सन् २०१९, डिसेम्बरको पनि अन्त्यतिर देखापरेकी तिमी कोरोना भाइरस (कोभिड–१९) को नामले एकाएक विश्वप्रख्यात भयौ । यति कलिलो उमेरमा ख्यातिको उपाधि पाउनु तिम्रो सौभाग्य नै हो भन्ने मलाई लागेको छ । तिमीलाई मान्छेहरूले कोरोना भाइरस भनेका छन् । मैले चाहिँ मायाले कोरोना मैयाँ भन्ने गरेको छु ।
चीनको वुहानमा जन्मिएकी तिमी कति चाँडै वुहानभरि फैलन सक्यौ ! विश्वास नै गर्न गाह्रो भयो मलाई त ! मानव जीवनलाई तिमीले यति मजाले आफ्नो वशमा पारिदियौ कि तिमी भएको शरीरमा कसैले छुनु हुँदैन । हाच्छिउँ गर्दा छेउमा बसेका मान्छे तर्सेर भाग्छन् । जोगिन जानेन भने तिमी तुरुन्त अरूमा प्रवेश गरिहाल्छ्यौ । अनि त मानिसको श्वासप्रश्वास प्रक्रियाको बाटो नै छेकिदिन्छ्यौ । अनि फोक्सोमा सत्ता जमाएर मानिसलाई तिम्रा पछि लाग्न बाध्य पारिदिन्छ्यौ ।
मानिस विज्ञान र प्रविधिको यस दुनियाँमा निकै अगाडि पुगिसकेको छ । चन्द्रमामा पाइला टेकेको त दशकौँ भयो । अन्य ग्रहहरूमा पनि मानिसको पदार्पण हुने प्रयास जारी छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा पनि मानिसले निकै ठूलो फड्को मारिसकेको छ । अब त मानव मुटु पनि परिवर्तन गर्न मिल्ने क्षमता विकास भएको छ ।
तिमी त कति शक्तिशाली ! तिम्रै लागि तीन महिनादेखि सडक त के पूरै देश बन्द छ । हामी मानिस घरकोठाभित्रै रमाएका छौँ । दुखम, सुखम चलेकै छ । तिम्रो शक्ति त अरम्पार छ कोरोना मैयाँ !
अन्य कुरा त सामान्य नै भइहाल्यो ! सुरुमा त हामीले तिमीलाई पनि तिम्रा पूर्वजहरू सार्स र मार्सकै सन्तान हौ भन्ने अनुमान गर्यौँ । त्यसै अनुरूप तिमीमाथि व्यवहार गर्यौँ तर हाम्रो यो ठम्याइ र बुझाइ फरक पर्न गयो । तिमी उस्तै उस्तै भए पनि धेरै फरक रहिछ्यौ, तिम्रा गुणका कारणले ।
तिम्रो आगमन थाहा पाएपछि मानिसहरूले आफ्नो सतर्कता देखाउन थाले । स्कूल, कलेज, सपिङ मार्ट, सार्वजनिक यातायात, जिमखाना, सिनेमाहल, भिडभाड हुने क्षेत्र बन्द गर्न थाल्यौँ । बुहानमा तिम्रा लागि नै भनेर बन्दाबन्दी समेत गर्यौँ । अनि तिमी बिस्तारै बिस्तारै विश्वका अन्य मुलुकहरूमा घुम्न थाल्यौ । जे सवारीसाधन पायौ, तिमी त्यसैमा सवार भएर स्वदेश–विदेशको यात्रा गर्न थाल्यौ ।
चीनबाट तिमी युरोपेली मुलुकमा प्रवेश गर्यौ । युरोपमा प्रसिद्धि कमाएका मुलुकहरू इटाली, फ्रान्स, बेल्जियम, स्पेन पुग्यौ र सारा युरोपभरि पुग्यौ । विज्ञान र प्रविधिको चरम विकास भएका देशहरूमा तिमी राम्रै प्रभाव छाड्न सफल भयौ । मानिसलाई व्यक्तिगत आचरणमा सुधार ल्याउन तिमीले कदम चाल्यौ र क्रमशः सफल हुँदैछ्यौ । साबुनपानीले हात धुन सिकायौ । हाछ्युँ गर्दा र खोक्दा नाकमुख छोप्न सिकायौ । मुखमा मास्क लगाएर हिँड्न सिकायौँ । घरमै बनाएको खान सिकायौ ।
विश्वको महाशक्ति भन्ने अमेरिका र त्यहाँका शक्तिशाली महामहिम राष्ट्रपतिलाई हायलकायल पार्ने तिम्रो शक्ति अपरम्पार छ । सुरुआति दिनमा त तिमीलाई हामीले कहाँ पत्यायौँ र ! ट्रम्प बाजेले पनि अनुमान नै नगरेका त कहाँ हुनु र तर बिस्तारै तिम्रो प्रभाव बढ्दै जान थालेपछि उनी पनि अलि आत्तिएछन् क्यार । अनि उनी पनि हात मिलाउन छाडेर दश औँला जोड्न थाले ।
कोरोना मैयाँ ! वास्तवमा तिमीले त ट्रम्प बाजेको पनि सेखी नै झारिदियौ । जुनसुकै बेलामा जे पनि गर्न पछि नपर्ने शक्तिशाली अमेरिका तिम्रासामु घुँडा नै टेकेर तिम्रो चित्त बुझाउने प्रयासमा छन् । तिमीले केटाकेटी, बूढाबूढी, जवान, कालो–गोरो, ठूलो–सानो, यो जात र ऊ जात, यो भाषा र त्यो भाषा, यो धर्म र त्यो धर्म, धनी र गरिब, राजा र रंक कसैलाई हेलाहोचो नगरी बराबर माया दिएकी छ्यौ ।
पहिले राजा र राष्ट्रपतिको सवारी हुँदा, विदेशका ठूला पाहुना आउँदा दुई–तीन घण्टा सडकमा यातायात बन्द हुन्थ्यो । फेरि ट्वाँ ट्वाँ र टुँ टुँ गर्दै, धुलो र धुँवा उडाउँदै उसैगरी गाडी चल्थे । मान्छेहरू गाडीभित्र ठेलाम्ठेल, फूटपाथमा उस्तै ! अस्पताल जाऊँ कि सिनेमा हल, गोष्ठीमा जाऊँ कि सपिङ मल, खुट्टो हाल्ने ठाउँ कतै नहुने !
तिमी त कति शक्तिशाली ! तिमै्र लागि तीन महिनादेखि सडक त के पूरै देश बन्द छ । हामी मानिस घरकोठाभित्रै रमाएका छौँ । दुखम, सुखम चलेकै छ । तिम्रो शक्ति त अरम्पार छ कोरोना मैयाँ ! भगवानको पूजा हुन्छ तर कहिल्यै दर्शन नपाइने, तिमी पनि दर्शन नदिने, दुवै अदृश्य शक्ति ।
ढिलै गरी सही, हामीले बेसार महात्म्य, तातोपानी महात्म्य र आत्मबल महात्म्य ध्यानपूर्वक सुनेका छौँ । हामी पिज्जा र पाउरोटीका ठाउँमा बेसार हालेको ढिँडो र लसुन झानेको कडी खान्छौँ ।
तिमी हिमालयको देश घुम्न आउने चर्चा चल्दै थियो । बुहानमा भएका हाम्रा नेपाली विद्यार्थीहरू लिएर आउने बेलामा यहाँ कत्रो त्राहिमाम भएको थियो । ती विद्यार्थीसँग त आइनौ तर उता युरोप पुगेर जहाजमार्फत नेपाल प्रवेश गर्यौ ।
तिम्रो आगमनको भेउ पाएर नेपाल सरकारले पनि भव्य तयारी नगरेको कहाँ हो र ! मित्रराष्ट्र भारतभन्दा एक दिन अघि नै देशै बन्द गर्यो । जो जहाँ छ त्यही बस्ने वातावरण बनाइदियो । असी दिनपछि अलिअलि बाहिर निस्किन थाल्दा तिमी खुसी भयौ कि क्या हो ! आफ्नो अदृश्य उपस्थितिको सूचना भटाभट दिन थाल्यौँ ।
मरुभूमिको हावा चिसो हिमालमा ठोक्किएर वहने, जताततै बेसार र अदुवा फल्ने, लसुन र प्याज झाँगिने देश नेपाल आउँदा तिमीले आफ्नो रूपमा निकै परिवर्तन गरिछ्यौ क्यारे ! न कसैलाई रुघा लाग्या छ न खोकी, न ज्वरो न सास फेर्न गाह्रो ! चालै नपाई २२ जना लगिसक्यौ । तिनले तातो पानीमा बेसार घोलेर खाइदिया भए, एक पटक हाछ्युँ गरेर उडाइदिया भए हुने ! तिम्रो केही सिप लाग्ने थिएन ।
नेपालमा तिम्रो आगमन अलिक ढिला गरी भयो । बस्न पनि ढिलैसम्म बस्छ्यौ जस्तो पो छ । साउन मसान्ततिर शिखर आरोहण गर्ने, भदौतिर बेसक्याम्प झर्ने, दशैँदेखि छठसम्म फेरि शिखर अरोहरण गर्ने र बिस्तारै बेसक्याम्प हुँदै फागुन मसान्तसम्ममा बिदा हुने तिम्रो कार्यक्रम सार्वजनिक भएको छ ।
ढिलै गरी सही, हामीले बेसार महात्म्य, तातोपानी महात्म्य र आत्मबल महात्म्य ध्यानपूर्वक सुनेका छौँ । हामी पिज्जा र पाउरोटीका ठाउँमा बेसार हालेको ढिँडो र लसुन झानेको कडी खान्छौँ ।
निढाँटी भनूँ, तिम्रो भ्रमण व्यवस्थापनमा हामीलाई कठिनै परेको छ । कठिन भएर के भयो त व्यवस्थापकको कमाइ पनि बढेको छ । सय पर्नेलाई हजार, हजार पर्नेलाई लाख, लाख पर्नेलाई करोड र करोड पर्नेलाई अर्ब गर्न पाएका छन् । गरिबलाई पाँच किलो दिएर तीस किलो, दश किलो दिएर साठी किलोको हिसाब देखाउन पाएका छन् । तिमी धन्य छ्यौ कोरोना मैयाँ !
हुन त मह काढ्नेले हात चाट्छ भन्छन् तर यहाँ महको घैँटै गायब हुन थाल्यो र पो हामी रंकलाई अलिक पिर परेको छ ।
नआउनु आइहाल्यौ, अब राजा र रंक सबैलाई बुद्धि दिएर जाऊ । हाम्रा नयाँ राजा, तिनका हुक्के, बैठके, चिलिमे, डोले, छाते सबै चेत्यौँ त भन्छन् तर हामी रंकलाई विश्वास भएको छैन । कोरोना मैयाँ ! सबैलाई कदमाफिक बुद्धि र विवेक दिएर जाऊ ।
प्रतिक्रिया