काठमाडौं- नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ ।
डेढ महिनाको समय दिएर राष्ट्र बैंकले त्यस्तो आवेदन आह्वान गरेको हो । सोमबारदेखि खुला भएको आवेदनका लागि असोज १४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । सस्तो ब्याजदका कुल एक सय अर्बसम्म ऋण प्रवाह गर्ने भएकोले राष्ट्र बैंकको यो आह्वानलाई महत्त्वपूर्ण मानिएको छ ।
राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले मौद्रिक नीतिले व्यवस्था गरेबमोजिम कोभिड प्रभावित उद्योग व्यवसायलाई सहुलियत दिएर पुनरुत्थान गर्ने हिसाबले यस्तो कार्यविधि ल्याइएको बताए ।
उनले भने, ‘कोभिड–१९ बाट प्रभावित उद्योगलाई सहुलियत ब्याजदरमा कर्जाको स्रोत उपलब्ध गराउने मौद्रिक नीतिको लक्ष्य अनुरुप पुनर्कर्जाको लागि आह्वान गरिएको हो ।’
के हो पुनर्कर्जा ?
बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्रमा ऋण प्रवाह गरेबापत राष्ट्र बैंकले बैंकहरुलाइ दिइने कर्जा नै पुनर्कर्जा हो । राष्ट्र बैंकले अहिले ३ भागमा वर्गीकरण गरेर पुनर्कर्जा वितरण गर्नेगरी कार्याविधि ल्याएको छ ।
सो कार्यविधिले लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी तीन प्रकारले यस्तो कर्जा प्रवाह गर्न लागेको हो ।
लघु घरेलु तथा साना उद्योग पुनर्कर्जाबापत १५ लाख रुपैयाँसम्मको पुनर्कर्जा दिन्छ । यसमा नेपाल राष्ट्र बैंकले बैंकहरुसँग २ प्रतिशत ब्याजदर लिन्छ भने बैंकहरुले ग्राहकलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गरिएको छ ।
त्यस्तै, विशेष पुनर्कर्जा निर्यातजन्य उद्योग, महिला तथा अपांग व्यक्तिले सञ्चालन गरेको उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित उद्योगहरुलाई प्रदान गरिन्छ । यस्तो पुनर्कर्जाबापत राष्ट्र बैंकले बैंकहरुसँग १ प्रतिशत ब्याजदर लिन्छ भने बैंकहरुले ३ प्रतिशतमा लगानी गर्नुपर्नेछ ।
साधारण पुनर्कर्जाको लागि भने राष्ट्र बैंकले बैंकहरुसँग ३ प्रतिशत लिनेछ भने बैंकहरुले ग्राहकसँग ५ प्रतिशत ब्याज लिएर कर्जा प्रवाह गर्नुपर्नेछ । विशेष र साधारण पुनर्कर्जाको सीमा २० करोड तोकिएको छ ।
यसलाई पनि २ भागमा वर्गीकरण गरिएको छ । ग्राहकलाई एकमुष्ट रुपमा प्रवाह हुने कर्जाको सीमा ५ करोडमात्रै हुनेछ । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी दिइने पुनर्कर्जाको सीमा २० करोडसम्म हुने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले अहिले एकमुष्ट रुपमा प्रवाह हुने पुनर्कर्जाका लागि मात्रै आवेदन खुला गरेकोले यसको अधिकतम सीमा ५ करोडसम्म मात्रै हुनेछ ।
को हुन पुनर्कर्जाका लाभग्राही ?
राष्ट्र बैंकले यसपटक कोभिड प्रभावित उद्यमीहरुलाई मात्रै पुनर्कर्जा दिने व्यवस्था गरेको छ । यसअन्तर्गत राष्ट्र बैंकले तोकेको अति प्रभावित, मध्यम प्रभावित क्षेत्रका उद्यमीहरुले यसका लागि आवेदन दिनसक्ने कार्यकारी निर्देशक ढकालले बताए । त्यसरी प्राप्त आवेदनमध्ये उच्च प्रभावितलाई बढी प्राथमिकता दिएर पुनर्कर्जा प्रवाह हुने उनले बताए ।
बैंकले पर्यटन, हवाई क्षेत्र, मोरञ्जन पार्क, क्रियसन, सिनेमा हल, पार्टी प्यालेस, तरकारी, फलफुल, मासुजन्य तथा दानाजन्य उद्योग, तयारी पोशाक, वैदेशिक रोजगारी जस्ता क्षेत्रलाई अति प्रभावित सूचीमा राखेको छ ।
त्यस्तै, धेरै खप्ने प्लाष्टिक, फलाम स्टिल लगायत घरायसी उपकरण बनाउने उद्योग, निजी तथा आवासीय विद्यालय, कलेज, विश्वविद्यालय, यात्रुवाहक स्थल यातायात, भण्डारण, निर्माण व्यवसाय, छपाई तथा प्रकाशनगृह, जलविद्युत् आयोजना लगायतलाई मध्यम प्रभावित सूचीमा राखिएको छ ।
नयाँ ऋणमा पुनर्कर्जा नदिइने
राष्ट्र बैंकले नयाँ ऋणमा भने पुनर्कर्जा नदिने भएको छ । यसअघि बैंकबाट ऋण नलिएका तर कोभिड–१९ बाट प्रभावित भएर रुग्ण अवस्थामा पुगेका उद्योगहरुको पुनर्सञ्चालनका लागि समेत पुनर्कर्जाले लाभान्वित गर्ने अपेक्षाका बाबजुद हालसम्म प्रवाहित गर्ने कर्जामा मात्रै पुनर्कर्जा प्रवाह गर्ने नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको हो ।
कार्यकारी निर्देशक ढकालले पुनर्कर्जाका लागि आवेदन गर्ने ऋणी बैंकको विद्यमान ऋणी हुनुपर्ने प्रावधान भएकोले नयाँ ऋणीले यसमा सहभागिता जनाउन नपाउने बताए ।
‘हामीले कोभिड प्रभावित ऋणमा मात्रै पुनर्कर्जा दिने भनेका छौं । नयाँ ऋणका लागि यो व्यवस्था आकर्षित हुँदैन । त्यसका लागि सहुलियतपूर्ण कर्जाका व्यवस्थाहरु छन् । यसले अहिले प्रवाह भइसकेका ऋणको लागि मात्रै सम्बोधन गर्छ,’ ढकालले भने ।
कसरी गर्ने आवेदन ?
अहिले बैंकमा ऋण बाँकी रहेका आवेदकले आफूले ऋण लिएको बैंकमार्फत् आफूले चाहेको ऋणको लागि आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । १५ लाख वा सोभन्दा कम कर्जा भएका तोकिएका क्षेत्रका उद्यमीले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
त्यसभन्दा धेरै ऋणका लागि साधारण वा विशेष पुनर्कर्जा अन्तर्गत आवेदन दिनसक्ने जनाइएको छ । यसरी दिइएको आवेदनलाई छनौट गर्दा कोभिड–१९ को प्रभावका साथै क्षेत्रगत सन्तुलनलाई समेत विचार गरेर प्रवाह गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया