आगलागी नियन्त्रण गर्न खोटाङमा बनाइयो ‘फायरिङ गेट’ « Khabarhub

आगलागी नियन्त्रण गर्न खोटाङमा बनाइयो ‘फायरिङ गेट’


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको विभिन्न २० स्थानमा आगलागी नियन्त्रण गर्न ‘फायरिङ गेट’ जडान गरिने भएको छ ।
जस्तापाताको छाना, ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घर भएका खोटाङ बजारलाई आगलागीबाट जोगाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा सो जडान गरिन लागेको हो ।

आगलागीका कारण वर्षेनी करोडौँको क्षति हुँदै आएको सो बजारमा आगामी दिनमा हुने आगलागीका घटनालाई तुरुन्तै नियन्त्रण गर्न १०० मिटरको फरकमा विभिन्न २० ठाउँमा सो गेट राख्ने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

‘दिक्तेल बजारमा अहिले शहरी खानेपानी आयोजनाको काम तीव्रगतिमा सञ्चालन भइरहेको छ’, उनले भने, “निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाको पाइपमा गेट जडान गरेर १०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्न २० ठाउँमा जडान गर्ने योजना बनाएका हौँ ।”

सो गेट जडान गर्नका लागि नगरपालिकाको तर्फबाट रु १५ लाख र बाँकी आयोजनाको बजेट लगानी गरिने जनाइएको छ । उनका अनुसार दिक्तेल बजारमा सञ्चालन हुने सो आयोजनाको मुख्य पाइपमा सो गेटको पाइप जडान गरेर आवश्यक परेको खण्डमा प्रयोग गर्न सकिनेछ ।

विशेष किसिमको पाइप जडान गरिने गेटमार्फत करिब १० मिनेटमै एउटा दमकल (बारुणयन्त्र)मा पानी भर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिका र आयोजना उपभोक्ता समितिबीच शुक्रबार बसेको बैठकले बजारको विभिन्न ठाउँमा फायरिङ गेट राख्ने निर्णय गरेको जनाइएको छ ।

विसं २०७२ पुस २ गते रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट शुरु भएको आगलागीबाट पुरीसहित सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो ।
विद्युत् चुहिएर शुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो । त्यसयता जिल्लाको सदरमुकामसमेत रहेको बजारका विभिन्न ठाउँमा वर्षेनी आगलागीका घटना भइरहेका छन् । पानी अभावमा आगलागी नियन्त्रण गर्न नपाएर ठूलो क्षति व्यहोर्दै आएका दिक्तेल बजारका स्थानीय बासिन्दा नगरपालिकाको पहलमा गेट जडान गरिने भएपछि हर्षित बनेका छन् ।

१५ वडा रहेको नगरपालिकाको केन्द्रसमेत रहेको बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । आशिष निर्माण सेवा कम्पनीले निर्माणको काम जिम्मा लिएको उक्त आयोजनाको शिलान्यास गत चैत २४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका थिए ।

सरकारको ७०, नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम शुरु गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले जानकारी दिए । आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडानलगायतका काम गरिने जनाइएको छ ।

लकडाउनको समयमा पनि खानेपानी विस्तार तथा सडक ढलानको काम तीव्रगतिमा भइरहेको छ । लकडाउनको समयमा कामदारबीच सामाजिक दूरी कायम गर्दै दिक्तेलस्थित रत्नपार्कको किराँतचोकदेखि वेसक्याम्पसम्मको सडक ढलान तथा खानेपानीको पाइप जडान गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १ : १२ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको