समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड | Khabarhub Khabarhub

समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ ।

प्रगतिशील लेखक संघले आज भर्चुअलरूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती’ विषयक परिसंवादको ३४औँ शृङ्खलामा विश्लेषक श्याम श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र र शक्तिहरुबीच अन्तरविरोध हुनु आवश्यक भए पनि सबैले रुपान्तरित भएर साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए ।

उनले कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा र स्वास्थ्यमा क्रान्ति कसरी गर्ने भन्नेमा वर्तमान कम्युनिष्ट सरकार र ठूलो कम्युनिष्ट दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बहस हुनुपर्नेमा जोड दिए ।

उनले भने, “एक जनालाई कुर्सीबाट हटाएर अर्काेलाई ल्याउनुपर्छ भन्ने मात्रै बहस छ, यस्तो बहसले कहीँ पुर्‍याउँदैन । मुलुकको रुपान्तरणका लागि नेकपाका लागि यो ठूलो अवसर हो, सरकारले बोलीमा मात्र नभई व्यवहारमै समाजवादोन्मुख कार्यक्रमलाई अगाडि नबढाए यो अवसर गुम्न सक्नेछ । कम्युनिष्टहरु रातो मूलाजस्तो बाहिर रातो र भित्र सेतो नभई बाहिर र भित्र पनि रातो हुने गाजरजस्तो हुनुपर्छ ।”

भाषा, संस्कृति र बजारमा सामन्तवाद र उपभोक्तावाद हाबी भइरहेको जनाउँदै श्रेष्ठले दृष्टिकोणमा ऐतिहासिक भौतिकवादी, चरित्रमा समाजवादी, व्यक्तिगत सम्पत्ति र अन्धविश्वासमा नअडिएर सामूहिकता र वैज्ञानिकतालाई मान्ने, मानव–मानवबीच भेदभाव नगर्ने र झुटो आश्वासन नदिनेलाई मात्रै कम्युनिष्ट पार्टीमा सदस्य बनाउनुपर्नेमा नेपालमा जसले पनि कम्युनिष्ट पार्टीको सदस्य पाउने स्थितिले भ्रष्ट पूँजीवादमा फसाउने उल्लेख गरे ।

श्रेष्ठले विज्ञानका क्षेत्रमा धेरै विकास भए पनि लेनिनपछि मार्क्सवादी दर्शनका क्षेत्रमा कुनै विकास नभएको पनि बताए ।

संघका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कृषि, शिक्षा र स्वास्थ्यमा रुपान्तरण अहिलेको आवश्यकता हो भन्दै सत्तामा रहेकाहरुको आँखा खोल्ने काम बुद्धिजीवी र प्रगतिशीलहरुको हुने भएकाले यस प्रकारको पहललाई निरन्तर राख्नुपर्ने बताए ।

उनले धेरै ठूलो संघर्षपछि झण्डै दुईतिहाइको सरकार बनेकाले यसले राष्ट्रियता र केही अन्य पक्षमा राम्रा काम गरेको र केही सुधारका काम हुन बाँकी रहेको स्थितिमा वर्तमान सरकारलाई किनारा लगाइहाल्ने सोच सही नहुने बताए ।

संघका उपाध्यक्ष एवं चिन्तक गोपीरमण उपाध्यायले नयाँ संविधान जारी भएको पाँच वर्ष भइसकेको सन्दर्भमा समाजवादी ध्येयका आधारमा दर्शन, साहित्य, कला, राजनीति र सबै क्षेत्रलाई बहसमा ल्याउनुपर्नेमा जोड दिए ।

संघका महासचिव समीर सिंहले मुलुकमा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने ? सांस्कृतिक रुपान्तरण कसरी गर्ने ? कम्युनिष्ट हुन पार्टीको सदस्य बन्नैपर्छ कि पर्दैन ? कम्युनिष्ट भएर तडकभडकयुक्त र खर्चिलो सामाजिक काम गर्ने कि नगर्ने ? नास्तिक र भौतिकवादीबीचको भिन्नता के हो ? आदि प्रश्नमा वैचारिक बहस गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ५ : ३३ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले