कंक्रिट शहरका हराभरा कौसी | Khabarhub Khabarhub

कंक्रिट शहरका हराभरा कौसी


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’

उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थालिन । १५ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनिन् ।

कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उनको सफलताले अहिले यहाँ चर्चा पनि पाउने गरेको छ ।

बिहान जुरुक्क उठ्दा उनको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उनको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ ।

उनी सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुन्छिन । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, सागहरु भ्यान्टा, खुर्सानी गोडमेल र तिनमा एक नजर लगाएपछि उनको बिहानको एक/डेढ घण्टा बितिहाल्छ । थापा भन्छिन्, ‘पसिना बगाएसँगै हुर्केका फलहरुमा भेटिएको खुशीको कुनै मुल्य नै नहुने रहेछ ।’

‘जति आफूले खाँदा आनन्द आउँछ त्यति नै अरुलाई बाँडेर खान पाउँदा पनि मज्जा लाग्छ’, आफ्नो अनुभव उनले यसरी सुनाइन ।

बौद्धिक कृषक परिवारमा हुर्के बढेको प्रभावले कृषि कर्ममा जोडिएकी थापा भन्छिन, ‘म बौद्धिक कृषक परिवारमा जन्मेँ, मलाई माटोसँग खेल्न सानैदेखि मन पथ्र्यो, शहर बजारमा पर्याप्त जग्गा नभएपछि कौसीमा तरकारी लगाउन थालेँ, घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन पनि भयो भने ताजा तरकारी खान पनि पाइयो ।’

थापासँग कौसीमा कुनै एक याममा दुई सय केजीसम्म तरकारी फलाएर जोखेको अनुभव पनि छ । कौसी खेतीमा उत्पादन गरेको तरकारीले गत वर्ष हेमजाको आलु महोत्सवमा प्रथम पुरस्कार पनि हात पार्न सफल भएको थियो ।

थापाको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा जुट्ने गरेर बितेको छ । ‘

अहिले त शहर बजारका धेरै महिला कौसी खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ, तर फेसन जस्तो गरेर कौसीखेती गर्दा महँगो हुन्छ । घरमा भएका पुराना भाँडाकुँडा जे छ त्यसैलाई सदुपयोग गर्दै, भान्साको फोहरलाई व्यवस्थापन गर्दै यो खेती गर्दामात्र सस्तो पर्न जान्छ,’ उनले भने ।

सामाजिक सञ्जालमा देखाउन गरिने कौसी खेतीले आर्थिक भार पर्न जाने अनुभव पनि उनले सुनाए ।

पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । उनी वडा नं ८ को संयोजक हुन् । थापाले यस वडाका करिब छ सय जनालाई तालिम पनि दिएका छन् ।

यतिखेर वडा नं ८ का अधिकांश घरका छतमा तरकारी लहलह भएको देख्न सकिन्छ । थापाको तालिम र परामर्श यो हरियालीको मुख्य कारक हो भन्न सकिन्छ ।

पोखरा महानगरपालिका–८ न्यूरोडकी सवि शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झछन् । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उनी बताउँछन् । बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुनलगायतका थाँक्रामा झुलिरहेका घिरौँला, सिमी देख्दा परिश्रम अझै गर्न मनलाग्छ र मेहनेतले नै खुशी दिने रहेछ भन्ने उनलाई लाग्छ ।

गौचन भन्छन्, ‘बन्दाबन्दीको दिनचर्या कौसी खेतीमा विताएँ, धेरै कुरा सिक्ने अवसर पनि मिल्यो, गरेपछि त सबै हुने रहेछ ।’ पोखराको महेन्द्रपुलमा नोभा इन्टरनेशनल इन्ष्टिच्यूटको डाइरेक्टर गौचन आजीवन सहकारी संस्थाले आयोजना गरेको तालिमबाट प्रेरित भएर कौसी खेतीमा जुटेको बताए ।

‘अहिले घरकै पुराना बाल्टि, ड्रम, गमलादेखि प्लाष्टिकका अन्य सामग्री किनेर १० थरी तरकारी लगाएकी छु,’ गौचनले भने ।

गौचनको कौसीमा लसुन, प्याज, धनिँया, विभिन्न थरिका साग, घिराँैला, लौका, काँक्रो, सिमी, कागती, जिम्मु, पुदिना, भ्यान्टा, कुरीलोलगायतका तरकारी छन् ।
लटरम्म फलेका कागती हेर्दै रहरलाग्दो भएको छ । तरकारीसँगै मुन्तला, स्टेबेरी, अम्बा, पपिनो मेलेन फलफूलका विरुवा पनि हुर्काइरहेका छन् । भान्साबाट निस्केका फोहोरको व्यवस्थापन गर्दै कम्पोष्ट मल बनाएका छन् भने हावाहुरी र असिना पानीबाट जोगाउन टनेल समेत निर्माण गरेका छन् ।

पोखरा चिप्लेढुङ्गामा गुन्यूचोली बुटिक सञ्चालन गर्दै आउनुभएकी सुष्मा थापा पाण्डे पनि आफ्नो व्यस्तता छिचोलेर कौसी खेती गर्दै आएकी छन् । कृषिकर्मसँग रमाउन मन पराउने उनी शहरबजारमा पर्याप्त जग्गाको अभाव भएपनि कौसीको गमलामा तरकारी लगाएर रहर पूरा गरेको बताउँछिन ।

पोखरा– ७ मुस्ताङ्चोकस्थित उनको घरमा अहिले लौका, घिरौँला, बोडी, काँक्रा लहलह भएका छन् । बाह्रमासे लसुन धनिँया, पुदिना भने टुट्दैन । समयको व्यवस्थापनका विषयमा पाण्डे भन्छिन्, ‘कौसीमा विहान आधादेखी एक घण्टा समय दियो भने हराभरा हुन्छ, घरैमा फलेको अर्गानिक तरकारी टिपेर भान्सामा लान पाउनुको मज्जा पनि बेग्लै हुन्छ ।’

उनले २५ वटा माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाडाको रुपमा प्रयोग गर्दै आएकी छन् । भैँसी, कुखुराको मल र पीनाको प्रयोगसँगै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसी खेतीमा प्रयोग गरेकी छन् ।

सामाजिक सञ्जालमा कौसी खेती ग्रुपमा जोडिएर तरकारीमा देखिने समस्याको बारेमा पनि छलफलमा जुट्छिन् । कुन मौसममा के लगाउने, कसरी लगाउने, मर्न थाले कसरी जोगाउने भन्ने बारे कौसी खेती कृषकहरुले आ–आफ्ना अनुभव र विज्ञता साट्ने गर्छन् ।

यसले कौसी खेतीप्रति लगाव झन् बढ्दै गएको उनको अनुभव छ ।

कौसी खेतीको बारेमा टोलबासीलाई तालिम दिँदै आएका सेवानिवृत्त क्षेत्रीय कृषि तालिमका प्रमुख बेदकुमार श्रेष्ठ अहिले छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीको महत्व बढ्दै गएको बताउँछन् । ‘सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा अर्गानिक तरकारी फलाउन सकिन्छ, यसले घरको शोभा पनि बढाउँछ, उनले भने ।

कौसी खेतीका लागि मौसम अनुसारको विरुवा छनोट गर्नुपर्ने र हाइब्रिड जातका तरकारी उपयुक्त हुने उनको भनाइ छ । पोखरामा अत्यधिक पानी, असिना पर्ने भएकाले कौसीमा लगाएको तरकारी बाली एकैछिनमा नष्ट हुनेतर्फ सतर्क हुनुपर्ने र पूर्व तयारीका साथ कौसीमा तरकारी लगाउनु पर्ने श्रेष्ठको भनाइ छ ।

पछिल्लो समय शहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहबासीको आकर्षण बढ्न थालेको छ । त्यस्तै आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेका समाचारहरुका कारण पनि अधिकांशले घरको कौसीमै भएपनि धेरेथोर तरकारी लगाउन थालेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले भने, ‘कंक्रिटमा परिणत भइरहेको पोखरा शहरको अधिकांश घरको कौसी हराभरा देखिन थालेको छ ।’

कडरियाका अनुसार कौसी तथा करेसाबारी र बरण्डालाई समेत शहरी कृषिभित्र समेटेर महानगरले प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ । पोखरा कृषि मोबाइल एप्सबाट पनि कौसी खेतीको बारेमा जानकारी लिन सकिन्छ । सङ्घीय र प्रदेश सरकारको नीति तथा कार्यक्रमा समेत कौसी खेतीलाई समेटिएकाले पनि यसको महत्वलाई उजागार गरेको उनको भनाइ छ ।

महानगरले सबै वडामा कृषि सञ्जाल गठन गरी आमा समूह, टोलविकास संस्थालाई तालिम दिँदै आएको छ । महानगरका तेत्तीस वटा वडामध्ये ११ वटा मुख्य शहरी क्षेत्रभित्र समेटेर कौसी खेती कार्यक्रमलाई प्रभावारी बनाउँदै लगिएको छ ।

त्यसैगरी महानगरले यो वर्ष कौसी खेतीकालागि ११ लाख बजेट समेत छुट्टाएको छ । वडा नं ८ लाई कौसी खेतीको लागि ‘पाइलटिङ’ गरिरहेको र हालसम्म महानगरले करिब तीन हजार जना कौसीखेती किसानलाई कम्पोष्ट विन उपलब्ध गराएको कडरियाले जानकारी दिए ।

महानगरले कौसी खेती गर्ने किसानलाई आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, कोकोपिट, कम्पोष्ट विन लगायतमा पचास प्रतिशत अनुदान दिँदै आएको छ भने अर्गानिक विषादी पनि वितरण गर्दै आएको जनाएको छ ।

कौसी खेतीमा बढी आयातित हुने लसुन, प्याज लगायतका तरकारी लगाउन जोड दिएको छ भने एक घर एक कागती भन्ने अभियानलाई पनि सँगसँगै लगेको उनको भनाइ छ । महानगरले स्वच्छ र हराभरा महानगर भन्ने अभियानमा कौसी तथा करेसाबारीलाई पनि जोडेर लगेको छ ।

कडरियाले शहरभित्र कहिकतै बाँझो जमिन देखिए पनि तरकारी लगाउने प्रवृत्ति बढ्न थालेपछि सानो–सानो परिवार कौसी तरकारीमा आत्मनिर्भर बन्न थालेको बताए । ‘अहिले बारीमा नभएका धेरै कुरा पनि कौसीमा हुन थालेको छ’, कडरियाले भने । उनका अनुसार अहिले महानगरमा एकलाख ६० हजार घरधुरी छन् जसमा यहाँका आवासीय (रेसिडेन्सियल) घरहरुका लागभग ७० प्रतिशत घरको छतमा धेरै थोरै कौसी र करेसाबारी सञ्चालन भएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १ : ३७ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार