कोरोना भाइरसको आशंका गरिएका बिरामीको 'स्याम्पल' परीक्षणका लागि हङकङ पठाइयो | Khabarhub Khabarhub

कोरोना भाइरसको आशंका गरिएका बिरामीको ‘स्याम्पल’ परीक्षणका लागि हङकङ पठाइयो

चीनबाट आउनेमाथि विमानस्थलमा विशेष निगरानी



काठमाडौं– केही दिन अघि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका नेपाली युवाको नमूना जाँचका लागि ‘स्याम्पल’ हङकङ पठाइएको छ ।

कोरोना भाइरसको आशंका गरिएका ती युवाको ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर हेमन्त वझाले बताए ।

चीनमा देखिएको नयाँ भाइरस (कोरोनाभाइरस)को परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले ती युवाको स्याम्पल हङकङ पठाइएको डा वझाले बताए ।

नेपालमा कोरोना लागे नलागेको परीक्षण गर्ने उपकरण नै नभएको चिकित्सकहरुको भनाइ छ । नयाँ खालको भाइरस भएका कारण पहिचानमा समस्या हुने चिकित्सकको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको समन्वयमा ती युवाको स्याम्पल परीक्षणका लागि हिजो (मंगलबार) हङकङ पठाइएको डा वझाले बताए । उनले भने, ‘केही दिन अघि कोरोना भाइरसको आशंका गरीएका युवाको स्याम्पल हामीले डब्लुएचओको सहायतामा हिजो हङकङ पठाएका छौं ।’

पुस २९ गते चीनबाट स्वदेश फर्किएका ३२ वर्षीय नेपाली युवालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा ४ दिनसम्म शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो ।

अध्ययनका लागि चीन रहेका ३२ वर्षीया ती नेपाली युवा कोरोना भाइरसको संक्रमण फैलिएको चीनकोे वुहान राज्यबाट विदामा स्वदेश फर्किएका थिए ।

उनमा ज्वरोको लक्षण देखिएपछि शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो आउनु भनेको कोरोना भाइरसको लक्षणमध्ये एक हो ।

ती युवाको स्याम्पलहरु लिएर उनको ज्वरो ठिक भएपछि शुक्रराज अस्पतालले उनलाई माघ ३ गते अस्पतालबाट डिस्चार्ज गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नियमित सम्पर्कमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा वझाले जनाकारी दिए ।

‘अस्पतालबाट डिस्चार्ज भएपछि पनि उहाँ हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ, अहिले उहाँ र उहाँको परिवारमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन,’ डा वझाले भने, ‘उहाँसँग हामी दैनिक सम्पर्कमा नै छौं ।’

चीनमा ९ जनाको मृत्यु, नेपालमा उच्च जोखिम

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । चिनियाँ सरकारका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको र संक्रमितिको संख्या ४ सय ४० पुगेको बीबीसीले जनाएको छ । चिनियाँ सरकारी अधिकारीहरुले मानिसबाट मानिसमा उक्त रोग सरेको पुष्टिसमेत गरेका छन् ।

यस्तै अमेरिकामा पनि उक्त कोरोना भाइरस फेला परेको पुष्टि भएको छ । द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो ।

चीनमा ९ जनाको ज्यान लिएको र अमेरिकमा समेत भेटिएको कोरोना भाइरसको संक्रमणको जोखिम नेपालमा पनि देखिको चिकित्सकहरु बताउँछन् ।

त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

सरकारले २० लाख पर्यटक भित्र्याउने उदेश्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरिसकेको छ ।

नेपालमा पनि पर्यटकको रुपमा भित्रने चिनियाँको संख्या उच्च रहेको छ । जसका कारण उनीहरुको माध्यमबाट नेपालमा पनि कोरोना सर्न सक्ने जोखिम रहेको हुन्छ ।

चीन लगायतका अन्य देशमा देखिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको सरुवा रोग विशेषज्ञहरु बताउँछन् ।
चीनबाट फर्किएका ती युवामा कोरोना भाइरसको आशंका गरिएसँगै सरकारले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा स्वास्थ्य सुरक्षामा कडाइ गरेको छ ।

विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा हेमन्त वझाले बताए ।

‘छिमेकी मुलुकमा कोरोना भाइसरको संक्रमण फैलिएपछि हामीले एकजना विशेषज्ञ सहित ५ जना स्वास्थ्यकर्मीको टोली खटाइसकेका छौं,’ डा वझाले भने, ‘कोरोना भाइरसको संक्रमण देखिएका देशबाट आउने व्यक्तिको चेकजाँच विमानस्थलमै हुन्छ ।’

शुक्रराज अस्पतालका चिकित्सकहरु अलर्ट

चीन अध्ययन गरेर फर्किएका नेपालीमा कोरोना भाइरसको आशंका गरिएसँगै शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा पनि विशेष सतर्कता अपनाइएको छ ।

विदेशबाट भित्रिन सक्ने कोरोना भाइरसको विषयमा शुक्रराज अस्पतालले पूर्व तयारी गरीरहेको अस्पतालका निर्देशक डा बासुदेब पाण्डेले बताए ।

‘यदी कोरोना भाइरसको लक्षण देखिएको बिरामी आएमा उनीहरुलाई भर्ना गर्नका लागि आइसियु नजिकै रहेको ६ वटा विशेष वार्ड तयारी अवस्था राखेका छौं,’ अस्पतालका निर्देशक डा पाण्डेले भने, ‘इपिडिमियोलोजी, डब्लुएचओसँग समन्वय गरेर अस्पतालका स्वस्थ्यकर्मीहरुलाई पनि यो रोगबारे जानकारी दिन लागेका छौं ।’

अस्पतालका चिकित्सकले ज्वारो तथा रुघाखोकीको लक्षण लिएर अस्पताल पुग्नेहरुलाई समेत विशेष सोधपुछ गरीरहेको अस्पतालका सरुवारोग विशेषज्ञ डा शेर बहादुर पुनले बताए ।

‘अब इन्फ्लुएन्जाको सिजन छ, त्यसैले ज्वरो र खोकीको लक्षण एन्फ्लुएन्जामा पनि देखिन्छ, ज्वरो आएको छ, खोकी पनि लागेको छ र श्वासप्रश्वासमा पनि समस्या छ भने कोरोना भाइरसको जोखिम हुनसक्छ,’ डा पुनले भने, ‘त्यसैले कोरोना भाइरसबारे आशंका गर्न चाहि यो भाइरसको प्रभावित देशबाट आएको व्यक्ति हो वा होइन, वा बाहिरबाट आएको व्यक्तिसँगै बसेको छ कि भनेर सोध्ने गछौं ।’

डा पुनका अनुसार ती युवापछि कोरोना भाइरसको लक्षण देखिने कुनै पनि बिरामी अस्पतालमा आएका छैनन् ।

के हो कोरोना भाइरस ?

अस्पतालका निर्देशक डा पाण्डेका अनुसार कोरोना भाइरस चीनमा देखिएको थियो । कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । कोरोना भाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।

यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराइ निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने डा पाण्डे बताउँछन् । डा पाण्डेका अनुसार कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

‘यो भाइरस पहिला त जनावर, पशुपंक्षी र सि फुडहरुमा देखिन्थ्यो, तर अहिले मानिसमा नै देखिएकाले यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ,’ डा पाण्डेले भने, ‘यो रोग श्वास प्रश्वासकै माध्यमबाट सर्ने हो ।’

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  २ : २० बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका