बडादशैँको आज सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै « Khabarhub

बडादशैँको आज सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बडादशैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागिएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ ।

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुँदै आएका छन् ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन ।

फूलपाती बढाइँ प्रतीकात्मक हुने

नेपाली सेनाले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह  आयोजना गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन् । संवैधानिक व्यवस्थानुसार उनी नेपाली सेनाका परमाधिपति हुन् ।

यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिनेछ ।

इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ ।

अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ  हर्षोल्लासका साथ मनाउँदै आएको थियो । पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढाइँले गर्विलो इतिहास बोकेको छ ।’

कोभिड–१९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

उनका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करीब आधा घण्टाको हुनेछ ।

सो अवसरमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप  बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ ।

कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिने छ । सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

विगतमा फूलपाती बढाइँ हर्षोल्लाससँग मनाउने र त्यसपछि सुरक्षाका लागि अत्यावश्यक जनशक्तिलाई ब्यारेकमा राखेर अरुलाई दशैँ मनाउन बिदा छाड्ने सेनाको चलन थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : २९ बजे

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा

सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी

काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य