३० वर्षअघि मैदानमा लागेको चोटको पीडा « Khabarhub

३० वर्षअघि मैदानमा लागेको चोटको पीडा

अनिलको प्रश्न छ : पदाधिकारीका परिवारलाई उपचार खर्च दिने एन्फालाई खेलाडीको उपचार गर्न केले रोक्छ ?



काठमाडौँ- भक्तपुरको सिर्जनानगर बस्ने अनिल रुपाखेती कुनै समय नेपालको जर्सीमा उत्साहका साथ फुटबल मैदानमा उत्रन्थे । झण्डै एक दशक नेपाली टिममा खेलेका अनिल मैदामै लागेको चोटका कारण अहिले घरमा थलिएका छन् ।

झण्डै तीन दशकअघि लागेको घुँडाको चोटले उनलाई अहिले पनि पिरोलिरहेछ । उनले एक पटक दायाँ घुँडाको र दुई पटक बायाँ घुँडाको शल्यक्रिया गराइसकेका छन् ।

अब फेरि बायाँ घुँडाको शल्यक्रिया गराउनु पर्ने भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उनको शल्यक्रिया हुनेछ । गत हप्ता बिहीबार अस्पताल जाँदा चिकित्सकले कोरोना भाइरसको जोखिमका कारण माघ पहिलो साता शल्यक्रिया गर्ने गरी तयार हुन भनेका छन् ।

शल्यक्रियामा तीन लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने चिकित्सकले बताइसकेका छन् । यो रकम जुटाउन उनको उपाय छैन । उनले फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहयोगको अपेक्षा गरेका छन् ।

अनिलले सन् १९८९ मा जर्मनीमा एसियन गेम छनोट खेल्ने क्रममा लागेको चोटको पीडा भोग्नु परेको छ । त्यतिबेला उनीसहित मणि शाह, उमेश प्रधान, श्रीराम रञ्जितकार र जीवन लामाले चोट बोकेका थिए । मणि, उमेश र श्रीरामको उपचार जर्मनीमै भयो ।

अनिल र जीवनलाई नेपालमा गर्ने भनियो । तत्कालीन मुख्य प्रशिक्षक भीम थापाले अनिलालई काठमाडौँमा जति खर्च लागे पनि उपचारमा सघाउने बताएका थिए ।

‘मुख्य प्रशिक्षकले काठमाडौँमा उपचार गराउँला भन्नुभएको थियो तर काठमाडौँ आएपछि त्यो भएन,’ अनिलले भने, ‘स्पोट्र्स काउन्सिलका चिकित्सकले चिफ कोचको सही लिएर आऊ भन्ने अनि कोचले डाक्टरकहाँ जाऊ भन्नेमात्रै गरिरहे । धेरै समय यस्तो गरेपछि मलाई रिस उठ्यो । त्यतिबेला उपचार गरेका बिलहरू च्यातिदिएँ ।’

खेल जीवन सकिएपछि घरमा थन्किएका अनिलले एन्फामा जागिरको आश्वासन पनि पाएका थिए । त्यो पनि तत्कालीन अध्यक्ष गणेश थापाको आश्वासनमै सीमित रह्यो ।

‘खेल्दाखेरीको चोटले मलाई जीवनभर चोट दियो । यसमा जति उपचार खर्च लाग्यो त्यति त त्यो बेला खेलेर पनि कमाउन सकिएन,’ अनिलले खबरहबसँग भने, ‘अहिलेसम्म उपचारमै २५ लाख जति खर्च भइसक्यो । अझै निको भएको छैन ।’

उनले चोट भोगे, उपचार पनि गरिरहे तर अहिले हिँड्न पनि सक्दैनन् । उनी भन्छन्, ‘आजभोलि हिँड्न पनि निकै कठिन भइरहेको छ, पाँच–पाँच मिनेटमा आराम गर्नुपर्छ ।’

सन् १९८६ को विश्वकप छनोट खेलेका उनी अहिले ५६ वर्षका भए । यति बेला उनलाई बुढेसकालमा अपाङ्ग हुनु पर्ने पो हो कि भन्ने चिन्ताले पिरोलेको छ ।

वीरगञ्जमा जन्मेका अनिलको खेल करियर जनकपुर चुरोट कारखानको टिमबाट सुरु भएको थियो । त्यहाँबाट नेपाली टोलीसम्म आइपुग्न निकै मिहिनेत गर्नु परेको उनी सम्झन्छन् ।

सुरुमा बि एन्ड बी अस्पतालमा डाक्टर कुमार बास्कोटाको टोलीले उनको घुँडाको शल्यक्रिया गरेको थियो तर समस्या बल्झिरह्यो । फेरि सुमेरु र पाटन अस्पतालमा उपचार गराए । पाटन अस्पतालमा आईसीयूसमा समेत बस्नु प¥यो । त्यतिबेला एन्फाले सहयोग गर्ने आश्वासन दिए पनि ५० हजार रुपैयाँभन्दा बढी दिएन ।

अनिल भन्छन्, ‘अब माघमा अप्रेसन गर्नु पर्नेछ । आफूसँग पैसा छैन ।’

खेलाडीहरू समस्यामा पर्दा सहयोग गर्न एन्फाले खेलाडी कल्याणकारी कोष स्थापना गरेको छ । त्यही कोषबाट आफूले उपचारका लागि आर्थिक सहयोग पाउनु पर्ने अनिलको माग छ ।

एन्फाले उपचारका नाममा जिल्ला र केन्द्रका पदाधिकारीलाई आर्थिक सहयोग गर्दै आएको छ । गत वर्ष त एन्फा वरिष्ठ उपाध्यक्षले पदाधिकारी र खेलाडीको उपचारको विषयमा नोट अफ डिसेन्ट नै लेखेका थिए । त्यतिबेला पदाधिकारीका परिवारलाई उपचार खर्च दिएको कुरा चर्चामा थियो ।

‘मैले कल्याणकारी कोषबाट सहयोग पाउनु पर्छ भनेको हुँ । जिल्ला र केन्द्रका पदाधिकारीलाई उपचार भनेर पैसा दिने एन्फालाई हामी जस्ता खेलाडीलाई दिन केले रोक्दो रहेछ ?’ अनिलले प्रश्न गर्दै भने, ‘देशका लागि गरेको योगदान कसैले हेर्दैन रहेछन् । सबै आफ्नो मतलबका मान्छे रहेछन् ।’

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग पटकपटक कुरा गर्दा उनले एन्फाले दिएको ५० हजारको कुरामात्रै दोहोर्‍याको आरोप अनिलको छ ।

अनिलले आफ्नो खेल जीवनमा फिफा विश्वकप छनोट १९८६ र १९९०, ओलम्पिक छनोट १९८८ र १९८६ मा दक्षिण कोरियामा एसियन गेम छनोट खेले । उने पाकिस्तानमा भएको दक्षिण एसियाली खेलकुद र त्यो समयका अधिकांश महत्वपूर्ण प्रतियोगिता खेलेका छन् ।

योगदानको कदर गर्दै सहयोग गर्छौं : एन्फा प्रवक्ता

‘उहाँ (अनिल) को विषयमा अहिले कुनै निर्णय भएको छैन तर उहाँले नेपाली फुटबलमा गरेको योगदानको कदर गर्दै सकेको आर्थिक सहयोग गर्न एन्फा तयार छ,’ एन्फा प्रवक्ता किरण राईले भने ।

यही मंसिर २५ गते बसेको एन्फा कार्यसमिति बैठकमा अनिलको उपचारको विषयमा कुरा उठेको भए पनि कुनै निर्णय भएन ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : १० बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो