‘हेडसर’देखि सभामुखसम्मको यात्रामा सापकोटा « Khabarhub

‘हेडसर’देखि सभामुखसम्मको यात्रामा सापकोटा


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस् प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सभामुखमा प्रस्तावित सापकोटा नेकपाभित्र सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा नै रहँदा नै किन नहोस् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लावासीले उनलाई ‘अग्नि सर’का रुपमा चिन्छन् ।

विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मिभएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् । लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उनलाई धेरैले अग्नि सरकारको नाम दिएका हुन् ।

नेता सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहेका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन नेकपा (माओवादी)ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एकमात्रै नेता हुन्, उनी । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील छन्। विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनी २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए ।

विसं २०५८ मा तत्कालीन नेकपा(मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे । सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने पहिलो व्यक्तिका रुपमा समेत परिचित छन् ।

धेरैले अग्नि सर भनेर नाम दिएका सापकोटालाई नेकपाले लामो बहस र छलफलपछि सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाले निर्णय गरेको हो ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की नै रहेको छ । प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ । सोमबारदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्ने तयारीमा सङ्घीय संसद् सचिवालय रहेको छ ।

पटकपटक सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि जिम्मेवार र योग्य व्यक्तित्व पाउने भएको छ । यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीनपटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित भइसकेको छ ।

जनयुद्धकाल होस् वा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाकासमेत खुलिसकेको छ । राजधानीमा भन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन। पार्टी राजनीतिमा अधिकांश समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ सहयोग दिँदै आएका सापकोटाले यसअघि तत्कालीन एकीकृत नेकपा(माओवादी)को पार्टी प्रवक्ताको भूमिकासमेत निर्वाह गरेका थिए ।

नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याइदिएको छ । यो जिम्मेवारीलाई उनले कुशलतापूर्वक सम्हालेर सङ्घीय संसद्लाई थप जनमुखी बनाउने विश्वास उनलाई अग्नि सरको उपमा दिने धेरैले लिएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : ०१ बजे

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन

नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन

नारायणगढ– भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।