अदालतमा हाजिर भएनन् ‘तपस्वी’ बम्जन | Khabarhub Khabarhub

अदालतमा हाजिर भएनन् ‘तपस्वी’ बम्जन

पक्राउ गर्ने प्रयास असफल, अब मुद्दा एकतर्फी



काठमाडौँ- तपस्वी भनिने रामबहादुर बम्जनले अदालतमा हाजिर हुने म्याद गुजारेका छन् ।

आफ्नै अनुयायी किशोरीलाई बलात्कार गरेको आरोप लागेका बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीले अदालतमा हाजिर हुन गत कात्तिक २४ गते ३५ दिने सूचना जारी गरेको थियो ।

बम्जनलाई उनकै आश्रममा रहेकी १८ वर्षीया एक किशोरीलाई बलात्कार गरेको र यातना दिएको अभियोग छ । जिल्ला अदालत सर्लाहीका अनुसार अदालतमा हाजिर हुन तोकिएको अवधि सकिए पनि उपस्थित भएनन् ।

प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । बम्जनलाई खोज्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोलीले पटकपटक उनको आश्रममा छापा मारेको थियो ।

बम्जन फेला नपरेपछि उनीविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीमार्फत गत १८ असारमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको थियो । बम्जनविरुद्ध पक्राउको वारेन्टसमेत जारी भइसकेको छ ।

अब एकतर्फी मुद्दा

अदालतले तोकेको म्यादमा उपस्थित नहुँदा एकतर्फी रूपमा मुद्दा अघि बढ्नेछ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्ने काम प्रहरीको हो । प्रहरीले पक्राउ गर्न नसकेपछि अदालतले ३५ दिने सूचना जारी गरेको हो । वरिष्ठ अधिवक्ता रामनारायण विडारीका अनुसार तोकिएको म्यादमा अदालतमा उपस्थित नभए एकतर्फी रूपमा मुद्दा अघि बढ्छ र फैसला हुन्छ ।

किशोरीको बकपत्रपछि बम्जनले आफ्नो तर्फबाट वकिल समेत राख्न पाउने छैनन् । किशोरीको बकपत्र र मेडिकल रिपोर्टको आधारमा अदालतले फैसला गर्न सक्नेछ । विडारी भन्छन्, ‘प्रतिवादी नै अदालतमा उपस्थित नभएपछि उनीविरुद्धको मुद्दा झनै बलियो हुन्छ ।’

बिडारीका अनुसार मुद्दाको फैसला हुन्जेलसम्म पनि अदालतमा पनि उपस्थित नभए बम्जनले पुनरावेदनको अवसर समेत गुमाउँछन् ।

आखिर कहाँ छन् बम्जन ?

घटनाको विषयमा अध्ययन गरिरहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकारी बम्जन उनको आश्रम रहेको स्थान सिन्धुलीकै घना जङ्गलमा लुकेर बसेको हुनसक्ने आशंका गर्छन् । बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–९, पहिरेमा पर्ने घना जङ्गलस्थित आफ्नै आश्रममा छन् भन्ने सूचना पाएर गत असार ४ गते प्रहरीले त्यहाँ छापा मारेको थियो ।

बम्जन फेला नपरेपछि प्रहरीले उनीनिकटका केही अनुयायीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सीआईबीका प्रमुख, डीआईजी सहुकल थापा भन्छन्, ‘आश्रममा रहेका अनुयायीलाई सोधपुछ गर्दा उनीहरूले बम्जन पाताले ध्यान (जमिनमुनि गर्ने ध्यान) मा गएको बताए । कुनै अज्ञात स्थलमा जमिनमुनि ध्यानमा रहेको र अझै दुई वर्ष ध्यानमै रहने उनीहरूको जवाफ थियो ।’

प्रहरीले भने यस्तो भनाइमा विश्वास गरेको छैन । डीआईजी थापाका अनुसार बम्जनले पटकपटक मोबाइल फोन प्रयोग गरेको पाइएको छ । प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार उनी आश्रम आसपासमै कुनै सुरक्षित स्थानमा लुकेर बसेका हुनसक्छन् । यही आधारमा प्रहरीले खोजी जारी राखेको छ ।

प्रहरीको प्रयास असफल

आफूलाई ‘बोधीमार्ग दर्शनमैत्री धर्म’ का प्रवर्तक भन्ने बम्जन अहिले नेपाल प्रहरीको खोजीको सूचीमा छन् । उनलाई पक्राउ गर्न प्रहरी झण्डै एक वर्षदेखि प्रयासरत छ । तीनपटक त उनको आश्रममा छापा नै मारिसक्यो ।

गत असार ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कार्यदलको टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले गोलीगठ्ठा, तालिमप्राप्त कुकुर र अत्याधुनिक मेसिनसहित बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मारेको थियो ।

त्यसअघि २०७६ माघ २४ गते पनि सीआईबी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले आश्रममा छापा मारेको थियो । अझ त्यसअघि पुसमा पनि प्रहरीले पक्राउ गर्ने प्रयास गरेको थियो ।

बम्जनमाथि आरोपका चाङ

आफूलाई शान्तिका संवाहक, तपस्वी र लिटिल बुद्ध दाबी गर्दै आएका रामबहादुर बम्जनमाथि आपराधिक गतिविधिमा संलग्न भएको आरोप छ । मानिस बन्धक बनाएको, बलात्कार गरेको र हत्या गरेर बेपत्ता बनाएको आरोप उनीमाथि छन् । यसअघि बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीका अनुसार बम्जनमाथि हत्या र व्यक्ति बेपत्ता पारेको आरोप पनि छ । सीआईबी प्रमुख, डीआईजी थापाका अनुसार बम्जनमाथि आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी चिनीमाया तामाङ र मकवानपुरकी फूलमाया रूम्बालाई आश्रमबाट बेपत्ता पारेको आरोप छ । बम्जनको आश्रमबाट २०६९ देखि २०७२ बीचमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोकस्थित आश्रमबाट फूलमाया रुम्बा हराएको भन्दै खोजिदिन उनका भाइ विजय रुम्बाले निवेदन दिएका छन् । विजयको निवेदनअनुसार फूलमाया २०७१ माघदेखि बेपत्ता छिन् । फूलमायाबारे जिल्ला प्रहरी कार्यालय नुवाकोट पनि निवेदन परेको छ ।

नुवाकोटकै मेघान गाउँपालिकाकी चिनीमाया तामाङ २०६९ सालमा घर आएकी थिइन् । आश्रम जान्छु भनेर हिँडेकी चिनीमाया पनि बेपत्ता छिन् । चुन्मा भनेर बोलाइने फूलमाया र कर्मा भनेर बोलाइने चिनीमाया बम्जनको आश्रमका आनी थिए ।

चिनीमायाकी दिदी गङ्गामायाले नुवाकोट प्रहरीमा बहिनी खोजिदिन निवेदन दिएकी छन् । मकवानपुरका सञ्चलाल वाइबा र बाराका सुरेश आलेमगर पनि बम्जनकै आश्रमबाट हराएको भन्दै खोजीदिन प्रहरीमा निवेदन परेको छ ।

बम्जनले ‘धर्मसंघ बम्जन’ नाममा बाराको तत्कालीन रतनपुरी गाविसबाट जन्मदर्ताको प्रमाणपत्र बनाएका छन् । रामलाल बम्जनको नाममा २०५२ वैशाख ८ गते नै अभिभावकले जन्मदर्ताको प्रमाणपत्र बनाइदिए पनि २०६९ वैशाख १३ गते रतनपुरी गाविस कार्यालयबाट किर्ते जन्तदर्ता बनाएका थिए ।

प्रहरी अनुसन्धान अधिकारीहरूका अनुसार विदेशी युवतीलाई बन्धक बनाएको, विभिन्न व्यक्तिलाई दुर्व्यवहार गरेको, वनको जग्गा कब्जा गरेको, वन फडानी गरेको लगायतका आरोप पनि बम्जनमाथि छन् ।

प्राप्त प्रमाणहरू अनुसार रामबहादुर बम्जनको जन्म २०४६ सालमा बाराको तत्कालीन रतनपुरी गाविस–५, बुङजोरमा भएको हो । बम्जनले २०६२ जेठ २ मा सुरु गरेको र निराहार भनिएको तपस्या ६ वर्षपछि २०६८ जेठ २ मा सकिएको भनेपछि उनी चर्चामा आएका थिए ।

बाराको जङ्गलमा तपस्या गर्दै गरेको सार्वजनिक भएपछि ‘लिटिल बुद्ध’ उपमासहित समाचारहरु आएका थिए । शान्तिका दूत भगवान गौतम बुद्धभन्दा पनि आफूलाई शक्तिशाली, तेजस्वी, ज्ञानी र अहिंसावादी दाबी गर्ने तपस्वी भनिएका रामबहादुर बम्जनका प्रहरीलाई छल्दै लुक्न सफल भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रहरीले जति खोजे पनि किन पक्राउ पर्दैनन् बम्जन ?

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ०१ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक