कोरोना संक्रमितको शव वीर अस्पतालमै सड्न थालेपछि... | Khabarhub Khabarhub

कोरोना संक्रमितको शव वीर अस्पतालमै सड्न थालेपछि…


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय कारागारमा कैद जीवन बिताइरहेका ६३ वर्षका एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखियो । पहिलादेखि नै दीर्घरोगी ती पुरुषलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि केन्द्रीय कारागारका स्वास्थ्यकर्मीले सामान्य परीक्षण पछि उपचार र कोरोना परीक्षण गर्न वीर अस्पताल पठाए ।

असोज ३ गते (शनिबार) राति ती पुरुषलाई आकस्मिक रुपमा वीर अस्पतालमा लगियो । चिकित्सकहरुले राति करिव ११ बजे ती बिरामीलाई मृत घोषणा गरे ।

कोरोनाको गम्भिर अवस्थाको लक्षण अर्थात श्वासप्रश्वासमा समस्या देखिएर अस्पतालमा आइपुगेका व्यक्तिको मृत्यु भएपछि अस्पतालले ती पुरुषको राति नै स्वाब संकलन गरी कोरोना परीक्षण गर्न वीरकै ल्यावमा स्वाब पठायो ।

कोरोना परीक्षण गर्न लागिएको हुनाले अस्पतालले शवलाई अस्पतालमै राख्यो । कोरोना परीक्षणको रिपोर्ट आउन २ दिन (सोमबारसम्म) लाग्यो ।

कोरोनाको रिपोर्ट पनि पोजेटिभ आयो । अस्पतालले कोरोना संक्रमण भएको पुरुषको मृत्यु भएको घोषणा गरेपछि मंगलबार एकाएक मृतकका आफन्तहरुले एउटा तस्वीर सार्जनिक गर्दै आफ्नो आफन्तको मृत्यु कोरोनाको कारण नभएको आरोप लगाए ।

मृतकका आफन्तले शवको तस्वीर सार्वजनिक गर्दै अनुहार तथा घाटीमा चोटपटक देखिएकाले घटनाको छानविन गर्नुपर्ने भन्दै विरोधमा उत्रिए ।

मृतकका आफन्तहरुले शवको तस्वीर सार्वजनिक गर्दै आफ्नो आफन्त कोरोना संक्रमित भएर मृत्यु नभएको र घटना अर्कै हुनसक्ने आशंका गर्दै घटनाको छावनीन हुनुपर्ने माग समेत गरेका छन् । मृतकका आफन्तले शवको आँखा निकालिएको भन्दै उक्त घटना कोरोनाको कारण मृत्य भएको नभइ हत्या भएको समेत अरोप लगाए ।

तर अस्पतालले भने मृतकका आफन्तले लगाएको आरोपमा सत्यता नभएको बताएको छ ।

अस्पतालका कोभिड व्यवस्थापन संयोजक अच्युत कार्कीले ती पुरुषमा कोरोनाको गम्भिर प्रकृतिको लक्षण अर्थात श्वासप्रश्वासको समस्या भएको भन्दै अस्पताल ल्याइएको र अस्पतालमा आइपुग्दा मृत अवस्थामा रहेको बताए ।

उनले अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण र शव व्यवस्थित गर्ने शवगृह नहुदा शव कुहिन थालेको जानकारी दिए ।

उनले अस्पतालमा व्यवस्थित शवगृह नहुँदा मृतकको शव कुहिएको बताए ।

‘दुईदिनसम्म विनाआइस राख्दा शव बिग्रिदै गएको हो, हामीले शवलाई आकष्मिक कक्षको पछाडी एउटा कोठामा राखेका थियौं, आफन्तहरुले झ्यालबाट फोटो खिच्नुभएछ,’ डा कार्कीले भने, ‘वीर अस्पतालको अवस्था तपाईलाई थाहै छ, कोरोना आउनु अघि शव राख्ने ठाउँ नै थिएन, अहिले त्यो एउटा कोठा बनाइएको छ, शव त्यसरी राख्ने कुरा व्यवस्थापकीय कमजोरी हो । समाचार लेख्नुहुन्छ भने वीर अस्पतालमा शव व्यवस्थानको लागि व्यवस्थित शवगृहको आवश्यकता छ भनेर लेख्दिनुस् ।’

उनले मृतकको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पनि बताए ।

‘शनिवार राति ११ बजे हाम्रो अस्पतालमा आइपुग्दा उहाँ मृत अवस्थामा हुनुहुन्थ्यो, केन्द्रीय कारागारमा धेरैमा कोरोना देखिएकाले उहाँको पनि मृत्युपछि कोरोना परीक्षणका लागि शव राखियो,’ डा कार्कीले खबरहबसँग भने, ‘राति नै स्वाब संकलन गरिएपछि भोलिपल्ट प्रयोगशाला खुल्यो, परीक्षण गर्दा रिपोर्ट सोमबार दिउँसो ३ बजे रिपोर्ट पोजेटिभ आयो ।’

उनले कोरोनाको आशंका गरिएका बिरामी भएकाले मृत्यु पछि कोरोनाको रिपोर्ट पर्खिदा गर्मीका कारण शव कुहिएको बताए ।

‘पहिला नै त उहाँको विषयमा थाहा थिएन, त्यसैले हामीले शवगृहमा राखियो, हाम्रो शवगृहमा आइस छैन, गर्मीका कारण शव सड्दै गयो ’ डा कार्कीले भने, ‘ प्रायः के हुन्छ भने दुईदिन पछि शव आफै डिकम्पोज हुन्छ, त्यो डिकम्पोज हुने क्रममा फोकाहरु आउछ, शरीर निलो, कालो हुन्छ, अंगहरु फुल्न थाल्छ, नाक मुख आँखाहरु सुन्निन्छ, आँखा वरिपरि सुनियो भने आँखा भित्र दविन्छ, मुखबाट, नाकबाट रगतसहितका तरल पदार्थहरु निस्कन थाल्छ ।’

उनले ती पुरुषलाई अस्पताल ल्याइदा उनका आफन्त अस्पतालमा नभएको र आफन्तहरु रिपोर्ट आउने समयमा मात्र आएको बताए । उनले मृतकको घाटी रेटिएको आँखा निकालिएको भन्ने आरोप गलत भएको बताए ।

‘कारागारबाट ल्याइएको व्यक्तिको मृत्यु भएमा आफन्त नआएसम्म शवगृहमा शव राख्दिनुपर्छ, यसअघि हामीले टिचिङमा शव पठाउने गरेका थियौं, तर अहिले टिचिङमा कोरोनाको रिपोर्ट नभइ नराख्ने भएकाले मृतकको कोरोना टेष्ट गराउनु जरुरी थियो,’ डा कार्कीले भने, ‘मृतकका आफन्तले भनेजस्तो घाटी रेटिएको, आँखा निकालिएको छैन, मुख र नाकबाट तरल पदार्थ (रगत तथा पानी) बगेर त्यस्तो भएको हो ।’

वीर अस्पतालले निकालेको विज्ञप्ति पढ्नुहोस्

महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी स्याम ज्ञवालीले ती व्यक्तिको मृत्यु कोरोना संक्रमणको गम्भिर अवस्थामै मृत्यु भएको बताए ।

‘असोज ३ गते श्वसप्रश्वासको समस्या देखिएर कारागारभित्रकै चिकित्सकलाई देखाइएको थियो, श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई वीर अस्पताल लगियो, राति ११ बजे उनलाई वीर अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो,’ एसएसपी ज्ञवालीले खबरहबसँग भने, ‘परिवारको सदस्य नआइकन शव व्यवस्थापन गर्ने कुरा भएन, आज ६ गते भयो त्यो डेथबडीको अवस्था के हुन्छ, कस्तो छ त्यो मेडिकल विषय भयो । त्यो मैले भन्ने कुरा आएन, त्यो डाक्टरसावहरुलाई नै सोध्नुपर्छ । तर अहिले डाक्टरले आँखे निकालिदियो भनेर भन्नु अफवाह फैलाइएको हो ।’

उनले मृतकका आफन्तले लगाएको आरोप गलत भएको बताए । ‘मृतकका आफन्तले अस्पतालसँग समन्य गरेर शवको विषयमा बुझ्नुपर्ने थियो,’ एसएसपी ज्ञवालीले भने, ‘तर यो घटनाको विषयमा चिकित्सकसँग नबुझी भ्रम फैलाउनतिर लागे ।’

के भन्छ स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अस्पतालमा आइपुग्दा मृत्यु भएका व्यक्तिलाई तीनदिन सम्म अस्पतालमै राखेर वीर अस्पतालले नै गल्ती गरेको बताए ।

उनले स्वास्थ्य मन्त्रालयले अहिले मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण गर्ने नीति सरकारको नभएको भएपनि वीर अस्पतालले गल्ती गरको बताए ।

‘वीर अस्पतालले मरेरको अवस्थामा आएको व्यक्तिलाई तीनदिनसम्म अस्पतालमै राखेर गल्ती गर्‍यो, ’ डा गौतमले भने, ‘अर्को गल्ती हामीले पटक पटक भनिरहेका छौं, मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गर्न पर्दैन भनेर, तर वीर अस्पतालले कोरोना परीक्षण गरेर गल्ती गर्‍यो ।’

उनले वीर अस्पतालमा पोष्टमार्टम नगरिने भएपनि तीन दिनसम्म अस्पतालमै शव राख्दा कुहिन थालेर अहिले विवाद उत्पन्न भएको बताए ।

‘मरेको मान्छेको कोरोना परीक्षण गर्ने, रिपोर्ट दिन दुई दिन लगाउने, त्यो समय सम्म शव कुहियो,’ डा गौतमले भने, ‘वीर अस्पतालमा मरेको शव राख्ने प्रयोजन नै छैन, किन राख्ने, अस्पतालले शव राखेर कोरोना परीक्षण गर्नतिर लाग्यो त्यो नै मिस्टेक भयो, त्यो गर्नुपर्ने थिएन, घरका मान्छे बोलाउने शंका लागे पोष्टमार्टम गर्न पठाउने गर्नुपर्ने थियो, वीर अस्पतालमा पोष्टमार्टम नहुनेभएपछि मरेको शरीर अस्पतालमा राखेर कोरोना परीक्षण गर्न जरुरी नै थिएन ।’

डा गौतमले मरेको मान्छे कुहिएर पनि कुनै फरक नपर्ने भन्दै शंका लागेमा पोष्टमार्टम गर्न आग्रह गरे ।

‘शंका लागेमा मृतकका आफन्तले पोष्टमार्टम गर्न सक्छन्, प्रहरीलाई जायरी किन नदिएको ?’ डा गौतमले भने, ‘शवलाई अस्पतालले के नै गर्न सक्छ र, यस्तो वेकारको कुरामा धेरै छलफल नगरौं, शंका लागेमा पुलीसमा केस गर्ने, कानुनी राज्य छ मुद्धा हाल्ने गर्नुपर्छ नि । अस्पतालमा बिरामीलाई उपचार गर्न असहज वातावरण सिर्जना गर्नु भएन नि । युटुवे बोलाएर आँखा निकाल्यो भनेर हुन्छ, कानुनी प्रकृयामा गएर पोष्टमार्टम गरे छ आँखा निकालिएको छ कि छैन थाहा भैहाल्छ नि ।’

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १० : ०१ बजे

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको

दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार

सियोल – दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि