मानवता जगाउने अवसर « Khabarhub

मानवता जगाउने अवसर


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज हामी कोरोना भाइरस (कोभिड–१९) सँग धेरै डराएका छौँ । अरू देशमा रोग आयो, यति मानिस मरे भन्ने समाचार सुन्दा हामीलाई संवेदनाले छोएकै थिएन । आज एकाएक सन्त्रासमा उभिएका छौँ । मेरो छेउमा कोही नआओस् भन्दै घरको चौघेरामा थुनिएका छौँ । समाचार सुन्छौँ, विश्व रोहिरहेको देख्छौँ ।

आज हाम्रा वरिपरि सन्नाटा छाएको छ । बाटाघाटा, चौबाटो, चोक, बजार, पसल, सागसब्जी, दालचामल, चिनी सबैमा काल पो डुलिरहेको छ कि भन्ने त्रास छ, मलाई नै छुन्छ कि भन्ने डर छ । वास्तवमा हामी रोगसँग होइन, मृत्युसँग डराएका हौँ । मर्न सबैलाई डर लाग्छ ।

अरू पनि त आफूजस्तै हो । आफूजस्तै ठानेर अरूलाई बचाउन मानिस हत्तपत्त तयार हुन छाडेको छ । मानिस आफूलाई मात्र माया गर्छ । यही उसको भुल हो । अरूलाई माया नगर्नेले आफ्नालागि पनि माया पाउँदैन । अरूलाई नबचाउने आफू पनि बाँच्तैन । समस्या सबैलाई आउँछ । हामी सबै बस्ने पृथ्वी एउटै हो । आधुनिक सुविधाले विश्व सानो गाउँजस्तो भएको छ ।

आजको यो सन्त्रास विश्वभर एकै किसिमको छ । सन्त्रासको बीज चीनको बुहानबाट फैलियो । चीनले जरै उखेलेर फाल्ने प्रयास गर्‍यो । चीनका लागि सबै मिलेर सहयोगमा जुट्नुपथ्र्यो तर त्यो हाम्रो होइन भन्ने ठान्यौँ र बेवास्ता गर्‍यौँ । चीनको बुहान गुहार माग्दै रोयो । त्यो रुवाइले बाँकी विश्वलाई छोएन ।

एकाएक त्यो मृत्यु मानिसको आड लिएर जहार चढी विकसित मुलुकमा छिर्‍यो र विस्तारै महामारीको रूप धारण गर्‍यो । महामारी प्रवेश गरेको मुलुक रोयो तर छिमेकीहरू त्यता फर्किएनन् । फेरि जहाजकै सहायताले मानिसको आड लिएर ती छिमेकी मुलुकहरूमा मृत्यु छिर्‍यो । यसैगरी एकपछि अर्को गर्दै विश्व ढाकेको छ । यो रोग विश्वको साझा महामारी भयो ।

छिमेकी रुँदा वास्ता नगर्ने र छिमेकमा मरेका मानिस देखेर अलिकति पनि संवेदना नलिनेहरू पनि आज रुन लागेका छन् । सुरक्षाका अनेक प्राविधिक उपकरण र औषधि अनुसन्धानमा जुटेका छन् । अब यस्तो अवस्था सिर्जना भयो कि सहयोग गर्छु भनेर अहिले पनि ढुक्कसाथ कसैले भनेको छैन ।

सबै देशहरू आफ्नै जनधनको सुरक्षामा लागेका छन् । एउटा समाज अर्को समाजबारे सोच्न पाउँदैन, आफ्नै लाागि उपायको खोजिमा छ । एक परिवारले अर्को परिवारको सोधखोज गर्न सकेको छैन । परिवारका सदस्यहरू पनि एकापसमा सशंकित छन् । हाछ्यौँ गरे एक्लिएर अलग कोठामा बस्न बाध्य छ ।

विचार गरौँ त ! यहाँ परिवार, छिमेकी र समाजको के अर्थ रह्यो ? यसलाई देशहरूका सन्दर्भमा पनि बुझौँ । आज सबै आआफ्नै सुरक्षामा लागेका छन् । एकता विघटोन्मुख छ । मानिस एक्लिँदै गएको छ ।

देशहरू प्रविधि र भौतिक समृद्धिको उन्मादले शक्तिशाली बन्ने होडमा छन् । व्यक्तिमा पनि यही प्रवृत्ति छ । आधुनिक प्रविधिको आडमा कतै जातीय द्वन्द्व, कतै धार्मिक द्वन्द्व, कतै राजनीतिक द्वन्द्व त कतै रङ्गभेद चर्काएर आफू शक्तिशाली बन्ने अमानवीय कृत्य बढ्दै गएको छ । पैसा कमाउन हतियारको व्यापार मुख्य साधन भएको छ ।

मानिस सामाजिक प्राणी हो, परिवार, समाज, देश यही सामाजिकताको प्रतिविम्ब हो । एक देश र अर्को देशबीच दौत्य सम्बन्धको आधार पनि यही हो । एकापसको मित्रता दुःखकष्ट र आपतका बेला एकले अर्कोलाई सहयोगका लागि नै हो । तर, बिस्तारै यो तथ्य धुमिल हुँदै गयो । आआफ्नो दुनो सोझ्याउने प्रतिस्पर्धा बढ्यो । एकापसमा सहयोगी हुने मानवीय संस्कार कमजोर हुँदै गयो ।

धनीले गरीबलाई आफ्नो उन्नतिमा प्रयोग गर्न थाल्यो । सम्पन्न देशहरूले गरिब देशहरूको प्राकृतिक स्रोत आफ्नो बनाउन हरतरहले प्रयास गरे । शक्ति सम्पन्नको शर्त नमाने आतंककारी र अप्रजातान्त्रिक कारार हुने अवस्था भयो । शक्तिशाली देशले गरिब देशमा आफ्नो इशारामा काम गर्नेलाई सत्तामा पर्‍याइदिए ।

जनप्रेम, देशप्रेम र विश्वप्रेमको नारा र मानवता रुग्ण बन्दै गयो । शान्तिका नाममा युद्ध र रासायनिक, आणविक, जैविक हतियारहरू विस्फोट भए । दैत्यप्रवृत्ति बढ्दै गयो ।

आजसम्म आइपुग्दा शिक्षादीक्षा मानवताका लागि भएन । शिक्षाले शक्तिशाली हुने, प्रविधियुक्त बन्ने र अथाह सम्पत्तिको मालिक बन्ने सपना देखायो । विकासका नाममा विषादि फैलिन थाल्यो । मानवताका नाममा स्वार्थ हाबी भयो । मानिसमा एकता, समता, सहिष्णुता, स्नेह, करुणा र दया कमजोर बन्दै गयो । पहिलो र दोस्रो विश्वयुद्ध यस्तै प्रवृत्तिका परिणाम थिए । अहिले त्यो प्रवृत्ति झन् घनिभूत भएको छ ।

देशहरू प्रविधि र भौतिक समृद्धिको उन्मादले शक्तिशाली बन्ने होडमा छन् । व्यक्तिमा पनि यही प्रवृत्ति छ । आधुनिक प्रविधिको आडमा कतै जातीय द्वन्द्व, कतै धार्मिक द्वन्द्व, कतै राजनीतिक द्वन्द्व त कतै रङ्गभेद चर्काएर आफू शक्तिशाली बन्ने अमानवीय कृत्य बढ्दै गएको छ । पैसा कमाउन हतियारको व्यापार मुख्य साधन भएको छ ।

देश विकसित र सभ्य बनाउने चिन्तनले आएका राजनीतिक वाद र मानव सभ्यता विकसित गर्न स्थापित आध्यात्मिक चिन्तन तथा धार्मिक सम्प्रदायहरू युद्धका आधार बनाइए । यो सबै भौतिक उन्नति गर्ने लोभको परिणति हो । मानवअधिकार फगत भन्ने कुरा भयो । मानवताविनाको मानवअधिकारको कुरा चर्कियो ।

विश्वमा रिस, ईष्या र द्वेषको डढेलो सल्किएको छ । म साम्यवादी, म समाजवादी, म प्रजातान्त्रिक भन्ने दम्भ बढ्दै । धर्मका नाममा उन्माद बढ्दै छ । पैसाको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने होड बढ्दैछ ।

यसरी आज विश्वमा शक्ति प्रदर्शनको ज्वाला दन्किएको छ । व्यक्तिगतरूपमा मानिस आफूभित्र शान्तिको शीतल छहारी खोज्दै छ । त्यो शीतलता भौतिक उन्नतिले मात्रै दिँदैन । बाहिरी दुनियाँ भौतिक छ । शान्ति र शीतलतासहितको मानिसमा मात्र मानवीयता हुन्छ । मानवता आध्यात्मिकतामा हुन्छ ।

अब हामीले घरमै बसेर सोच्ने बेला आएको छ । हामीलाई पुस्तकले सिकाउन सकेन । विद्वानका प्रवचनले बुझाउन सकेन । त्यसैले कोरोनाले घरमै बसेर आफूलाई चिन्न सिकाएको छ । लामो समय मानिस बाहिर फर्किएकाले हृदयतिर फर्कन सकेकको छैन । घर नै जेलजस्तो लाग्न थालेको छ ।

सह नाववतु– हामी एक आपसमा सँगै सुरक्षित रहन सकौँ, सहनौ भुनक्तु– साथमा मिलेर समानरूपमा उपभोग गर्न सकौँ, सह वीर्यं करवावहै– सँगै पराक्रम गर्न सकौँ, तेजस्निवाधितमस्तु– सिकेका कुरा समानरूपले तेजस्वी हुन सकून्, मा विद्विषा वहै– एक आपसमा रिस, राग र द्वेष नरहोस् ।

यस्तो भाव र चिन्तन अनुरूपको व्यवहार आध्यात्मिकता हो । सुख र शान्ति मानसिक कुरा हो । समृद्धि प्रविधिले मात्रै होइन मानवता र प्राकृतिक स्रोतले हुने हो । यो कुराको बोध हुन अध्यात्म जागृत हुनुपर्छ ।

अध्यात्म चेतनाको विनाश भएकैले मानिसबाहेकका प्राणीहरू घोर अन्यायमा परे । मानिसले अन्य प्राणीलाई उपभोगको सामग्रीमात्र ठान्यो । उनीहरूको पीडा अलिकति पनि महसुस गर्न सकेन । मानिस हुनुको मर्यादा आजको भौतिकवादी मानिसले गुमाएको छ । मानिसले सबै प्राणी खायो । छटपटाउँदै गरेको जीवलाई आफ्नो स्वादका लागि उम्लिँदै गरेको तेलमा हाल्यो । प्रकृति जीवित राख्ने सारा जीवजन्तु मानवका आहार बन्दै जाँदा प्रकृतिमा विकृति पैदा भयो ।

आजका भयानक रोगहरू यही प्रवृत्तिका परिणाम हुन् । प्रकृति विरुद्धको काम विनाशलाई निम्ता हो । मानव संस्कार विकृत हुनुको परिणाम हो आजको कोरोना भाइरसको महारमारी । औषधि पत्ता लागे पनि विकार रहुन्जेल एकपछि अर्को महामारी आइरहन्छ । सङ्गगतिले संयोग बनाउँछ, विसङ्गतिले वियोग ।

अहिले मानिस विसङ्गत छ । हामी मानिसले प्राकृतिक, सामाजिक, राजनीतिक, धार्मिक हरेक क्षेत्रमा विसङ्गति ल्यायौँ ।

हामी भौतिक सभ्यताबाट मानवसभ्यतातिर फर्कन सक्छौँ । यो विषयुक्त वातावरणलाई अमृतमा बदलेर सुख र शान्तिले बाँच्न सक्छौँ । आत्मवत् सर्वभूतेषु, सबै प्राणीलाई आफूझैँ ठानौँ । यही प्रज्ञा हो । अब आत्मिक प्रज्ञा बढाऔँ । यसो भएपछि एकापसमा सहयोगी भावना आउँछ र सहयात्रा प्रारम्भ हुन्छ । सहयात्राले सँगै विकसित हुने अवसर दिन्छ । सच्चा मानव बन्ने संकल्प गरौँ ।

अब हामीले घरमै बसेर सोच्ने बेला आएको छ । हामीलाई पुस्तकले सिकाउन सकेन । विद्वानका प्रवचनले बुझाउन सकेन । त्यसैले कोरोनाले घरमै बसेर आफूलाई चिन्न सिकाएको छ । लामो समय मानिस बाहिर फर्किएकाले हृदयतिर फर्कन सकेकको छैन । घर नै जेलजस्तो लाग्न थालेको छ । बाहिर रमाउने मानिस भित्र रमाउन सकेको छैन । बरु प्रहरीको लाठी खान्छ । राज्यको आदेश नमानेर बाटैमा उभिन्छ र दण्डका रूपमा बाटो बढार्न तयार हुन्छ ।

मानिस उपचारका सामान किन्दा कमिसन खाने मन्त्री हुन खोज्छ । राहत वितरण गर्ने मानिस आफैँ सामान लुकाएर नेता हुन खोज्छ । समस्यामा जात, धर्म, लिङ्ग, राजनीतिक दल, धनी, गरिबको वर्ग केही हुँदैन । समस्या मानवतामा आउँछ । धन र पदले मानिस एकोहोरो भएको छ । मानव हुनका लागि चैतन्य जागा हुनुपर्छ तर मानिस चैतन्यहीन भौतिक वस्तु भएको छ । भौतिक चेतनाले विवेक भ्रष्ट बनाइदिन्छ ।

नैतिक चेतनाले बुद्धि सकारात्मक र जिम्मेवार बनाइदिन्छ । आध्यात्मिक संस्कारले कर्तव्यनिष्ठ बनाउँछ । समाजले दिएको दायित्व सबैले निर्वाह गरिदिए कति राम्रो हुन्थ्यो ! कोरानाबाट हामी सुरक्षित रहन सक्छौँ । यसका लागि हरेक मानिस सुरक्षित रहनुपर्छ । जनताको आवश्यकता पूरा गर्न सरकार कटिबद्ध भएर लागे पुग्छ ।

अनादि कालदेखि विपत्तिहरू आए तर मानव ज्ञान र मर्यादाबाट सुरक्षित रहँदै आएको हो । अब पनि सुरक्षाको मार्ग यही हो । मानवता हराएपछि दुर्घटना आउँछ । कोरोनाले मानव सभ्यताको शिक्षा दिएको छ । हात जोडेर नमस्कार गर्ने र बाहिर गएर घर फर्किएपछि हातगोडा धुने शिष्टता सिकाएको छ । मन र आत्माका लागि कर्म गर्नुपर्छ भन्ने सिकाएको छ । मनलाई भौतिकताबाट हार्दिकतातिर लैजाऔँ । बुद्धिलाई आत्मज्ञान लिने प्रज्ञामा बदलौँ ।

हामी भौतिक सभ्यताबाट मानवसभ्यतातिर फर्कन सक्छौँ । यो विषयुक्त वातावरणलाई अमृतमा बदलेर सुख र शान्तिले बाँच्न सक्छौँ । आत्मवत् सर्वभूतेषु, सबै प्राणीलाई आफूझैँ ठानौँ । यही प्रज्ञा हो । अब आत्मिक प्रज्ञा बढाऔँ । यसो भएपछि एकापसमा सहयोगी भावना आउँछ र सहयात्रा प्रारम्भ हुन्छ । सहयात्राले सँगै विकसित हुने अवसर दिन्छ । सच्चा मानव बन्ने संकल्प गरौँ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ०३ बजे

बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल

मुगु-  मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ

दशैँमा २० लाखले उपत्यका छोड्ने

काठमाडौँ– बडादशैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या

थप ५३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक

पर्यटकको रोजाईमा मनाङको फापर खेती

लमजुङ– समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

काठमाडौँ– गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन