कोरोनासँग जुध्न आहार, व्यायाम र उच्चमनोस्वास्थ्य महत्वपूर्ण – प्रधानमन्त्री ओली « Khabarhub

कोरोनासँग जुध्न आहार, व्यायाम र उच्चमनोस्वास्थ्य महत्वपूर्ण – प्रधानमन्त्री ओली


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय पुनः दोहोर्‍याएका हुन् ।

‘यतिबेला सिंगो विश्वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

योग साधना र अभ्यासलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न पनि उनले आह्वान गरेका छन् ।

‘आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन्,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’

सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ ।

सन्देशमा ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको समेत बताएका छन् ।

शुभकामना सन्देशको पूर्ण पाठ

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । योग साधनामा समाहित तमाम साधक/साधिका र योग गुरुहरुलाई यस दिवसका अवसरमा विशेष शुभकामना भन्न चाहन्छु ।

योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । हामीले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने परम्परा समेत थालनी गरेका छौं । मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ । तनाव, अवसाद, द्वेष, ईर्श्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्‍याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पुर्‍याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।

योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो । योग साधनाले तनाव ब्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पुर्‍याउँछ । हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे उल्लेख गरिएको छ । जसमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या छ । भागवत गीतामा श्रीकृष्णले बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेका छन् ।

हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल हो । प्राचीन कालमा यस भूमिमा ऋषिमुनिहरुले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वैदिक पद्दतिको विकास गरेका थिए । आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरक संहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको छ । आयुर्वेदमा कायचिकित्सा, शल्यचिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन् । शल्यचिकित्साको सबै भन्दा पुरानो ग्रन्थ मानिने महर्षि सुश्रुतको सुश्रुत संहितामा शल्यचिकित्साका प्रक्रिया र औजारहरु बारे वर्णन छ । योग शास्त्र र आयुर्वेदमा हाम्रो क्षेत्रका औषधीय बनस्पतिको वर्णनबाट योगलाई आधुनिक चिकित्सकीय ज्ञानको स्रोत र यहाँका बनस्पतिलाई औषधिको स्रोतका रुपमा बुझ्न सकिन्छ । यहाँका बनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको पाइन्छ । अर्थात् प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको छ ।

यतिबेला सिंगो विश्वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधीरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ । आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन् । अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।

अन्त्यमा, छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

केपी शर्मा ओली

प्रधानमन्त्री
७ असार, २०७७

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : ५४ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय