सीता–राम विवाह महोत्सव मनाइँदै « Khabarhub

सीता–राम विवाह महोत्सव मनाइँदै


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ ।

त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउँदै आएका छन् ।

त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम रामका गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ ।

सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । भगवान् रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अङ्कित छ ।

अलौकिकरूपमा रामलाई निर्गुण ब्रम्ह एवं सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी–देवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।
मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीता–रामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा विवाह गर्ने चलन छ ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम–सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।

महोत्सवमा बिदाइको क्षण अत्यन्त कारूणिक हुन्छ । महोत्सवमा सहभागी श्रद्धालुहरू प्रतीकात्मक सीतालाई आफ्नै छोरीलाई बिदाइ गरे झैँ भक्कानो छाडेर रूने गर्छन् । सो दृश्यले सबैको हृदय विदीर्ण हुन्छ ।

सो बखत सखीहरूद्वारा गाइने समदाउन गीतले प्रतीकात्मक विवाह वास्तविक विवाह झैं अनुभूति हुने गरेको छ । यो महोत्सवले पनि मिथिलाको प्राचीनस्वरूप र त्ससबखतको सांस्कृतिक उत्कर्षलाई प्रसङ्गहरूलाई प्रस्ट गर्दछ ।
मिथिलावासीद्वारा रामलाई ज्वाइँ र भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीता–राम विवाहमा यसरी आशीष दिने गर्छन् :

चलुसखी देव चुमाओन हे
जनक जीके अङ्ना ।
(सखीहरू जनकको आङन जाउँ, जहाँ रामलाई चुमाउने छु)

सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीता–रामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुकरणीय मानिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्