पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र « Khabarhub

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् ।

ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् ।

चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताए ।

कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो ।

तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।

विपद्को जोखिममा तातोपानी क्षेत्र

तातोपानी क्षेत्र विपद्को उच्च जोखिममा पर्दछ । चीनसँगको व्यापारिक नाका तातोपानीमा बाढी, पहिरो, सुक्खा पहिरो र ढुङ्गा खस्नेजस्ता समस्याका कारण स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ ।

बाह्रबिसेको खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्ती दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ । भोटेकोशी र ठाडोखोलाको बाढी र पहिरोले कच्ची घरहरु पुरै भत्किएका छन् ।

बाढी, पहिरोको समस्या मात्रै होइन, भीरबाट खस्ने ठूलाठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ । यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहटेको गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठले बताए ।

वर्षातमा हुने पहिरोको जोखिम त छँदैछ, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ । पानी पर्नेबित्तिकै भोटेकोशी नदीमा आउने बाढीको डर एकतिर छ भने वर्षाकै कारण मुख्य सडक पनि भास्सिएका छन् । ठूला दुई पहाडबीच बग्ने नदी छेउको बसाइ त्रासपूर्ण भएको स्थानीय निङ्मा शेर्पा बताए ।

गाउँपालिकाको तातोपानी क्षेत्रका प्राय सबै बस्तीहरु खोला र पहिरोको उच्च जोखिममा छन् । अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

विपद्को अवस्था हेरेर जिल्ला विपद् व्यवस्थापन समितिले पनि काम गरिरहेको छ । बाढी, पहिरो र पानीबाट पर्ने समस्याका साथै कोरोना भाइरसलाई समेत समेटेर समितिले पूर्व तयारीको काम गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले अति जोखिममा रहेका लार्चा खोला आसपासका बस्तीहरुमा विज्ञको टोलीले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्ष अनुसार अगाडि बढ्ने बताए ।

विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोशी क्षेत्रमा हुने समस्या सामाधान गरिनुपर्ने स्थानीयवासीको माग छ तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ०१ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर