कोरोनाविरूद्धको खोपमा बेलायतलाई सफलता, मानिसमा गरिएको परीक्षण सफल « Khabarhub

कोरोनाविरूद्धको खोपमा बेलायतलाई सफलता, मानिसमा गरिएको परीक्षण सफल


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो, जसको नतिजा ‘ल्यान्सेट’ भन्ने मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ।

खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको रिपोर्टमा उल्लेख छ। वैज्ञानिकहरूले यो नतिजालाई ‘एकदमै उत्साहजनक’ भनेका छन्। तर, यसलाई सार्वजनिक प्रयोगमा ल्याउनुअघि योभन्दा बृहत स्तरको क्लिनिकल परीक्षण गरिने उनीहरूले बताएका छन्।

बृहतस्तरमा पनि सफल भए अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरूद्धको खोप विकासमा पाएको यो सफलता विश्वमै पहिलो हुनेछ । यो खोपलाई लिएर यसका निर्माताहरू मात्र होइन, बेलायत र अमेरिकासमेत एकदमै आशावादी भएका छन्।

बेलायतले अनुसन्धानको अन्तिम नतिजा आउनुअगावै १० करोड डोज खोप अर्डर गरिसकेको छ। अमेरिकाले पनि अनुसन्धानलाई तीव्रता दिन एक अर्ब २० करोड डलर उपलब्ध गराउने निर्णय गरेको बताइएको छ। यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमासमेत लिइएको छ।

अक्सफोर्ड विश्वविद्यालयले बेलायती–स्वीडिस औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकासँग मिलेर खोप निर्माण गरेको हो।

वैज्ञानिकहरूले यो खोप बनाउन यस्तो भाइरस प्रयोग गरेका छन्, जसले चिम्पान्जीहरूमा रूघा लाग्छ। उनीहरूले त्यो भाइरसलाई प्रयोगशालामा नयाँ ढंगले विकास गरेर कोरोना भाइरससँग मिल्दोजुल्दो बनाउँदै  मान्छेलाई असर नगर्ने किसिमको बनाएका छन् ।

यो खोप लगाएपछि मान्छेको शरीरमा जुन एन्टिबडी अर्थात् मानव शरीरको रोग प्रतिरोधक प्रणालीले विकास गर्ने प्रोटिनका कणहरू विकास हुने र,  त्यसले कोरोना भाइरसलाई परास्त गर्न सक्ने दाबी गरिएको छ।

परीक्षण रिपोर्टअनुसार खोप लगाएका व्यक्तिमध्ये ९० प्रतिशतमा एउटा डोज लगाउनेबित्तिकै एन्टिबडी विकास भएको थियो। जम्मा १० जनालाई मात्र दुईवटा डोज लगाइएको थियो। उनीहरूमा पनि एन्डिबडी विकास भएको रिपोर्टमा छ।

यो खोप लगाएपछि रगतमा ‘टी-सेल’ निर्माण भएको पाइएको छ, जसले कोरोना भाइरसबाट संक्रमित कोषहरू नष्ट गर्न मद्दत गर्दछ भने शरीरमा भाइरस फैलिन नदिन वैज्ञानिकहरूको दाबी छ ।

रिपोर्टअनुसार यो खोप लगाइएका व्यक्तिमा १४ दिनपछि टी-सेल विकास भएको पाइएको थियो भने २८ दिनपछि एन्टिबडी विकास भएको थियो। तर, त्यसको प्रभावको समयावधिबारे केही पनि उल्लेख गरिएको छैन ।

अब बेलायतमा हुने अर्को चरणको परीक्षणमा १० हजारभन्दा बढी व्यक्तिलाई खोप दिइनेछ। खोपको प्रभावकारिता सुनिश्चित गर्न कोरोना भाइरस तीव्र गतिले फैलिरहेका अन्य मुलुकमा पनि परीक्षण गर्ने बताइएको छ ।

अमेरिकामा ३० हजारभन्दा बढीमा खोप परीक्षण गरिँदैछ भने दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार व्यक्तिमा खोप परीक्षण गरिँदैछ।

बृहत परीक्षणमा पनि सफल भए सन् २०१९ को डिसेम्बर ३१ देखि मानिसहरूलाई आक्रान्त बनाउँदै आएको कोरोना भाइरसकाविरूद्ध लड्न खोपका माध्यमबाट पनि सकिने वैज्ञानिकहरूले बताएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : ४७ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात