अन्नपूर्ण हिमपहिरोमा चार दिनदेखि हराएका ७ जनाको अवस्था अझै अज्ञात « Khabarhub

अन्नपूर्ण हिमपहिरोमा चार दिनदेखि हराएका ७ जनाको अवस्था अझै अज्ञात

प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पार्न सकिएको छैन ।

पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।

टेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल सङ्घ पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी हराइरहेका पर्यटकको खोजी कार्यमा प्रतिकूल मौसमका कारणले कठिनाइ भएको जनाएको छ ।

घटनास्थलमा बाक्लो हिउँ जमेको तथा अहिले पनि हिउँ पर्ने क्रम नरोकिएकाले वेपत्ता भएकाको अवस्था हालसम्म पनि यकिन हुन नसकेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिए । घटनास्थल भौगोलिकरुपमा अत्यन्त विकट रहेको तथा सञ्चार, सडकलगायतका कुनै पनि पूर्वाधार नभएकाले समेत खोजी कार्यमा अप्ठ्यारो भएको बताइन्छ ।

शनिबार हिमपहिरोमा परी घाइते भएका एक जना चिनियाँ नागरिक ज्वाङ यिङ र उनका पदयात्रा सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पदयात्रामार्गको दोभानभन्दा माथि तथा माछापुच्छ्रे आधार शिविर, देउरालीलगायतका स्थानबाट १३० पर्यटक तथा नेपाली नागरिकलाई स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएकोमा ६४ लाई पोखरा तथा अन्यलाई छोम्रोङसम्म ल्याइएको टानले जनाएको छ । घटनापछि अन्नपूर्ण पदयात्रा मार्गमा अहिले कोही पनि पर्यटक नरहेको बताइन्छ ।

टानले घटनालगत्तै सातको उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो । सो टोलीले त्यहाँको स्थलगत अवलोकन गर्दा पर्यटक हराएको आशङ्का गरिएको स्थलमा बाक्लो हिउँ जमेका कारणले हिउँ पग्लन कम्तीमा पनि एक महिना समय लाग्ने र खोजीमा कठिनाइ भएको जनाएको छ । घटनास्थल वरपर अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको बताइन्छ ।

हराइरहेका आफन्तसमेत घटनास्थलतर्फ गएको टानका निर्वतमान अध्यक्ष एवं उद्धार टोलीका संयोजक दीपकराज अधिकारीले जानकारी दिए । त्यसैगरी कोरियनका आफन्तको टोलीसमेत आइतबार पैदलयात्रामार्फत घटनास्थलतर्फ लागेको छ ।

चार चिनियाँ पर्यटक सम्पर्कमा

यसैबीच थ्रोङला पार गर्ने क्रममा मनाङबाट सम्पर्कविहीन भएका चार चिनियाँ पर्यटक आइतबार सम्पर्कमा आएका छन् । ती पर्यटक थ्रोङला पार गरेर मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलले जानकारी दिए ।

मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोष्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका उनीहरु सम्पर्कमा नआएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ८ : ०८ बजे

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई