काठमाडौँ– कोरोनामुक्त भएपछि डाक्टर भोला रिजाल र उनकी पत्नी सरला अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डाक्टर रिजाल दम्पती २१ दिनको अस्पताल बसाइपछि आइतबार घर फर्किएका हुन् ।
अस्पताल बसाइमा सरलामा केही दिन समस्या देखिए पनि आफ्नो अवस्था सामान्य नै रहेको डा. रिजालले बताए । उनका अनुसार सरलालाई केही दिन कृत्रिम अक्सिजन र रेम्डेसिभिर औषधि दिनुपर्यो । अस्पतालबाट डिस्चार्ज भएपछि डाक्टर रिजालले अस्पताल बसाइको अनुभव हामीलाई सुनाए ।
डा. रिजालको भनाइ जस्ताको जस्तै:
हामी कोरोना जितेर भर्खरै घरमा आइपुगेका छौँ । हामी दुवैजना स्वस्थ भएर अहिले २ बजे (असोज ४ गते आइतबार) घरमा आयौँ । हामी २१ दिनपछि ह्याम्स हस्पिटलबाट घरमा आएका हौँ । हाम्रो अवस्था राम्रो छ ।
हामी ह्याम्स हस्पिटल र सबै स्टाफप्रति आभारी छौँ । सबैभन्दा ठूलो कुरा, देश विदेशबाट जति व्यक्तिहरूले हाम्रो स्वास्थ्यको लागि शुभकामना, शुभेक्षा र आशीर्वाद दिनुभयो, त्यही रहेछ सबैभन्दा काम लाग्ने कुरा, सबैको शुभेक्षा पाएर नै हामी कोरोना जितेर फर्किएका छौँ ।
हस्पिटल बसाइ एकदमै ‘वन्डरफुल’ भयो । २१ दिनसम्म हस्पिटल बस्नु ठूलो कुरा हो तर हाम्रो दिनचर्या एकदम राम्रो रह्यो । एउटा कोठाको पार्टेसनमा सरला एउटा र म एउटामा बसेको हुनाले हामीलाई एकदमै सजिलो भयो ।
अस्पतालमै पनि हामी चिया बनाएर खान्थ्यौँ । गुर्जोपानी, बेसारपानी, मसला पानी, चियाकफी एउटाले बनायो अर्कोले खायो, पालैपालो गरेर दिनभरिमा कम्तिमा पनि १०—१२ पल्ट खायौँ । दिनमा दुईपल्ट वाफ लिने गर्यौँ ।
त्यहाँ कसैलाई भेट्ने कुरा थिएन । बेलाबेलामा आफन्तहरू र शुभचिन्तकहरूसँग फोनमा कुराकानी गर्यौँ । तीन वटा छोरा, तीन वटी बुहारी र नातिनातिनाहरू बाहिर (विदेशमा) छन् । उनीहरूसँग एक एकछिन कुराकानी गर्दा पनि मजाले दिन बित्यो । वास्तवमा यो २१ दिन बितेको थाहै भएन ।
मलाई कृत्रिम अक्सिजन र अन्य औषधि आवश्यक परेन । सरलालाई केही दिन अक्सिजन आवश्यक पर्यो । उनलाई बीचमा ४—५ दिन सप्लिमेन्ट ट्रिटमेन्ट दिनुपर्यो । औषधि पनि चलाउनु पर्यो । रेम्डेसिभिर, ब्लड पातलो पार्ने फ्लेक्सनहरू, सुईहरू पनि लगाउनु पर्यो ।
यही बीचमा डाक्टर शशांक ओम अस्पतालमा जानुभयो । विजय लामा स्टार अस्पतालमा गए । हाम्रो डाक्टर भिसी ज्ञानेन्द्र गिरी धरानमा थिए । हामी सबैबीच सम्पर्क भइरहेको थियो । आआफ्नो इक्पिरिएन्स सेयर गर्ने र कुरा सुन्ने गर्यौँ । उनीहरूभन्दा म जेठोबाठो पनि भएँ, धेरै दिन अस्पतालमा पनि म भएँ । सजगता र जनचेतनाका कुराहरू पनि गर्यौँ ।
नेपालमा कोरोना छिटै घट्ने देखिँदैन । अहिले हाम्रो काठमाडौँ उपत्यकाको पपुलेसन ३०—३५ लाख होला । यति सानो ठाउँमा यति ठूलो पपुलेसन छ । सरकारले एक्लैले चाहेर कोरोना नियन्त्रण हुनै सक्दैन । मुलुकभर जति संक्रमण छ, त्यसको आधा संक्रमित काठमाडौँमा छन् ।
त्यसकारण, संक्रमण कम गर्ने हाम्रो एउटै उपाय के छ भने, सरकारले जारी गरेको मापदण्ड पालना गर्नुपर्छ । हात धुने, मास्क सही तरिकाले लगाउने, सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजानेजस्ता कुराहरू हामी सबैले पालना गर्यौँ भने संक्रमण नियन्त्रणमा आउने हो ।
यहाँ त कहिल्यै पनि सामाजिक दूरी कायम भएन । नाराजुलुस लगाउनेदेखि लिएर किनबेच गर्ने पसलहरूमा सामाजिक दूरी कायम गर्ने कुरा कार्यान्वयन भएन । त्यसले गर्दा संक्रमण बढ्दै गयो ।
अहिले पनि उपाय छ । हामी आफू बचेर अरूलाई पनि बचाउने । त्यसका लागि सरकारले तोकेको परिधिभित्र रहनुपर्छ । हामीले स्वास्थ्य मापदण्ड मान्नै पर्छ नत्र भोलि काठमाडौँमा दिनको ५ हजार संक्रमण हुन थाल्ला । त्यसपछि संक्रमण हुन को बाँकी रहन्छ र !
त्यसकारण, हामीले संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । संक्रमण भइसकेपछि पनि हेलचेक्रय्राइँ गर्नु हुँदैन । डराउनु पनि पर्दैन ।
उच्च मनोबल राखेर हामीले पालना गर्नुपर्ने कुराहरू आफू बच्न र अरूलाई बचाउन पालना गर्नै पर्छ । संक्रमण भएपछि पनि तातोपानी खाने, बाफ लिने गर्यौँ भने कोरोनाबाट धेरै डराउनु पर्दैन ।
एकले अर्कालाई जहिले पनि इन्करेज गर्ने भयो भने संक्रमितलाई संक्रमण जित्न पनि सजिलो हुन्छ । संक्रमितले सबैको हौसला पाएर साहस बटुल्यो भने संक्रमण जित्न सक्छ । कसैलाई फोक्सोमा समस्या भयो, सास फेर्न समस्या भयो भने घरमा नबस्ने, सुरुमै साधारण अक्सिजनमात्र पायो भने पनि संक्रमितलाई धेरै सजिलो हुन्छ । त्यसको उदाहरण हाम्रै धेरै डाक्टर नर्सहरू पनि छन् ।
प्रतिक्रिया