म काम भएको छैन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो मार्गलाई पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम दिइएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो मार्ग हो ।

कुल १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ८ सय २ किलोमिटरमात्र कालोपत्रे भएको छ ।

१० वर्षमा ४२ अर्ब खर्च

अहिले पूर्व–पश्चिम लोकमार्गको काम १ हजार ८ सय ७९ किलोमटिर सडकमा काम भइरहेको छ । जसमा हालसम्म ४२ अर्ब रकम खर्च भइसकेको छ ।

सरकारले आर्थिक वर्ष २०६४/०६५ मा ३९ करोड २१ लाख विनियोजन गरेकोमा ३ करोड ५० लाख खर्च भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०६५/०६६ मा ३२ करोड ७८ लाख विनियोजन भएकोमा २९ करोड ७५ लाख खर्च भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०६६/०६७ मा १ अर्ब ४२ करोड ८१ हजार विनियोजन भएकोमा ९४ करोड ७१ लाख खर्च भएको छ ।

आर्थिक वर्ष ०६७/०६८ मा १ अर्ब ३४ करोड विनियोजन गरेकामा १ अर्ब ३३ करोड खर्च भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०६८/०६९ मा १ अर्ब ८५ करोड ३५ लाख विनियोजन भएकोमा १ अर्ब ८३ करोड खर्च भएको थियो । त्यस्तै आर्थिक वर्ष २०६९/०७० मा २ अर्ब ३० करोड बजेट विनियोजन भएकोमा २ अर्ब २८ करोड खर्च भएको थियो ।

आर्थिक वर्ष २०७०/०७१ मा २ अर्ब ३० करोड विनियोजित भएकोमा २ अर्ब ३० नै खर्च भएको देखिन्छ भने ०७१/०७२ मा पनि ३ अर्ब ३९ करोड विनियोजन रकममा सबै खर्च भएको देखिन्छ ।

त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा ३ अर्ब २० करोड ३६ लाख, ०७३/०७४ मा ५ अर्ब २० करोड ७५ लाख, ०७४/०७५ मा ७ अर्ब ९९ करोड ५ लाख र ०७५/०७६ मा ११ अर्ब ७७ करोड विनियोजन गरेको थियो ।

गत आर्थिक वर्षसम्मको विवरण हेर्दा यो आयोजनामा ३९ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा

चालु आर्थिक वर्ष २०७६/७७ मा यस आयोजनामा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोजन गरिएको छ । समीक्षा अवधीसम्म २ अर्ब ४८ करोड ६२ लाख खर्च भएको देखिन्छ ।

कुल विनियोजनको ९९ प्रतिशत रकम खर्च भइरहेको विभागले जनाएको छ । यस आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रहेकोमा संशोधित कुल लागत करिब ८४ अर्ब ३३ करोड पुगेको छ ।

त्यस्तै समीक्षा अवधीमा २८ किलोमिटर सडक कालोपत्रे भएको र ३४ किलोमिटर सडक निर्माणको ठेक्का सम्झौता भएको छ ।

त्यस्तै ५५ किलोमिटर सडक निर्माणको ठेक्का व्यवस्थापन भने अन्तिम चरणमा रहेको छ ।

६७ पुल बने, अब ६२ वटा बन्न बाँकी

१ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा १ सय २९ पुल बन्नेछन् । जसमध्ये हालसम्म ६७ वटा पुल बनिसकेका छन् ।

केही २५ वटा निर्माणधीन चरणमा छन् भने बाँकी ठेक्कामा जाने प्रक्रियामा छन् ।

अपेक्षाअनुसार भएन काम

लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न नसक्नुमा विभिन्न कारण रहेको बताउँछन् सडक विभागका सूचना अधिकारी शिवहरी सापकोटा ।

‘ठाउँ–ठाउँमा स्थानीयको अवरोधका कारण काम हुन सकेको छैन्,’ सापकोटाले भने, ‘मुआब्जा वितरणकै कामले पनि केही पछाडी धकेलिएको छ ।’

तर बजेटको अभाव भने नभएको उनले बताए । सापकोटाले भने, ‘राष्ट्रकै गौरवको आयोजना भएकाले नेपाल सरकारको तर्फबाट बजेट भने पर्याप्त मात्रामा आइरहेको छ ।’

‘बजेटको अभाव छैन तर केही प्राविधिक समस्याहरु छन्’ खबरहबसँग उनले भने, ‘कतिपय ठाउँमा निर्माण व्यवसायीले पनि तीव्र गतिमा काम गर्न सकेका छैनन । त्यसले पनि केही ढिलाई भएको छ ।’

४ वर्षमा निर्माण सक्न चुनौती

सापकोटाले मध्यपहाडी लोकमार्गको निर्माण कार्य १५ औं पञ्चवर्षीय योजनाको लक्ष्यअनुरुप आर्थिक वर्ष २०७९/०८० भित्र सम्पन्न गरिसक्ने बताए ।

सापकोटाले गत आर्थिक वर्ष २०७५/०७६ मा १ सय ९२ किलोमिटर कालोपत्र गरेको बताउँदै यो आर्थिक वर्षमा ३ सय ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिए ।

अहिलेसम्मको प्रगति हेर्दा १ हजार ७ सय ७९ किलोमिटर सडकमा ८ सय दुई किलोमिटर मात्र कालोपत्रे सम्पन्न भएको छ ।

अझै ९ सय ६७ किलोमिटर सडक कालोपत्रे बाँकी नै छ भने विभिन्न कारणले कतिपय स्थानमा काम रोकिएको पनि छ । यो लोकमार्गको हालसम्मको प्रगति हेर्दा अबको ४ वर्षभित्रमा काम सम्पन्न हुनेमा विश्वस्त हुने सम्भावना कम छ ।

लोकमार्गमा जोडिने जिल्ला

यो लोकमार्गले पूर्वका पाँचथर, तेहथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

त्यसैगरी काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडीलाई यस लोकमार्गले समेट्ने विभागले जनाएको छ ।

यो सडक निर्माणबाट मध्यपहाडी भूभागको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक लगायतका क्षेत्रको सन्तुलित विकास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : २७ बजे

विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण

कञ्चनपुर– विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कञ्चनपुरका नौ वटै

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले