प्रजातन्त्र स्थापनाका लागि लड्दा बल्लतल्ल ज्यान जोगाइयो - विश्वबन्धु थापा (अन्तर्वार्ता) | Khabarhub Khabarhub

प्रजातन्त्र स्थापनाका लागि लड्दा बल्लतल्ल ज्यान जोगाइयो – विश्वबन्धु थापा (अन्तर्वार्ता)



फागुन ७, नेपालमा प्रजातन्त्र स्थापनाको दिन । २००७ सालमा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्र स्थापना भएको फागुन ७ नै भएकाले विशेष मानिन्छ ।

जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाका लागि नेपाली आमाका धेरै सपूतले जीवन उत्सर्ग गरे । कयौंले आफ्नो ज्यान जोखिमा समेत राखे ।

प्रजातन्त्र स्थापनाका लागि ज्यान दाउमा राखेर आन्दोलनमा होमिएका पात्र मध्येमा पर्छन् विश्वबन्धु थापा । ९३ वर्षका थापा वीपी कोइरालाका विश्वास पात्र मानिन्थे ।

२०१७ सालको कू राजा महेन्द्रको महत्वकांक्षाले भएको बताउने थापासँग हामीले नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा भएका आन्दोलन, नेपालमा भइरहेको प्रजातन्त्रको अभ्यास लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

आज प्रजातन्त्र दिवस । २००७ सालको आन्दोलनलाई कसरी सम्झिनुहुन्छ ? तपाई त आन्दोलनमा सहभागी भएको व्यक्ति पनि हुनुहुन्छ ?

हामीहरु गोरखाबाट भारतमा गएका परिवार थियौं । कारणबश गोरखामा बस्न नसक्ने अबस्था भएपछि हाम्रो परिवार भारतमा पुगेको थियो । भारतबाट विराटनगर आयौं ।

राणाको पालमा पनि विराटनगरमा एउटा हाइस्कूल थियो । हुने खानेले पढ्न पाउने तर नहुनेले त पढ्न सक्ने अबस्था थिएन । हामीहरुले विराटनगरमा पढेका हौं ।

भारतमा त्यसबेला आन्दोलन भयो । हामीहरुलाई नेपालमा यस्तै भए हुने भन्ने लाग्यो । नेपालको इतिहास कस्तो भनेर हामीले पढ्ने बेलामा केही थिएन ।

विद्यालयमा भारतको इतिहासका बारेमा पढाई हुन्थ्यो । म बालक नै थिए । वीपी भारतमै पढ्नुहुन्थ्यो । उहाँ विराटनगरमा रहेको कोइराला निवासमा आएको बेलामा मैले देखेको हो ।

बुढो अग्लो मानिस आउनुभयो । हामीहरु सान्दाजु भन्थ्यौं । मेरो कितावमा कुल्चिनुभयो । कितावलाई कुल्चिएपछि मैले ढोग्न भने । उहाँ अचम्ममा पर्नुभयो । यहीबाट उहाँसँग मेरो चिनजान भएको हो ।

वीपीसँग मेरो कैले पनि वैरभाव रहेन । म भन्दा २ वर्ष जेठो थिए, गिरिजा । उनी भने मसँग अलि शंकालु थिए पछिसम्म पनि ।

एक दिन सान्दाजु (वीपी कोइराला)ले पार्टी खोल्ने कुरा गरे । त्यसबेला म आइए पढ्दै थिएँ । कृष्णप्रसाद भट्टराई, ईश्वर बरालहरु म भन्दा माथिका कक्षामा पढ्थ्यौं ।

त्यसपछि राष्ट्रिय कांग्रेस पार्टीको गठन भयो । पछि सुवर्ण शमसेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ साल चैत २७ गते नेपाली कांग्रेसको गठन भयो । मातृका कोइराला, वीपीहरुसँग वैचारिक शक्ति थियो भने सुवर्णजीहरुसँग धन (पैसा) र संगठन थियो । त्यही भएर दुई पार्टी एक हुन सकेको हो ।

सुवर्णसम्शेरसँग पैसा पनि थियो । सुवासचन्द्र बोससँग मिलेका आइजीपी याकथुम्बा पनि थिए त्यसलाई प्रयोग गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । भारतमा स्वतन्त्रता आएपछि हामीले ए स्वतन्त्रता यस्तो हुन्छ भन्ने थाहा पायौं ।

हामीलाई सुवर्णको संगठनले तान्यो र हाम्रो सम्मेलन बर्गेनियामा भयो । माओवादीमा प्रचण्ड अधिनायकवादी भएजस्तै कांग्रेसमा पनि मातृका अधिनायकवादी भए । अरु नेतालाई भन्दा वीपी र सुवर्णलाई दायाबाँया राखे ।

नेपाली बोल्नेमाथि पनि राणाका सुराकीले हेरिरहेका हुन्थे, तेही भएर सबै पार्टी गतिविधि गोप्य रुपमा भयो । संगठन पनि गोप्य रुपमा बन्यो । त्यसपछि हामी भूमिगत भयौं । त्यतिखेर नेपाली कांग्रेसमा वीपीहरु–गान्धीवादी थिए तर सुवर्णहरु गान्धीवादी थिएनन् । राणाहरुले यसरी सुन्दैनन् भन्ने उनीहरुको मत थियो ।

अहिले नेपाली कांग्रेसले प्रयोग गरेको झण्डा सुवर्णको पार्टीको थियो, हाम्रो त हरिया, सेता र हिमाल भएको झण्डा थियो । एकताका बेला हामीले चारतारे झण्डालाई स्वीकार गरेका हौं । प्रजातन्त्रको माग गर्दै हामीले क्रान्ति गरेका थियौं ।

त्यो सत्याग्रह थिएन । हामी गान्धीवादी थियौं त्यही भएर सजिलै राणाहरुले मान्लान् भन्ने सोचेका थियौं तर त्यसो भएन् ।

उनीहरुले वीपी स्वदेश फर्किएपछि राम्रो व्यवहार गरेनन् । वीपीलाई निकै दुःख दिएको थियो । भारतमा, बेलायतमा कानून थियो तर हाम्रोमा आन्दोलन गर्नेलाई राणाहरुले मार्लान् भन्ने डर थियो । त्यसबेला वीपीलाई पनि गान्धीवादी तरिकाबाट देशमा परिवर्तन र प्रजातन्त्र आउँछ जस्तो नलागेको मलाई सुनाउनु भएको थियो ।

पार्टी गतिविधिहरु हुन थालेपछि हामी विराटनगरमा पर्चा छर्न गयौं । सरोज कोइराला र म विराटनगर आउँदै गर्दा पुलिसले खानतलासी गर्‍यो र हामीलाई जेलमा हाल्यो । राणा हटाउने क्रान्तिमा म विराटनगरमा जन सरकारको गृहमन्त्री थिए भने केशवप्रसाद कोइराला गभर्नर थिए ।

हाम्रो नेतृत्वमा रहेको मुक्तिसेनाले २००७ को कात्तिकमा विराटनगरको रंगेली कव्जामा लियौं र अगाडि बढेका थियौं । झापाको व्यारेक आक्रमण गर्ने प्रयासमा हामी असफल भयौं त्यसबेला बल्लतल्ल ज्यान जोगाइयो । हामीले लगातार विराटनगरमा आक्रमण गर्‍यौं र कव्जामा लियौं । त्यसको केही पछि २००७ साल फागुन ७ मा प्रजातन्त्र आयो।

कांग्रेसको जन्ममा भारतीय कुनै समुहको सहयोग छ भन्ने लाग्यो नि त्यसको अर्थ ? त्यस्तै हो ?

त्यो भएको कुरा हो । नेपाली भन्यो भने त्यसबेलामा थुन्ने गरिन्थ्यो । त्यही भएर भारतमा बसेमा पार्टीको सम्मेलनमा भारतीय नेपाली कांग्रेस नाम राख्ने विषयमा कुरा भएको थियो ।

भारतमा बसेका नेपालीहरुले खोलेको संस्था भएकाले त्यसको नाम यस्तो राख्ने कुरा भएको थियो । नेपाली कांग्रेस भनेर नाम राख्दा त त्यसबेलाको राणाहरुले पक्राउ गर्ने अबस्था थियो । सम्मेलन भएको झण्डै एक वर्षपछि मात्रै सुवर्णशमशेर भारतमा पुगेका हुन् ।

२००७ सालको आन्दोलनमा नेपाली कांग्रेस त भयो, प्रजापरिषद्को पनि महत्वपुर्ण योगदान भनिन्छ, बामपन्थीहरुको पनि भूमिका थियो भनिन्छ । के थियो अबस्था ?

त्यो सत्य हो । एक्लैबाट यो परिवर्तन आएको होइन र सम्भव पनि छैन् । हेर्नुस्, नेपालबाट पुष्पलाल भागेर बनारस पुगेका थिए । उहाँ गएपछि उनले राष्ट्रिय कांग्रेसको सदस्य समेत बनेका थिए ।

काठमाडौं शहरमा हामी आउँदा यहाँका नेपालीलाई नेपाली कांग्रेस जिन्दावाद भन्न समेत आउदैनथ्यो । जिन्दावाद भन्न नजानेर हामी जिस्क्याउँथे । तर कारण के हो भने राणाहरुले आफ्नो परिवारबाहेक अरु केही पनि सपार्न सकेनन् ।

जापानमा पनि त्यहाँका प्रधानमन्त्रीले अपदस्थ गरेर शासन गरेको इतिहास छ नि । काठमाडौंमा पनि तीनजना राजाले शासन गर्ने ।

कीर्तिपुरका वेग्लै राजा त पछिसम्म पनि थिए । त्यसबेलाका तीनैजना राजाहरु नेवार थिए । उनीहरु मिलेर नबसेका । राई लिम्बुको वेग्लै राज्य थियो । जातिको राज्य थियो ।

प्रजापरिषदको अस्तित्व समाप्त भयो तर कांग्रेसले अस्तित्व कसरी कायम गर्न सक्यो ?

प्रजापरिषद् भनेको के हो भनेर पहिला बुझ्न आवश्यक छ । टंकप्रसादजी प्रधानमन्त्री थिए । रामहरि मामूली मानिस थिए । चार पाँचजना मानिस मिलेर एउटा सानो गुट बनाए ।

उनीहरुको संगठन थिएन । काठमाडौंका मानिसहरुको विरोध हुन्थ्यो । यहाँका केही मानिसले त्यो अनुभव समेत गरेका थिए, जुन हामीले वनारसमा अनुभव गरेका थियौं ।

अन्याय भयो भनेर यहाँका केही मानिसले बोले । शुक्रराजलाई मृत्युदण्ड दिइयो । उनी प्रजापरिषद्का थिएनन् ।

अहिले देशमा रहेका पार्टीहरुमा रहेको गुट उपगुटका बिचमा तुलना गर्दा कस्तो देखिन्छ ?

यो अहिले जे भइरहेको छ । त्यो गलत छैन । मानिसको स्वभाव जस्तो छ । त्यस्तै भइरहेको छ । मानिसहरुको दिमाग नै कस्तो छ भने आफुलाई कता लाग्दा फाइदा हुन्छ त्यतै लाग्ने गरेका छन् ।

सूर्यप्रसाद उपाध्यायले त्यही बेलामा बेलुका मातृका वावुलाई र बिहान वीपीलाई भेट्थे । उनलाई कांग्रेसमा सबैभन्दा चतुर नेताका रुपमा समेत मानिसहरुले लिने गरेका छन् ।

तत्कालिन कांग्रेसका चारजना मुख्य नेताहरुमध्ये समेत उनी पर्छन् । गणेशमानजी, वीपी वावु, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय भनेर ४ जना महत्वपुर्ण नेताहरु थिए । कृष्णप्रसाद र गोपाल भट्टराई दुईभाइ बनारसमा संगै बसेर पढेका थिए । तर उनीहरुका बिचमा समेत एकमत हुन सकेन ।

यी सब कुराहरु के भने मानिसको कमजोरी हो । अहिलेको नेकपाको हेर्नुस् त ओलीमा केही हदसम्म नेतृत्व छ । तर प्रचण्डमा मैले त केही देखेको छैन । भारतीय कांग्रेसका नेताहरु अझै नेहरुका सन्तानहरुले आफुलाई पुग्ने पैसा कमाए ।

भारतमै गान्धीहरुलाई परिवार नै चाहिने किन ? भारतीय प्रधानमन्त्री मोदीले आफुभन्दा शक्तिशाली अरु बन्न दिनेवाला छैनन् । विहारमा एउटा मुख्यमन्त्रीले ५ कक्षा पास गरेका श्रीमतीलाई मुख्यमन्त्री बनायो ।

छोरा बुहारीलाई मुख्यमन्त्री बनायो । प्रजातन्त्र भनेको के हो भने बहुजनले कसलाई भोट हाल्छ त्यसलाई मान्नुपर्छ । एक भोट पनि बढि भयो भन्ने मान्नुपर्‍यो । सत्तामा आएपछि पैसा कमाउन नपर्ने कोही नेता देख्नुभएको छ ।

पञ्चायतमा ८/९ जना मात्रै मन्त्री थिए । सूर्यबहादुरसँग ९ वटा मन्त्रालय रहेको थियो कुनैबेला । सूर्यबहादुरले पैसा कहिले कमाए भने पञ्चायतलाई सहयोग गरेपछि छाला उद्योग लगाएतका अन्य उद्योगमा लगानी गरेर कमाए ।

कीर्तिनिधि बदमास भए पनि पैसा कमाएका थिएनन् । गिरिजाले समेत आफुले पैसाका लागि इज्जत फालेनन् । तर उनी बदनाम किन भए भने उनकी छोरीका कारण । लाउडादेखि अन्य विभिन्न शीर्षकका कुरा छन् । यो लामो कहानी छ ।

हाम्रो देशको प्रजातन्त्रको भविष्य कस्तो देख्नुहुन्छ ?

हामी प्राकृतिक रुपमा प्रजातन्त्रवादी होइनौ । जुन समाजमा तपाई, तँ, हजुर, सरकार भन्नुपर्छ । त्यहाँ प्रजातन्त्र हुन्छ ।

अंग्रेजीमा ‘यू’ भनेपछि सबैलाई सम्बोधन गर्ने शब्द हो । अंग्रेजहरुले सबैलाई गर्ने व्यवहार पनि एउटै हुन्छ । कि हात मिलाउँछन्, कि त भने म्वाई खान्छन् । जे गरे पनि बराबर ।

हाम्रो नेपालमा त्यो छैन । म भन्दा नजान्ने मेरो दाइ भए मेले ढोग्नुपर्छ । आफुभन्दा कान्छीलाई बाउले बिहे गरेर ल्यायो भने त्यसलाई कान्छी आमाका रुपमा मान्नुपर्छ ।

त्यतिमात्रै कहाँ हो र खुट्टामै ढोग्नुपर्छ । हाम्रो समाजमा कहाँ छ समानता ? हाम्रो समाजमा गुरुङ, राई, लिम्बु वा मगरलाई तपाई भनेर सम्बोधन गरिन्थ्यो पहिला ?

भाषामा समानता, व्यवहारमा समानता छैन नेपालमा । नजान्ने मानिस पनि माननीय बनेर आयो भने उ जति जान्ने कोही हुँदैन । हाम्रो प्रजातन्त्र भनेको अभ्यासमा आधारित हो ।

अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले आफ्नो भाइलाई मन्त्री बनायो । अर्को भाइलाई सिनेटर बनायो तर त्यसको आलोचना भएन किनभने उनीहरु समेत क्षमतावान थिए ।

हिटलर कहिल्यै रक्सी खान्नथे । जुन केटीलाई माया गरे, उनैसँग समर्पित भए । जसमा नैतिकता देखिन्छ । यसको मतलव के हो भने बहुमतले भनेको मान्नुपर्छ । नैतिक हुनुपर्छ, यो नै प्रजातन्त्र हो । प्रजातन्त्रमा आफन्तवाद र नातावाद होइन । क्षमताको कदर हुनुपर्छ । त्यसैले प्रजातन्त्रमा जनमतको कदर हुनुपर्छ ।

नेपालमा अहिले कम्युनिष्टहरु शासन गरिरहेका छन्, नेपालको अहिलेको व्यवस्था कस्तो देख्नुहुन्छ ?

नेपालमा कम्युनिष्टहरुलाई कसले ल्याएको ? राजा महेन्द्र र भारतीयहरु मिलेर ल्याएका हुन् । यहाँ भन्न त पुष्पलाल र मनमोहन मिलेर ल्याएको भन्छन् मान्छेहरु ।

नेपालमा कम्युनिष्ट जन्माइदिएपछि कांग्रेसलाई साइजमा ल्याउन राजालाई सहयोग भएको हो नि । संसारको अबस्था हेर्ने हो भने विश्वमा कम्युनिष्ट शासनको अबस्था अहिले पनि कतिपय देशमा बाहेक दयनीय छ ।

नेपालमा पनि त्यस्तै नहोला भन्न त सकिन्न तर कसरी राज्यसत्ता सञ्चालन गर्छन् भन्नेमा निर्भर हुन्छ । नेपालको दुबैतिर चीन र भारतजस्ता ठुला शक्ति राष्ट्रहरु रहेका छन् । मैले यसभन्दा अघि पनि तपाइसँगै भनेको थिए, नेपाल भनेको बाघचालको बाख्राजस्तो बन्नुपर्छ ।

जसरी बाघचालमा बाख्राले बाघलाई खान नसकेपछि चारैतिर घेरा हालेर सफल बन्नसक्छ । पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबिचको तरुल भने । गोर्खाका त्यसबेलाका मानिसले तरुलबाहेक अरु केही देखेका थिएनन तुलना गर्नलाई । तर उसले जे भन्यो नि त्यो सत्य हो । भारतसँग खुला सिमाना छ ।

भारतसँग संस्कार समेत मिल्छ । भारतबाटै आएका हुन् नेपालीहरुको पुर्खा । दक्षिण र उत्तरबाट आएका मानिसहरुका कारण नेपाल बनेको हो । त्यसैले नेपालले सन्तुलित विदेश नीतिका आधारमा देश सञ्चालन गर्नुपर्छ । जसले नेपालको समेत विकास हुन सम्भव छ ।

मुलुक र प्रजातन्त्रको अबस्था कस्तो देख्नुहुन्छ ?

नेपालको अहिलेको राजनीतिक व्यवस्था परिवर्तनका लागि भारतको भरोसा समेत आवश्यक हुन्छ । सेनाले कू गर्नुपर्छ परिवर्तनका लागि । अब नेपालका जनता उठेर आन्दोलन गर्ने अबस्था मैले देखेको छैन ।

भारतले हिजो राणा तह लगाउन कांग्रेस, राजालाई तह लगाउन माओवादीलाइ सहयोग गरेको थियो । कांग्रेसको विद्रोहका बेला म नै भारतमा गएर बम लिएर आएको थिएँ ।

अहिले पनि नेपालको जुनसुकै परिवर्तनका लागि भारतको भूमिका महत्वपुर्ण हुन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : १५ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक