६८औँ जन्मदिन जन्मथलोमै मनाउन खोजेपछि प्रधानमन्त्री ओलीको जन्मघरसम्म पुर्‍याइयो बाटो | Khabarhub Khabarhub

६८औँ जन्मदिन जन्मथलोमै मनाउन खोजेपछि प्रधानमन्त्री ओलीको जन्मघरसम्म पुर्‍याइयो बाटो


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक/सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो ।

आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि अघि बढेको छ । बसाइँसराइले उजाडिएका आठराई उजिल्याउन चुहानडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ ।

यही आठराई गाउँपालिकाको छातेढुङ्गाबाट मध्यपहाडी लोकमार्ग छोडेर नौ किलोमिटर जति यात्रा गरेपछि मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो पुगिन्छ ।

प्रधानमन्त्री ओली जन्मे हुर्केको, पञ्चायत विरुद्धको आन्दोलनको चेतना पाएको र क्रान्तिमा सम्मिलित भएको ठाउँ पनि आठराई नै हो । प्रधानमन्त्री ओलीले विभिन्न सन्दर्भ र कुराकानीमा आठराईसँग जोडिएका प्रसङ्गहरु सुनाउने गरेका छन् ।

केही महिना अघिसम्म मुलुकका कार्यकारी प्रमुखको जन्मघरसम्म मोटरबाटो पुगेको थिएन ।

भर्खरै उनको जन्मघरसम्म साङ्घुरै भए पनि मोटरबाटो पुर्‍याइएको छ । गत साता मध्यपहाडी लोकमार्गको अवलोकनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली आठराईको छातेढुङ्गाको हात्तिपोखरीबाट ओलीको जन्मघरतर्फ प्रस्थान गर्यो ।

निकै कष्टसाथ करीब ६ किलोमिटर दूरी पार भयो तर, त्यसपछि सवारीसाधन अघि बढाउने अवस्था भएन । सवारी चालकहरु भन्दै थिए – “यो बाटोमा राम्रोसँग घुम्ती मोड्न पनि पुग्दैन ।”

अघिल्लो रात पानी परेकाले आठराई गाउँपालिका–४ इवाको रातो माटोमा सवारी अघि बढ्न सकेनन् । घुम्तीमा गाडी भासिने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले गाडी अघि नबढाउन भने ।

गाडीबाट उत्रेर उनी पैदल अघि बढे । हिलाम्ये बाटोमा राम्रोसँग हिँड्न मिल्ने अवस्था थिएन । उनको साथमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक अशोककुमार शर्मा, सांसद्द्वय भवानीप्रसाद खापुङ र घनश्याम खतिवडा पछि लाग्नुभयो । मन्त्रालयसँग करीब रु डेढ खर्बको विकास बजेट छ ।

केही समथर ठाउँमा छ प्रधानमन्त्री ओलीको जन्मघर । उनको जन्मघरलाई आठराई क्षेत्रलाई जस्तै उज्यालो पार्ने प्रयत्न भइरहेको छ ।

विकासको गतिले उज्यालो बनाउन मद्दत पनि पुगिरहेको छ तर, सिङ्गो गाउँ भने उजाड छ । बसाइँसराइले अलि वरपरका पाखाबारीहरु समेत बाँझिन थालेका छन् । पारिपट्टि पाँचथरको हिलिहाङमा मध्यपहाडी लोकमार्ग र तमोर कोरिडोरको ठूलो ट्र्याक देखिए पनि प्रधानमन्त्रीको गाउँ भने सुनसान छ । “गाउँमा पातलो मात्रै मान्छे भेटिने रहेछन्,” तेह्रथुमका सांसद भवानीप्रसाद खापुङले भने । पूर्वी पहाडबाट हुने बढ्दो बसाइँसराइको मारमा प्रधानमन्त्रीको गाउँ समेत परेको छ ।

खरले छाएको, ढुङ्गा, माटो र काठले बनेको प्रधानमन्त्री जन्मेको घर अघिल्तिर उनकै परिवारजनले टिनको छानो भएको ठूलो घर निर्माण गरेका छन् । यी दुई घरभन्दा करीब ५० मिटर पर प्रधानमन्त्री ओलीको व्यक्तिगत लगानीमा हालै मात्र हेलिप्याड निर्माण सम्पन्न भएको छ । त्यहाँसम्म सानो कच्ची बाटो पुगेको छ ।

“सबै मानिसहरुले तेह्रथुममा, आठराईमा केही हुन्छ भने अहिले हुन्छ भन्ने गरेका छन्, यही धर्तीको छोरो यो देशको कार्यकारी प्रमुख हुनुहुन्छ”, सांसद खापुङले भने – “केही होला भन्ने आशा पलाउन थालेको छ । भर्खर त प्रधानमन्त्रीज्यूको घरसम्म बाटो पुग्दैछ ।”

प्रधानमन्त्रीले आगामी फागुन ११ गते आफ्नो ६८औँ जन्मदिन मनाउन जन्मथलो आउने मनसाय ब्यक्त गरेपछि पूर्वाधार निर्माणको कार्य भइरहेको स्थानीयवासीको भनाइ छ ।

पहाडहरु कसरी उजाडिँदैछन् भन्ने राम्रो प्रमाण प्रधानमन्त्री स्वयं जन्मेको गाउँले देखाउँछ । बारीमा सुन्तलाका रुखहरु छन् ।

पुराना रुखहरु सुक्दै गएका छन् तर, नयाँ बिरुवा हुर्किएको पाइन्न । गाउँमा काम गर्ने मान्छे नै नभेटिने अवस्था रहेकाले यस्तो स्थिति आएको स्थानीयवासी बताउँछन् ।

दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको जन्मघरमा भर्खरै सडकको ट्र्याक पुगेको छ भने अरु गाउँहरुको हालत यसै बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : १९ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल