नआत्तिऔँ, सजग रहौँ « Khabarhub

नआत्तिऔँ, सजग रहौँ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोभिड–१९ (कोरोना भइरस) संक्रमण विश्वव्यापी भएपछि नेपालमा त्रास फैलिएको छ । सरकारले एक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चित कालका लागि स्थगित गरेको छ । शिक्षण संस्थाहरू चैत मसान्तसम्म बन्द गराएको छ । स्थल नाकाहरूमा कडाइ गरेको छ ।

अन्तर्राष्ट्रिय उडानहरू सीमित गरेको छ । जरुरी काम नपरी घरबाहिर ननिस्कन नागरिकहरूमा अपिल गरेको छ । संक्रमण परीक्षण, क्वारेन्टिन, आइसोलेसन, उपचार लगायतको सक्दो प्रबन्ध गर्ने प्रयास भइरहेको छ ।

हामीले सन्तोष मान्नुपर्छ, निकट छिमेकीसहित १७३ मुलुकमा संक्रमण फैलिँदा र विश्वमा ८ हजार ९४३ जनाको मृत्यु भइसक्दा पनि नेपालमा संक्रमण फैलिएको छैन ।

संक्रमित एक जना निको भएको र पाँच सय जनाभन्दा बढीमा परीक्षण हुँदासम्म संक्रमण प्रमाणित नभएको सरकारले जनाएको छ ।

यसमा सन्तोष मान्न सकिने भए पनि ढुक्क हुने अवस्था नभएकैले सरकारले कडाइ गरेको हो । सरकारको प्रयास र कडाइ संक्रणम रोकथामका लागि हो ।

विश्वको अवस्था गम्भीरतापूर्वक नियालेर हामीले अधिकतम प्रयास गर्नुपर्छ । सरकारको आग्रह र चिकित्सकहरूको सुझावलाई गम्भीरतापूर्वक लिनु र आफूमा संक्रमण हुन तथा फैलिन नदिन सजग रहनु प्रत्येक नागरिकको कर्तव्य हो ।

कोभिड–१९ संक्रमण एउटा गम्भीर संकटका रूपमा विश्वसमुदायसामु खडा भएको छ । यसैकारण विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्व स्वास्थ्य संकट घोषणा गरेको हो ।

संक्रमण रोक्न व्यक्ति, परिवार, समुदाय, सरकार र विश्वको साझा प्रयास आवश्यक भएको छ । प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिऔँ ।

परिवारका रोगी, बालबालिका तथा वृद्ध सदस्यहरूको स्वास्थ्य रक्षामा ध्यान दिऔँ । समुदायहरूले आफ्नो समुदायमा जनचेतना अभिवृद्धका लागि काम गरौँ । सरकारका निर्णयहरू पालना गरौँ ।

जरुरी कामबाहेक घरबाहिर ननिस्कऔँ । सार्वजनिक सवारीसाधन प्रयोग गर्नेहरू सकेसम्म पैदल यात्रा गरौँ । साबुन लगाएर कम्तीमा २० सेकेण्ड राम्ररी मिचेर हात धोऔँ ।

हात नधोई नाक, आँखा आदि नचलाऔँ । मास्क प्रयोग गरौँ । मास्क नभए सफा रुमालले नाकमुख छोपौँ । हाच्छिऊँ गर्दा र खोक्दा रुमालले राम्ररी नाकमुख छोपौँ । हात नमिलाऔँ, अंकमाल नगरौँ, एकापसमा केही दुरी बनाएर बसौँ ।

धेरै जरुरी नपरी टाढाको यात्रा नगरौँ, गर्नै पर्दा आवश्यक सबै सतर्कता अपनाऔँ । संक्रमणले धनी, गरीब, उच्च पदस्थ कोही पनि चिन्दैन, सबै बराबर ।

व्यवसायीहरू जिम्मेवार बनौँ । संकटको समयमा अत्यावश्यक सामान लुकाएर कृत्रिम अभाव सृजना गर्ने र कमाउने मौका ठान्नेहरूमाथि मौजुदा कानूनअनुसार अपराध करार गरी अधिकतम सजाय गर्नुपर्छ ।

सरकारले आफ्ना नियामक संयन्त्रहरू सक्रिय राख्नुपर्छ । आपूर्ति व्यवस्था सहज राख्न समन्वय बढाउनुपर्छ ।

अत्यावश्यक वस्तु, औषधि, स्वास्थ्य सामग्री इत्यादिको उत्पादन तथा आपूर्ति सहज बनाउन पनि अधिकतम प्रयास गर्नुपर्छ ।

संकट सामना गर्न प्रत्येक व्यक्ति, राज्यसंयन्त्रहरू र सरकारको समन्वय आवश्यक पर्छ ।

सरकारले गरेको कडाइ र अपिलबाट बरबादै भएको हो कि भन्ने त्रास सिर्जना हुनु पनि अस्वाभाविक होइन । त्यसो भइसकेको होइन । कोभिड–१९ संक्रमण रोकथाम गर्न र सम्भाव्य संकटप्रति सजग रहन सरकारले प्रयास गरेको हो । नआत्तिऔँ, सचेत बनौँ, सजग रहौँ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ५८ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने