बेरोजगार हुनुहुन्छ ? काभ्रेका स्थानीय तहले खोजे काम गर्ने जनशक्ति | Khabarhub Khabarhub

बेरोजगार हुनुहुन्छ ? काभ्रेका स्थानीय तहले खोजे काम गर्ने जनशक्ति


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका स्थानीय तहले बेरोजगार भएका व्यक्तिहरूलाई रोजगारी चाहिएको भए निवेदन दिन आह्वान गरेका छन् ।

नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को पहिलो दिन साउन १ गते नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत संलग्न हुन चाहनेलाई निवेदन माग गरेको छ ।

नगरका १८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ । सय दिनको उक्त रोजगार कार्यक्रमअन्तर्गत आजदेखि भदौ सात गतेसम्म निवेदन दिन पाउ गरी प्रकाशित उक्त सूचनामा नगरभित्रका नागरिक सहभागी हुन पाउने हुन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता हो’, नगरप्रमुख टिपी शर्माले भने । उनका अनुसार गत साल प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बन्यो, यस वर्ष पनि रोजगारप्रति नगरका बासिन्दाको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत नै बनेपा, पनौती र मण्डनदेउपुर नगरले पनि साउन पहिलोसाता सँगसँगै रोजगारी संलग्न हुन चाहनेको निवेदन माग गरेको छन् । काम गर्न चाहने नागरिकले निवेदन दिन ती नगरले आह्वान गरेका हुन् ।

कृषिजन्य उत्पादनमा वर्षेनी तीन महिना मात्रै खान पुग्ने परिवारका सदस्य, निजी बसोबासका नभएका, एक्ल महिला, दलित समुदायका व्यक्ति, अल्पसङ्ख्यक तथा लोपोन्मुख परिवारका सदस्य, शहीद तथा बेपत्ता पारिएका सदस्यलाई रोजगारीमा प्राथमिकता दिइएको पनौती नगरप्रमुख भिम न्यौपानेले जानकारी दिए ।

मण्डनदेउपुर नगरले भने ‘कामको लागि खाद्यान्न’ कार्यक्रम पनि सञ्चालन गरेको छ । नगरले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण खाद्यान्नको समस्या परेका नगरका बासिन्दालाई लक्षित गरी सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत वडामा सञ्चालित सार्वजनिक काममा सहभागिता जनाउनुपर्नेछ ।

निर्धारित समयअनुसार राहत प्याकेजमा २० किलो चामल, दुई किलो दाल, एक लिटर तेल र दुई प्याकेट नुन दिने गरेको छ ।

बनेपा नगरले रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०७७/०७८ का लागि न्यूनतम् १०० दिनको रोजगारीमा इच्छुक नगरका बेरोगजार व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचित गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बनेको बनेपा नगर उपप्रमुख रेखा दाहाल सापकोटाले बताइन् । उनले भनिन्, ‘रोजगार कार्यक्रमले राहत मिलेको र नागरिक निकै उत्साहित बनेको पाइयो ।’

काभ्रेपलाञ्चोकका स्थानीय तह आर्थिक वर्ष शुरुआती चरणमै सो कार्यक्रमलाई गत सालकै निरन्तरतामा देखिएका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको तयारीमा छौँ, यस वर्ष निकै उत्साहजनक हुनेछ’, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने ।

कार्यक्रमन्तर्गत यहाँका स्थानीत तहले गतसाल आफ्नो क्षेत्रका करिब एकदेखि दुई सयसम्म बेरोजगार नागरिकलाई रोजगारी प्रदान गरिसकेका छन् । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् ।

कार्यक्रमअन्तर्गत स्थानीय जनप्रतिनिधिले महत्व दिई पहल गरेका सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन, जलाधार, पर्यटन र आवश्यकताअनुसार अन्य श्रममा लगाइनेछ ।

पारिश्रमिक निर्धारण समितिले दैनिक ज्याला रु ५१७ तोकेको छ । जसअनुसार एक व्यक्तिले तोकिएको पूरा समय काम गरे ५१ हजार ७०० ज्याला पाउनेछन् ।

सो कार्यक्रमका लागि गत वर्ष कूल तीन अर्ब १० करोड विनियोजन गरेको सरकारले यस वर्षका लागि ११ अर्ब ६० करोड विनियोजन गरेको छ ।

सरकारले श्रमजीवी जनताले भोग्दै आएको बेरोजगार समस्यालाई प्राथमिकता दिइएको कार्यक्रमले गरिब तथा मध्यम परिवारलाई पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्न लिएको अठोटकाबीच अल्पकालीन यस कार्यक्रमलाई दिगोपना र रोजगार सिर्जनामा रुपान्तरण गर्ने चुनौती भने कायमै देखिएको छ ।

सात प्रदेशका ७५३ वटै स्थानीय तहमा यस वर्ष दुई लाख रोजगारी सिर्जना गर्ने सरकारको उद्देश्य रहेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ३० बजे

नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय ७५ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटमा नवलपुर

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ