संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो : सभामुख सापकोटा « Khabarhub

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो : सभामुख सापकोटा


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् ।

संविधान दिवस, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।

‘संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाइ भएको गुनासा सम्बोधन गर्नुपर्ने छ, कानून बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु’, सन्देशमा उनले भनेका छन् ।

सभामुख सापकोटाले आजको विशेष दिनले सबैलाई संविधानको मर्म र भावनानुसार काम गर्न प्रेरणा मिल्ने पनि विश्वास व्यक्त गरेका छन् ।

नेपालको संविधानको धारा १०९ मा सङ्घीय संसद्को व्यवस्थापकीय अधिकार, धारा १९७ मा प्रदेशसभाको व्यवस्थापकीय अधिकार र धारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकारको व्यवस्था गरिएका कारण तीन वटै तहले कानूनको निर्माण गर्ने अधिकार राख्ने र आवश्यकतानुसार कानूनको निर्माण र कार्यान्वयन गरिरहेको उनले बताएका छन् ।

संविधान गतिशील दस्तावेज भएको उल्लेख गर्दै सभामुख सापकोटाले नीतिनिर्माण तथा राज्यका विभिन्न संयन्त्रमा समावेशिताको व्यवस्था गरिएको जनाए ।

सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानून बनेको तथा संविधानसँग बाझिएका कानून संशोधन भइसकेको जनाउँदै उनले प्रदेश र स्थानीय तहले आफ्ना एकल अधिकारअन्तर्गतका कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको बताए ।

नेपालको संविधान नेपालका अग्रगामी परिवर्तन पक्षधर जनताको सङ्घर्ष र शहीदका बलिदानको प्रतिफल रहेको उल्लेख गर्दै उनले शहीदको साहस, अग्रगामी परिवर्तनको तीव्र इच्छाशक्ति एवम् बलिदानीपूर्ण सङ्घर्षका कारण नेपालको संविधान निर्माण सम्भव भएको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ३८ बजे

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका