काठमाडौं – छिमेकी चीन र भारतबाहेक भौगोलिकरूपमा नेपालको सबैभन्दा नजिकको मुलुक हो बंगलादेश ।
नेपाल र बंगलादेशको भौगोलिक दूरी केवल २२ किलोमिटर छ । दक्षिण एसियाका यी दुई देशले हासिल गरिरहेको आर्थिक वृद्धिको अन्तर भने सिलिगुरी करिडोरको ‘चिकेन नेक’ भन्दा धेरै छ ।
दुई दशकअघिसम्म पनि नेपाल र बंगलादेशको आर्थिक अवस्था करिब उस्तै थियो ।
धेरै भएको छैन, अघिल्लो फेब्रुअरीको अन्तिम सातामा बंगलादेशका वित्तमन्त्री अबु हेना मोहम्मद मुस्तफा कमलले दाबी नै गरिदिए– हाम्रो अर्थतन्त्रले मलेशिया र सिंगापुरलाई सन् २०२४ सम्म जितिदिनेछ ।
द बैंकर अखबारले सन् २०२० का लागि ‘फाइनान्स मिनिस्टर’ अफ द इयर घोषणा गरेका मुस्तफा कमलको भविष्यवाणी सत्य साबित होला नहोला तर अबको ४ वर्षभित्रै सिंगापुर र मलेशियाको अर्थतन्त्रलाई जित्ने विश्वास चानचुने होइन ।
सन् १९७१ को स्वतन्त्रता संग्रामपछि तहसनहस भएको बंगलादेश असफल राष्ट्र बन्ने बाटोमा थियो । चरम गरिबी उत्कर्षमा थियो ।
भ्रष्टाचार र अत्याधिक जनसंख्याले निम्त्याएको भारको चुनौती पनि बंगलादेशका लागि कम थिएन ।
सन् ८० को दशकको अन्त्य र ९० को दशकको शुरुसम्म बंगलादेशका अधिकांश मानिस खेतीपाती र माछाबाटै जीवन गुजारा गर्थे ।
उत्पादनमूलक क्षेत्र भन्नु जुट प्रशोधन उद्योगहरू मात्र थिए । त्यही बंगलादेशको अवस्था यतिबेला फेरिएको छ ।
इकोनोमिस्ट अखबारले हरेक वर्ष प्रकाशित गर्ने विशेष परिशिष्टांकमा सन् २०२० मा एसियामा कुल गार्हस्थ उत्पादनका आधारमा तीव्र आर्थिक विकास गर्ने मुलुकको सूचीमा बंगलादेशलाई तेस्रो नम्बरमा राखेको छ ।
उक्त अखबारका अनुसार यो वर्ष बंगलादेशले ७.७ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ ।
एसिया महादेशको सबैभन्दा ठूलो अर्थतन्त्र चीन शीर्ष १० मा नअटाएको यो सूचीमा भारत १०औं नम्बरमा छ ।
सन् २००५ यता बंगलादेशको औसत आर्थिक वृद्धि ६ प्रतिशत प्रतिवर्षभन्दा धेरैको छ ।
सन् २०१५ मा विश्व बैंकले बंगलादेशलाई न्यून आय भएको मुलुकको सूचीबाट हटाएर न्यून–मध्यम आयको मुलुकमा समावेश गरेको थियो ।
अन्तर्राष्ट्रिय मुद्राकोषको आर्थिक अपडेट विश्लेषण गर्दै अमेरिकी समाचार संस्था ब्लूमबर्गले सन् २०१९ मा विश्वको ८६ प्रतिशत आर्थिक वृद्धि बंगलादेशसहित विश्वका केवल २० मुलुकमा भएको उल्लेख गरेको थियो ।
एचएसइबी बैंकले यही दरअनुसार आर्थिक वृद्धि हासिल गरे सन् २०३० सम्म बंगलादेश विश्वको २६औं ठूलो अर्थतन्त्र हुने दाबी गरेको छ ।
सन् २००० मा बंगलादेशको करिब आधा जनसंख्या गरिबीमा थियो । एसियाली विकास बैंकको तथ्यांकअनुसार सन् २०१६ सम्म बंगलादेशले गरिबी आधा घटाएर २५ प्रतिशतको हाराहारी पुर्यायो ।
सन् २००० मा बंगलादेशमा औसत आयु ६५ वर्ष थियो । विश्व बैंकका अनुसार सन् २०१६ मा औसत आयु ७२ वर्ष पुग्यो । औसत आयु भारतमा ६८ वर्ष र पाकिस्तानमा ६६ वर्ष मात्र छ ।
सन् २००० मा बंगलादेशको कुल गार्हस्थ उत्पादन ५३ अर्ब अमेरिकी डलर हाराहारीमा थियो ।
विश्व बैंकका अनुसार सन् २०१८ मा बंगलादेशको कुल गार्हस्थ उत्पादन ह्वात्तै बढेर २ खर्ब ७४ अर्ब अमेरिकी डलर पुगेको छ ।
अर्कोतर्फ, सन् २०१७ मै पाकिस्तानको कुल गार्हस्थ उत्पादन केवल ३ खर्ब १४ अर्ब डलर छ ।
यसअनुसार चाँडै बंगलादेशले पाकिस्तानलाई कुल गार्हस्थ उत्पादनमा पछि पार्नेछ । सन् २००९ यतामात्र बंगलादेशको अर्थतन्त्र १८८ प्रतिशतले बढेको छ ।
स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि बंगलादेशको उपलब्धि लोभलाग्दो छ । सन् २०१८ मा बंगलादेशको साक्षरता दर ७२.९ प्रतिशत पुग्यो जब कि सन् २००७ मा केवल ४६.६६ प्रतिशत थियो ।
हरेक वर्ष सयौँ नेपाली विद्यार्थीहरू चिकित्सा शिक्षा पढ्न बंगलादेश जाने गरेका छन् । यसबाट बंगलादेशले उच्च शिक्षा क्षेत्रमा प्राप्त गरेको उपलब्धि अनुमान गर्न सकिन्छ ।
अर्थतन्त्रको मेरुदण्ड कपडा उद्योग
निकै लामो समयदेखि बंगलादेशले जुट उत्पादनमा ख्याति कमाएको थियो । बंगलादेशको परम्परागत निर्यातवस्तु कच्चा जुट र जुटका सामानहरू नै थिए ।
सन् १९८० को दशकतिर बंगलादेशले जुट उद्योगमा विविधता ल्याउने कार्यक्रम शुरु गर्यो । जुट उद्योगमा आश्रित बंगलादेशको निर्यात तयारी कपडाको उत्पादन एवं निर्यातमा केन्द्रित हुन थाल्यो ।
ठूलो आकारको जनसंख्यामा सस्तो ज्यालामा कामदार पाइने भएकाले विदेशी कम्पनीहरूले पनि बंगलादेशमा लगानी बढाउन थाले । अहिले बंगलादेश विश्वको तयारी कपडा बजारमा निकै प्रभावशाली मुलुक बन्न पुगेको छ ।
तयारी कपडा उद्योगले बंगलादेशको कुल निर्यातको ८१ प्रतिशत हिस्सा ओगट्छ । टेक्सटाइल र अपारेल क्षेत्रले त्यहाँको कुल गार्हस्थ उत्पादनमा २० प्रतिशतको योगदान गरेको छ ।
गार्मेन्ट उद्योगमा बंगलादेशका २ करोड भन्दा धेरै मानिस काम गर्छन् । चीनपछि बंगलादेश नै विश्व बजारमा सबैभन्दा धेरै कपडा निर्यात गर्ने मुलुक हो ।
निष्कर्ष
बंगलादेशका नकारात्मक पाटाहरू पनि उत्तिकै छन् । बंगलादेशमा चरम भ्रष्टाचार छ ।
ट्रान्स्परेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार सन् २०१९ मा बंगलादेश भ्रष्टाचार हुने २०० मुलुकमध्ये १६६औं स्थानमा थियो ।
त्यहाँ प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता पनि कमजोर रहेको बताइन्छ । क्षेत्रफलको आधारमा नेपाल जत्रै मुलुक बंगलादेशको जनसंख्या १६ करोड ५० लाख छ ।
बंगलादेशलाई हरेक वर्ष बाढीपहिरो र आँधीजस्ता प्राकृतिक प्रकोपले पनि सताउने गरेको छ । यी सबका बाबजुद बंगलादेशले हासिल गरेको आर्थिक उन्नति निकै लोभलाग्दो छ ।
प्रतिक्रिया