आर्यघाटमा दैनिक ४० शव, मलामीको घुइँचोमा संक्रमणको जोखिम « Khabarhub

आर्यघाटमा दैनिक ४० शव, मलामीको घुइँचोमा संक्रमणको जोखिम



काठमाडौँ—  बुधबार बिहान ११ बजे पशुपति आर्यघाट पुगेका बालाजुका राम यादव बेलुकी ७ बजेमात्र घर फर्किन सके । उनी छिमेकीको मृत्युमा मलामी गएका थिए । शव जलाउने पालो ३ घण्टापछि मात्र आयो ।

‘सबै काम सक्दा साँझ भयो, समयमै पालो पाएको भए ४ बजेतिर नै फर्किसक्थेँ,’ उनले भने, ‘पहिले शव जलाउन यसरी पालो कुर्नु पर्दैनथ्यो ।’

मूलपानीबाट आर्यघाटमै मलामी पुगेका अनिश महतको समस्या पनि उही थियो । कारण शव जलाउन पालो पाउनै मुस्किल ।

लकडाउनको समयमा निकै खाली पशुपति आर्यघाटमा अहिले पालो कुर्नु पर्छ । कोरोना महामारीका कारण सरकारले बाक्लो जमघट नगर्न र भौतिक दूरी कायम गर्न भनेको छ । आर्यघाटमा भने सामान्य अवस्थामा झैँ मलामीको लर्को देखिन्छ ।

लकडाउनको समयमा आर्यघाटमा अन्त्येष्टिका लागि फाटफुटमात्रै शव लैजाने गरेकोमा केही दिनयता दैनिक औसत ४० शवको अन्त्येष्टि हुने गरेको छ ।

विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भन्छन्, ‘हिजोआज लकडाउनको जस्तो अवस्था छैन । सबै क्षेत्र लगभग सामान्य झैँ छ । आर्यघाटमा शवको चाप पनि पहिलाको जस्तै छ ।’

४ महिनामा १८०० शव 

चैत १२ गतेबाट भएको देशव्यापी लकडाउन साउन ६ मा अन्त्यको घोषणा भयो । पशुपति घाट सेवाका प्रमुख कुमार थापाका अनुसार लकडाउन अवधिमा १८०० हाराहारी शवको अन्त्येष्टि भयो । यो संख्या दैनिक सरदर १५ हो । उनका अनुसार असोज र कात्तिक दुई महिनामा मात्रै करिब २ हजार ५ सय शवको अन्तेष्टि भएको छ । यो संख्या दैनिक सरदर ४१ हो ।

उनका अनुसार लकडाउनअघि सामान्य अवस्थामा आर्यघाटमा दैनिक सरदर ४० शव र विद्युतीय शवदाह गृहमा दैनिक सरदर २० शवको अन्त्येष्टि हुन्थ्यो । अहिले पनि लकडाउनअघिकै संख्यामा शवको अन्त्येष्टि हुने गरेको छ ।

आर्यघाटमा शवको संख्या बढ्दै जाँदा मलामीको भिड पनि उत्तिकै बढेको छ । मलामीको भिडमा कोरोना भाइरस संक्रमण जोखिम पनि बढेको छ ।

चल्दैनन् सबै घाट

आर्यघाटमा १० वटा घाट छन् । तीमध्ये हाल ८ वटा मात्र प्रयोगमा छन् । अर्थात् एक पटकमा ८ शवमात्र जल्छन् ।

घाट पाउन पालो कुर्नु पर्दा मलामीको भिड बढ्ने गरेको छ । अझ मलामी जाने सबैले स्वास्थ्य सावधानीका उपाय पनि अपनाएका हुँदैनन् ।

पशुपति क्षेत्र विकास कोषले थोरै मात्र मलामी आउन अनुरोध गरेको छ । संक्रमणको जोखिमबाट जोगिन मलामी थोरै आउन तथा आपसी दूरी कायम गर्न र मास्क लगाउन कोषका सदस्य सचिव ढकालको आग्रह छ ।

कोषले अब सबै घाट प्रयोग गर्ने तयारी पनि थालेको छ । हाल विद्युतीय शवदाह गृहमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको मात्र अन्त्येष्टि हुने गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : ३३ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान