कोरोनाको त्रासः पीपीई छैन, बिरामी अस्पताल घुम्दै हैरान « Khabarhub

कोरोनाको त्रासः पीपीई छैन, बिरामी अस्पताल घुम्दै हैरान


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नवलपरासीका ३५ वर्षीय एक पुरुषलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखियो ।

सुख्खा खोकी लाग्ने र ज्वरो आउने भएपछि उनकी पत्नीले चैत ४ गते नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल, परासी लगिन् । अस्पतालका चिकित्सक डाक्टर पवन अग्रहरीका अनुसार एक्सरे हेर्दा बिरामीलाई निमोनिया देखिन थालेको थियो ।

चिकित्सकहरूले कोभिड–१९ संक्रमणको शंका गरे । बिरामीले पनि आफूलाई तीन दिनदेखि स्वास्थ्य समस्या आएको बताए ।

कोभिड–१९ हो कि होइन भन्ने पत्ता लगाउन थ्रोड स्वाबको नमूना संकलन गरी प्रयोगशाला पठाउन पर्छ ।

अस्पतालमा बिरामीको नमूना संकलन गर्न चिकित्सकसँग आफू सुरक्षित हुने उपकरण र स्वास्थ्य सामग्री अर्थात् ‘पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट’ (पीपीई) थिएन । अस्पतालले बिरामीलाई प्रादेशिक अस्पताल बुटवल रेफर गर्‍यो ।

‘बिरामीको अवस्था कमजोर हुँदै गयो, छातीमा निमोनिया डेभलप हुँदै गएको पायौं, कोरोना भाइरसको आशंका गरेर हामीले प्रादेशिक अस्पताल बुटवलमा पठायौं,’ डा अग्रहरीले भने, ‘त्यहाँ पनि आकस्मिकमा हेरियो, हिस्ट्री लियो र आइसीयू छैन भनेर चितवनको पुरानो मेडिकल कलेज रेफर गरिदियो ।’

विश्व स्वास्थ्य संगठनका अनुसार पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) व्यक्तिगत सुरक्षा उपकरण हो

डा अग्रहरीले प्रादेशिक अस्पतालले आईसीयू छैन भनेर रेफर गरे पनि कोरोना परीक्षणका लागि स्याम्पल नै नलिएको बताए ।

‘हाम्रो अस्पतालमा पीपीई नभएर बिरामीको थ्रोड स्वाब लिएनौं तर बुटवलको प्रादेशिक अस्पतालमा त पीपीई भएर पनि बिरामीको स्याम्पल नै नलिई अर्को अस्पतालमा रेफर गरिदियो ।’

डा अग्रहरीका अनुसार चितवनको पुरानो मेडिकल कलेजले पनि बिरामीलाई २४ घण्टा राखेर परीक्षणपछि कोरोना भाइरस संक्रमणको शंका गरेर टेकु अस्पताल रेफर गर्यो‍ ।

बिरामीकी पत्नीले एम्बुलेन्समा पतिलाई लिएर काठमाडौं आइन् । काठमाडौंको टेकु अस्पतालबारे उनलाई जानकारी थिएन । एम्बुलेन्स चालकले कलंकीको नेपाल नेशनल अस्पताल पुर्‍याइदिए । नेशनलले पनि कोरोनाको शंका गर्दै टेकु अस्पताल रेफर गर्‍यो ।

तर, बिरामी सीतापाइलाको अर्को एक निजी अस्पतालमा पुगे । काठमाडैंको टेकु अस्पताल नै नचिनेका बिरामीलाई अस्पतालहरूले रेफरमात्र गर्न थालेपछि पत्नी बिरामी श्रीमानलाई लिएर घर फर्किन् निर्णयमा पुगिन् ।

घर पुग्नुअघि उनी फेरि बिरामी लिएर बुटवलको प्रोदशिक अस्पताल पुगिन् तर अस्पतालले आइसीयु खाली नभएको भन्दै भर्ना लिन मानेन ।
बिरामी लिएर उनी फेरि बुटवलकै अर्को एक निजी अस्पतालमा पुगिन् ।

अस्पतालमा आइसोलेसन वार्ड भए पनि चिकित्सकको सुरक्षाका लागि पीपीई नहुँदा बिरामीको स्याम्पल लिन नसकेको डा अग्रहरीले बताए

कोरोना संक्रमणको शंका गरिएका ती बिरामीलाई निजी अस्पतालले भर्ना लिएन । बिरामीको परिवारजन निराश हुँदै शुरुमा गएको पृथ्वी अस्पतालमै पुगे ।

विभिन्न अस्पताल धाएर उपचार नपाई पृथ्वी अस्पताल आइपुगेका बिरामीको थ्रोड स्वाब स्याम्पल लिन चिकित्सक असमर्थ भए । पीपीई नभएका कारण समस्या आएको चिकित्सक बताउँछन् ।

अस्पतालमा आइसोलेसन वार्ड भए पनि चिकित्सकको सुरक्षाका लागि पीपीई नहुँदा बिरामीको स्याम्पल लिन नसकेको डा अग्रहरीले बताए ।

‘हाम्रो अस्पतालमा आइसोलेसन वार्ड छ तर हामी चिकित्सकको लागि पीपीई छैन, बिरामी भर्ना गरेर मात्र के गर्नु, त्यो बिरामीको उपचार गर्न कसरी जाने ?,’ प्रश्न गर्दै डा अग्रहरीले भने, ‘बिरामीलाई तत्काल भेन्टिलेटर सहितको आइसीयू चाहिन्छ, हामीले प्रादेशिक अस्पतालमा भर्ना गर्नुपर्छ भनेर भनसुन गरेर नै बिरामीलाई फेरि त्यहीँ पठायौं ।’

बिरामी गम्भीर बन्दै गएपछि प्रदेश सरकार र स्थानीय तहको पहलमा अन्तिममा उनलाई प्रादेशिक अस्पताल बुटवलले नै भर्ना लियो । बिरामी अहिले आइसोलेसनमा छन् ।

प्रादेशिक अस्पतालमा चिकित्सकका लागि पीपीई नहुँदा बिरामीले दुःख पाएको यो एक प्रतिनिधि घटना हो ।

नवलपरासीको पृथ्वी अस्पताल प्रादेशिक अस्पताल हो । कोरोना भाइरसको शंका गरिएका तथा संक्रमित बिरामीका लागि अस्पतालले आइसोलेसन वार्ड व्यवस्थाप गरेको छ । तर, प्रदेश सरकारले चिकित्सकको सुरक्षाका लागि पीपीई नपठाउँदा कोरोना संक्रमणको शंका गरिएका बिरामी रेफर गनुपर्ने बाध्यता रहेको अस्पतालका डाक्टर अग्रहरीले बताए ।

‘आज पनि एकजना कोरोना आशंका गरिएका बिरामी आउन लागेका थिए, हामीसँग पीपीई छैन भनेर अर्कै नै अस्पतालमा जानु भन्यौं,’ डा अग्रहरीले खबरहबसँग भने, ‘अस्पताल प्रशासनले पीपीई मगाउन प्रक्रिया थालेको भनेको छ अहिलेसम्म आइसकेको छैन ।’

नवलपरासीको पृथ्वी अस्पतालमा मात्र होइन, सबै प्रदेशका अधिकांश अस्पतालमा चिकित्सकको लागि पीपीई अभाव छ ।

पीपीई नभएकाले नै कोरोनाका शंकास्पद बिरामी हेर्न नसकिने भन्दै चिकित्सकहरूले अस्पतालहरूमा सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सरकारले चिकित्सकलाई स्वास्थ्य सुरक्षाका सामाग्री पउलब्ध गराउनुपर्ने डा समिर लामा बताउँछन् ।

‘शंकास्पद बिरामी जाँच्न र नमूना संकलन गर्न स्वास्थ्यकर्मीको लागि पीपीई छैन,’ डा लामाले भने, ‘मिटिङ र निर्णयहरूले मात्र यो प्रकोपसँग लड्न सकिन्न, ग्राउन्ड लेभलका स्वास्थ्यकर्मीको मनोबल बलियो बनाउनुपर्छ, उनीहरूलाई सुरक्षा दिनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयले चैत ३ गते २० हजार थान पीपीई खरिद गर्ने जनाएको थियो तर अझै उपलब्ध भएको छैन ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पनि स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा पीपीई उपलब्ध गराउन माग गरेको छ । संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सकहरूले जोखिममा काम गरिरहेको बताए ।

‘अहिले देशभरका अस्पतालहरूमा पीपीई विना स्वास्थ्यकर्मी तथा चिकित्सकहरू जोखिममा काम गरिरहेका छन्,’ डा कार्कीले खबरहब भने, ‘काठमाडौंका केही अस्पतालमा पीपीईको व्यवस्था होला तर काठमाडौंं बाहिर डाक्टरहरू जोखिममा काम गरिरहेका छन् ।’

सरकारले चिकित्सकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष कार्कीको भनाइ छ ।

‘चाइना, इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा उपचारमा संलग्न चिकित्सक नै छन्, बिरामीको प्रत्यक्ष सम्पर्कमा पुग्ने भनेको स्वास्थ्यकर्मी नै हुन्,’ डा कार्कीले भने, ‘राज्यले स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध नगराउँदा चिकित्सकमा संक्रमण हुने सम्भावन बढी हुन्छ ।’

के हो पीपीई ?

विश्व स्वास्थ्य संगठनका अनुसार पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) व्यक्तिगत सुरक्षा उपकरण हो । यो उपकारण भित्र चस्मा, मास्क, फेसशेल्ड, पन्जा, गाउन, टाउकामा कभर र रबरको बुट पर्छ । यसको प्रयोगले शंक्रमित बिरामीबाट स्वास्थ्यकर्मीलाई रोग सर्ने जोखिम कम गर्न हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ३ : ४६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को