ढुङ्गा तस्करीले कृषकको उठिबास, नेपाल कटान गर्दै मेची नदी « Khabarhub

ढुङ्गा तस्करीले कृषकको उठिबास, नेपाल कटान गर्दै मेची नदी



झापा । पाँच वर्षअघि झापा मेचीनगर नगरपालिका–१, पाटापुरका बासिन्दा बलराम पुरीले मेची नदीले बगाएको आफ्नो धानखेत देखाउँदै भनेका थिए, ‘वर्षेनी अलिअलि कटान हुन्थ्यो तर यो साल मेची उर्लिएर आएको छ, त्यहाँ मेरो ६ बिगाह धानखेत थियो, अब कतिखेर गाँउ बगाउने हो थाहा छैन ।’

पुरीले स्थानीय प्रशासनसँग गुहार पनि मागे । तत्कालीन प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनको समस्या समाधान चाँडै हुने आश्वासन पनि दिए तर पाँच वर्ष बित्यो, समस्या घट्नुको साटो अझ बढेको छ । बरु समस्याले अर्को रूप लिएको छ । मेची नदीले लगभग तीन सय मिटर बढी नेपालतिर जमिन कटान गरेको छ ।

पाटापुर र तिरिङ कटान हुनुको प्रमुख कारण नै चुरेक्षेत्रको अप्राकृतिक र अवैध उत्खनन् भएको स्थानीय बासिन्दा ओम पुरीको भनाइ छ । उनका अनुसार चुरे दोहनको कारणले नै यस क्षेत्रमा सयौँ विघाह जमिन कटान भइसकेको छ ।

मेचीनगर नगरपालिका मौनता र स्थानीय माफियाहरूको दादागिरी नै विनाशको प्रमुख कारण हो ।

‘चुरे दोहन नगरौँ भनेर आवाज उठाएको वर्षौं भयो, कसैले सुनेनन्,’ ओम भन्छन्, ‘भारततर्फ जङ्गल झाँगिदै आउँदैछ, नेपालपट्टि खोला सर्दैछ, पैसाको अगाडि आफ्नो गाँउको माया केही होइन रहेछ ।’

माफियाहरूले नेपालपट्टिको भागमा नदीजन्य पदार्थको अत्यधिक उत्खनन गरेका कारण नदी नेपालपट्टि सरेको छ ।

आठ वटा सीमा स्तम्भ, १० नम्बरदेखि १७ नम्बरसम्म, हराएका छन् । खोला सरेपछि नेपालपट्टिको भूभाग पनि भारतको रहेको दाबी गर्दै भारतीयहरूले ढुङ्गा निकाल्ने गरेका छन् ।

पाटापुरको उत्तरी सीमानामा रहेको रोङ गाँउपालिका–६, सलकपुरका बासिन्दा सोही अवैध उत्खननको चपेटामा परेका छन् । चुरेको नदीजन्य उत्खननले सलकपुरमा जमिन भासिने, पानीको मुहान सुक्नेजस्ता प्राकृतिक समस्या देखापरेको रोङ–६ का वडाध्यक्ष सुवास तामाङले बताए ।

अवैध उत्खननमा संलग्न मानिसहरू र उत्खननमा प्रयोग भएका ट्याक्टर नियन्त्रणमा लिएर आइन्दा अवैध गतिविधि नगर्ने शर्तमा जरिवाना गराउने गरेको सलकपुर प्रहरीले बताएको छ ।

रातारात हजारौँ घनमिटर ढुङ्गा गायव

प्राकृतिक स्रोतको विवादमा झापा र इलामका स्थानीय तहहरूबीच पटकपटक विवाद हुने गरेको छ । गत फागुनमा सलकपुरपट्टिको ढुङ्गा चोरी भएको भन्दै झापाको बाहुनडाँगीतर्फ सिँचाइ हुने सिद्धिखोला नहर नै सलकपुरबासीले बन्द गरिदिएका थिए ।

सोही विवादको कारण इलामको रोङ गाउपालिकास्थित मेची नदी किनाराको चुरे क्षेत्रबाट स्थानीय तस्करहरूले चोरेर ल्याएको ७ हजार ५ सय घनमिटर ढुङ्गा तिरिङखोला बगरमा भण्डारण गरेर बिक्री गर्न लागेको अवस्थामा मेची नगर नगरपालिकाले जफत गरेको थियो ।

जफतपछि नगरपालिकाले गत साउन ५ गते ढुङ्गा लिलाम बिक्रीका लागि ठेक्का आह्वान गरेको थियो । नगरपालिकाले निकालेको सूचनाका आधारमा १६ लाख रुपँया कबोल गरी तस्करीमै संलग्न रहेका स्थानीय एक व्यक्तिले ठेक्का हात पारेका थिए । सुब्बाले नगरपालिकासँग कबोल गरेको रकम बराबरको सम्झौता हुनुअगावै भण्डारण गरिएको क्षेत्रबाट ढुङ्गा गायब भएको छ ।

सम्झौता अघि नै ढुङ्गा गायव भएको विषयमा मेचीनगर नगरपालिकाले अनभिज्ञता प्रकट गरेको छ । प्रमुख कार्याकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङले बाढीले बगाउने भएकाले तिरिङखोला बगरबाट सुरक्षित स्थानमा सारिएको कुरा आफूलाई मेयर विमल आचार्यले मौखिक जानकारी गराएको बताए ।

खाम्याहाङले भनेको ठाउँमा उक्त ढुङ्गा भण्डारण गरिएको छैन । उनले ठेक्का लिएका व्यक्तिसँग सम्झौता हुन बाँकी रहेको बताए । नगरपालिकाका कर्मचारी र ढुङ्गा तस्करीमा संलग्न व्यक्तिहरू र ट्याक्टरवालाको मिलेमतोमा उक्त ढुङ्ग बिक्री गरेको स्रोतको भनाइ छ ।

ढुङ्गा तस्करी गर्न गाँउमा सयभन्दा धेरै ट्याक्टर

मेची नदी आसपासको ढुङ्गा तस्करीका लागि मात्रै बाहुनडाँगीको तिरिङ र बासे क्षेत्रमा करिब एक सयवटा ट्याक्टर छन् । उत्खननका लागि तस्करीमा संलग्न दुई व्यक्तिका जेसिबी मेसिन र टिपर समेत छन् । सरकारले कृषि अनुदानमा एक प्रतिशत भन्सार शुल्कमा उपलब्ध गराएको ट्याक्टर यो क्षेत्रमा खुलेआम तस्करीमा प्रयोग भएको छ ।

छोटो समयमै पैसा कमाउन सजिलो उपायका रूपमा गाउँका कतिपय व्यक्तिहरू कृषि पेशा छाडेर अवैध उत्खनन् र ओसारपसारमा लागेका छन् । उनीहरूले वर्षैपिच्छे इलामको रोङस्थित मेची किनाराबाट चोरी गरेका ल्याएको ढुङ्गा तिरिङ क्षेत्रमा भण्डारण गर्ने र उचित समयमा ठेकेदारसँगको मिलेमतोमा वैध बनाई बिक्री गर्ने गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : ५० बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमाः सङ्कट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको