चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत प्रदान | Khabarhub Khabarhub

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत प्रदान


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- माघ १३ गते चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेको छ ।

कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाउने बालकको परिवारलाई आज घरमै पुगेर राहत रकमबापतको रु नौ लाख ५० हजारको चेक प्रदान गरेको हो ।

कार्यालयका प्रमुख केदार बराल र बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरुपमा उक्त चेक मृतकका बाबु सुकबहादुर सुनार र आमा पवित्रा सुनारलाई हस्तान्तरण गरे ।

कार्यालयले घटना लगत्तै किरिया खर्चबापत रु ५० हजार र बन्दीपुर गाउँपालिकाले रु ५० हजार उपलब्ध गराएको थियो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई राहत रकम प्रदान गरिएको बरालले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले अझै पनि यस क्षेत्रमा चितुवाको त्रास रहेकाले अभिभावकले विशेष ख्याल गर्नुपर्नेमा जोड दिँदै भने, “साँझको बेलामा बालबालिकालाई बाहिर निस्कन नदिऔँ ।”

डिभिजन वन कार्यालयका प्रमुख बरालले जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने र घाइते हुने क्रम रहेकाले बालबालिका जोगाउन अभिभावकले ध्यान दिनुपर्नेमा बरालले जोड दिए ।

गत माघ १३ गते आमासँग विवाह भोज खाएर फर्कदै गरेको अवस्थामा चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको थियो । घर नजिकै पुग्ने बेलामा आक्रमणमा परेको बालकको शव घरभन्दा ८० मिटर टाढा खोल्सामा फेला परेको थियो ।

दुई दिन अघि चैत ३ गतेमात्रै चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा २१ महीनाकी संस्कृति न्यौपाने घाइते भएकी थिइन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । त्यस्तै फागुन २८ गते चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा ७ वर्षीय अनुप नेपाली घाइते भएका थिए । उनको पनि अवस्था सुधारोन्मुख छ ।

चितुवाको आक्रमणबाट तनहुँमा विसं २०७४ फागुन यता नौ बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये सात जना बालबालिकालाई राहतबापतको रकम प्रदान गरिएको र शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रवीन नेपाली र आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगरको परिवारलाई राहत प्रदान गर्न बाँकी रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । बाँकी दुई बालकको परिवारलाई पनि छिट्टै राहतबापतको रकम प्रदान गरिनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ४५ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित