आर्यघाटमा दैनिक ४० शव, मलामीको घुइँचोमा संक्रमणको जोखिम | Khabarhub Khabarhub

आर्यघाटमा दैनिक ४० शव, मलामीको घुइँचोमा संक्रमणको जोखिम



काठमाडौँ—  बुधबार बिहान ११ बजे पशुपति आर्यघाट पुगेका बालाजुका राम यादव बेलुकी ७ बजेमात्र घर फर्किन सके । उनी छिमेकीको मृत्युमा मलामी गएका थिए । शव जलाउने पालो ३ घण्टापछि मात्र आयो ।

‘सबै काम सक्दा साँझ भयो, समयमै पालो पाएको भए ४ बजेतिर नै फर्किसक्थेँ,’ उनले भने, ‘पहिले शव जलाउन यसरी पालो कुर्नु पर्दैनथ्यो ।’

मूलपानीबाट आर्यघाटमै मलामी पुगेका अनिश महतको समस्या पनि उही थियो । कारण शव जलाउन पालो पाउनै मुस्किल ।

लकडाउनको समयमा निकै खाली पशुपति आर्यघाटमा अहिले पालो कुर्नु पर्छ । कोरोना महामारीका कारण सरकारले बाक्लो जमघट नगर्न र भौतिक दूरी कायम गर्न भनेको छ । आर्यघाटमा भने सामान्य अवस्थामा झैँ मलामीको लर्को देखिन्छ ।

लकडाउनको समयमा आर्यघाटमा अन्त्येष्टिका लागि फाटफुटमात्रै शव लैजाने गरेकोमा केही दिनयता दैनिक औसत ४० शवको अन्त्येष्टि हुने गरेको छ ।

विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भन्छन्, ‘हिजोआज लकडाउनको जस्तो अवस्था छैन । सबै क्षेत्र लगभग सामान्य झैँ छ । आर्यघाटमा शवको चाप पनि पहिलाको जस्तै छ ।’

४ महिनामा १८०० शव 

चैत १२ गतेबाट भएको देशव्यापी लकडाउन साउन ६ मा अन्त्यको घोषणा भयो । पशुपति घाट सेवाका प्रमुख कुमार थापाका अनुसार लकडाउन अवधिमा १८०० हाराहारी शवको अन्त्येष्टि भयो । यो संख्या दैनिक सरदर १५ हो । उनका अनुसार असोज र कात्तिक दुई महिनामा मात्रै करिब २ हजार ५ सय शवको अन्तेष्टि भएको छ । यो संख्या दैनिक सरदर ४१ हो ।

उनका अनुसार लकडाउनअघि सामान्य अवस्थामा आर्यघाटमा दैनिक सरदर ४० शव र विद्युतीय शवदाह गृहमा दैनिक सरदर २० शवको अन्त्येष्टि हुन्थ्यो । अहिले पनि लकडाउनअघिकै संख्यामा शवको अन्त्येष्टि हुने गरेको छ ।

आर्यघाटमा शवको संख्या बढ्दै जाँदा मलामीको भिड पनि उत्तिकै बढेको छ । मलामीको भिडमा कोरोना भाइरस संक्रमण जोखिम पनि बढेको छ ।

चल्दैनन् सबै घाट

आर्यघाटमा १० वटा घाट छन् । तीमध्ये हाल ८ वटा मात्र प्रयोगमा छन् । अर्थात् एक पटकमा ८ शवमात्र जल्छन् ।

घाट पाउन पालो कुर्नु पर्दा मलामीको भिड बढ्ने गरेको छ । अझ मलामी जाने सबैले स्वास्थ्य सावधानीका उपाय पनि अपनाएका हुँदैनन् ।

पशुपति क्षेत्र विकास कोषले थोरै मात्र मलामी आउन अनुरोध गरेको छ । संक्रमणको जोखिमबाट जोगिन मलामी थोरै आउन तथा आपसी दूरी कायम गर्न र मास्क लगाउन कोषका सदस्य सचिव ढकालको आग्रह छ ।

कोषले अब सबै घाट प्रयोग गर्ने तयारी पनि थालेको छ । हाल विद्युतीय शवदाह गृहमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको मात्र अन्त्येष्टि हुने गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ११ : ३३ बजे

दुई हजार चार सय ५१ सैन्य दीक्षित

काठमाडौं– नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध किसान महासंघ आन्दोलित

काठमाडौं– भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत